शनिबार, साउन १२ गते २०८१    
images
images
images

मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

images
बुधबार, जेठ २४ २०८०
images
images
मुर्रा राँगो : भैँसीको नश्ल सुधारका लागि विशेष योगदान

मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ।

images

गण्डकी- भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ। 

images
images

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो। त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य संकलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ।

images

कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य संकलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब ६ लाख डोज वीर्य संकलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो। त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो।

पोखरा कार्यालयले वीर्य संकलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख रूपैयाँ राजस्व संकलन गरेको उनले बताए। कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ।

images

अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य संकलन गरिएको थियो। जसबाट पाँच करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन हुने अनुमान गरिएको छ। चालु आवको चैतसम्म तीन करोड रूपैयाँ संकलन भइसकेको जनाइएको छ। पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेय बताउँछन्। नश्ल सुधारले हिजोप्रति बेत ७००/८०० लिटर दूध दिने भैँसीले अहिले २७/२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए। 

भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिवेत ३८/३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिवेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने उनले बताए।

भैँसीले प्रतिवेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ। 'वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो', उनले भने, 'जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैमा अमूल्य छ।'

मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ। नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ। आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए।

अन्य देशबाट ल्याउदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उनले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए। प्राविधिक टोलीले ल्याउन लागिएका राँगमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ।

डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए। उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य संकलन भइरहेको छ।

पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन्। जसमध्ये ३१ वटाबाट वीर्य संकलन भइरहेको र २७ वटा हुर्कँदो अवस्थाका छन्। नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य संकलन गर्दै आएको छ।

किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि(अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए।

तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ। त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो।

नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण हुने खड्काले बताए।'नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्', उनले भने, 'भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ।' रासस 


प्रकाशित : बुधबार, जेठ २४ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend