मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

आर्थिक विधेयक निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थमन्त्री महत 

मंगलबार, जेठ २३ २०८०
आर्थिक विधेयक निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन : अर्थमन्त्री महत 

बजेट तथा आर्थिक विधेयक बनाउँदा आफूले कुनै पनि खराब काम नगरेको बताउँदै महतले स्वार्थ समूहले चलाएको हल्लाका भरमा संसद तरंगित हुन नहुने उबताएका थिए। 

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक तयारीका क्रममा सबै काम नियमसंगत भएको प्रष्टीकरण दिएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अर्थमन्त्री महतले सबै काम नियम र प्रक्रियाभित्रै रहेर विधेयक एवं बजेट निर्माण गरिएको स्पष्ट पारेका हुन्। 

बजेट तथा आर्थिक विधेयक तयारीका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गरेको आरोप लगाउँदै प्रतिपक्षी  दलहरूले अर्थमन्त्रीको धारणा माग गरेका थिए। सांसदहरूको मागपछि महतले जवाफ दिँदै भन्सार विभागबाट अवकाशमा गएका रामकृष्ण श्रेष्ठलाई टाइपिस्टको रुपमा काममा लगाइएको तर उनलाई कुनै पनि निर्णय प्रक्रियामा सहभागी नगराइएको बताए। 

‘नियम तथा कानूनले सबै कुरा प्रष्ट पारेको छ। यसमा विभिन्न सन्तुलनकारी संयन्त्र हुने व्यवस्था छ। सोहीअुनसार रहेका निर्णय गर्ने अधिकार भएका ठाउँबाट भएको निर्णयअनुसारको काम गर्ने सहयोगीका रुपमा भन्सार विभागमा करारमा रहेका श्रेष्ठलाई लिइएको हो’, उनले भने। 

बजेट लेखन तथा करका दर परिवर्तनमा उनको कुनै पनि भूमिका नरहेको अर्थमन्त्री महतको भनाइ छ। बजेट तथा आर्थिक विधेयक बनाउँदा आफूले कुनै पनि खराब काम नगरेको बताउँदै महतले स्वार्थ समूहले चलाएको हल्लाका भरमा संसद तरंगित हुन नहुने बताए।

विद्युतीय गाडीमा कर बढाएको विषयमा उनले निजी सवारीसाधनको आयात बढ्दै गएको तर करको आधार धेरै न्यून भएकाले थोरै वृद्धि गरिएको उनले बताए। कर बढाउने र सोको सूचना चुहाएको आरोपबारे उनले भने, 'यदि म उनीहरूको पक्षमा काम गर्ने भए कर नै बढाउँदिन थिएँ होला। यो वाहियात आरोप हो।’

कुनै पनि सवारी साधानको आयातको प्रक्रिया लामो हुने उनको भनाइ छ। एलसी खोल्नेदेखि आयात गर्नेसम्मको प्रक्रिया तीन महिनाभन्दा बढी लाग्ने भए पनि आफू मन्त्री भएर आएको तीन महिना नहुँदै बजेट आएको अवस्थामा सूचना चुहावट भएर आयात भएको आरोपमा सत्यता नरहेको उनको भनाइ छ। 


प्रकाशित : मंगलबार, जेठ २३ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend