शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्रदेशअनुसार सडक : कर्णालीमा ९१ किमि मात्रै कालोपत्रे सडक, कुन प्रदेशमा कति किमि सडक?

images
बिहीबार , जेठ २५ २०८०
images
प्रदेशअनुसार सडक : कर्णालीमा ९१ किमि मात्रै कालोपत्रे सडक, कुन प्रदेशमा कति किमि सडक?

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म १ हजार २ सय ३ किलोमिटर सडक निर्माण भएको हो।

images
images

काठमाडौं- प्रदेशअनुसार सबैभन्दा बढी सडक बागमती प्रदेशमा र सबैभन्दा कम सडक कर्णाली प्रदेशमा रहेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निर्माण भएको तथ्यांकका आधारमा बागमती प्रदेशमा १६ हजार ४ सय ८० किलोमटिर सडक निर्माण हुँदा कर्णाली प्रदेशमा सबैभन्दा कम ३ हजार ४ सय ३८ किलोमिटर सडक बनेको छ। 

images
images
images

बागमतीपछि धेरै सडक बनेको प्रदेशमा कोशी रहेको छ। कोशी प्रदेशमा फागुन मसान्तसम्ममा १३ हजार ४ सय ९८ किलोमिटर सडक बनेको छ। कोशीलाई पछ्याएको गण्डकी प्रदेशमा सोही अवधिसम्ममा ११ हजार ७ सय २८ किलोमिटर सडक निर्माण भएको छ। 

images
images

त्यसैगरी लुम्बिनी प्रदेशमा ९ हजार २ सय ४९ किलोमिटर, मधेश प्रदेशमा ६ हजार ६० किलोमिटर र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ४ किलोमिटर सडक बन्दा कर्णालीमा जम्मा ३ हजार ४ सय ३८ किलोमिटरमात्र सडक बनेको अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। 

images
images

कोशी प्रदेश 

कोशी प्रदेशमा बनेको १३ हजार ४ सय ९८ किलोमिटर सडक मध्ये कालोपत्रे सडक ९ सय ४ किलोमिटर रहेको छ। ९ हजार ९ सय २३ किलोमिटर धुले सडक हुँदा २ हजार ६ सय ७१ किलोमिटर ग्रावेल सडक रहेको छ। देशभर बनेको सडकमा कोशी प्रदेशमा २०.४३ प्रतिशत सडक रहेको छ। 

मधेश प्रदेश 

मधेश प्रदेशमा कुल ६ हजार ६० किलोमिटर सडक रहेकोमा कालोपत्रे सडक ३ सय ९६ किलोमिटरमात्र रहेको छ। त्यसैगरि २ हजार ७ सय ५९ किलोमिटर धुले सडक हुँदा २ हजार ९ सय ५ किलोमिटर ग्रावेल सडक बनेको छ। कुल सडकमा मधेश प्रदेशमा रहेको सडकको हिस्सा ९.१७ प्रतिशत रहेको छ। 

बागमती प्रदेश 

बागमती प्रदेश देशको राजधानी रहेको प्रदेश हो। प्रदेशअनुसार सबैभन्दा धेरै सडक बागमतीमै रहेको छ। बागमतीमा १६ हजार ४ सय ८० किलोमिटर सडक निर्माण भएको मध्ये १ हजार ४ सय ६१ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यस्तै १२ हजार १ सय २२ किलोमिटर धुले सडक र २ हजार ८ सय ९७ किलोमिटर ग्रावेल सडक बनेको छ। कुल सडकमा बागमती प्रदेशको हिस्सा २४.९५ प्रतिशत छ। 

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा रहेको ११ हजार ७ सय २८ किलोमिटर सडक मध्ये कालोपत्रे सडक ६ सय ९९ किलोमिटर रहेको छ। त्यसैगरि ९ हजार ७ सय १० किलोमिटर धुले सडक र १ हजार ३ सय १९ किलोमिटर ग्रावेल सडक रहेको छ। देशभर रहेको कुल सडकमा गण्डकीको हिस्सा १७.७५ प्रतिशत रहेको छ। 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा कुल ९ हजार २ सय ४९ किलोमिटर सडकमा कालोपत्र सडक ९ सय ६१ किलोमिटर रहेको छ। त्यस्तै ५ हजार ५ सय २४ किलोमिटर धुले र २ हजार ७ सय ६४ किलोमिटर सडक ग्रावेल भएको छ। कुल सडकमा लुम्बिनीको हिस्सा १४ प्रतिशत रहेको छ। 

कर्णाली प्रदेश 

कर्णाली प्रदेशमा सबैभन्दा कम सडक निर्माण भएको छ। भौगोलिक जटिलता र सरकारी प्राथमिकता कम हुँदा कर्णालीमा सडक निर्माण कम भएको हो। कर्णाली प्रदेशमा ३ हजार ४ सय ३८ किलोमिटर सडक मध्ये जम्मा ९१ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यस्तै ३ हजार १ सय ३३ किलोमिटर सडक धुले र २ सय १४ किलोमिटर सडक ग्रावेल भएको छ। देशभर रहेको कुल सडकमा कर्णाली प्रदेशको हिस्सा ५.२१ प्रतिशत रहेको छ। 

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा रहेको कुल ५ हजार ६ सय ४ किलोमिटर सडक मध्ये २ सय २५ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरि ४ हजार १ सय ४९ किलोमिटर सडक धुले र १ हजार २ सय ३० किलोमिटर सडक ग्रावेल भएको छ। कुल सडक सञ्जालमा सुदूरपश्चिम प्रदेशको हिस्सा ८.४९ प्रतिशत रहेको छ। 

सबै प्रदेशमा गरेर कुल सडकको लम्बाई ६६ हजार ५७ किलोमिटर रहेको छ। चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म १ हजार २ सय ३ किलोमिटर सडक निर्माण भएको हो। देशभर निर्माण भएको कुल सडकमा कालोपत्रेको हिस्सा ७ प्रतिशत, ग्रावेल सडकको हिस्सा २१ प्रतिशत र कच्ची सडकको हिस्सा ७२ प्रतिशत रहेको तथ्यांक छ। 


प्रकाशित : बिहीबार , जेठ २५ २०८०००:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend