सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

अस्थायी संरचनामा किबी जोगाउनै कठिन

बुधबार, जेठ २४ २०८०
अस्थायी संरचनामा किबी जोगाउनै कठिन

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ।

बलेवा- काठेखोला गाउँपालिका-३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन्। चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन्।

काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन्। गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गरे। उनले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए।

अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा छन्।

धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन। यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन्। वनजंगल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन। काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन्। 'किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन्', बमबहादुरले भने, 'पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ।'

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ। व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताए। वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिन थाल्ने बताएको छ।

'हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ', वडाध्यक्ष विकले भने, 'आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ।'

चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ। किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताए। यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन्। 

किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ। फलको स्तरीकरण गर्ने, फूल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ। यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो तीनदेखि चार सय रूपैयाँमा बिक्री गर्ने गरेका छन्। 

'एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ', वडाध्यक्ष विकले भने, 'हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौँ।' परम्परागत खेतीबाट फलफूल खेतीलाई व्यावसायिक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भइरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend