फुङ्लिङ- विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लालीखर्क। ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क ट्रेकिङ क्याम्प पनि हो। पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गरे। लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट हुन्।
कञ्चनजंघा हिमाल जाने पदमार्ग भएकाले विगतमा लालीखर्क पर्यटकहरुको भरीभराउ हुन्थ्यो। लालीखर्कमा पर्यटन व्यवसायबाट आम्दानी पनि राम्रो हुन्थ्यो। पर्यटन व्यवसायबाट जोहो गरेको आम्दानीले विष्टले छोराछोरी राम्रो पढाए।
विगतका वर्षहरुमा काठमाडौंदेखि सुकेटारसम्म हवाई मार्ग एकमात्र विकल्प रहेकामा अहिले कतिपय पर्यटक गाडीबाट सदरमुकाम फुङ्लिङ पुग्थे। सुकेटारदेखि लालीखर्क एक क्याम्प हो। स्थलमार्ग हुँदै आएका पर्यटक र हवाई मार्ग हुँदै आउने पर्यटक ताप्लेजुङदेखि पहिलो क्याम्प हो लालीखर्क। २०४० सालमा विष्टले घर बनाइ बस्न थालेपछि बिस्तारै पर्यटकको चहलपहल बढ्न थाल्यो। पछिल्लो समय लालीखर्कमा घडेरी खरिद गरेर पर्यटन आवासका लागि ठूला होटलहरु सञ्चालनमा आएका थिए।
लालीखर्कमा पर्यटकहरुको बाक्लो चहलपहल हुन थालेसँगै शुक्रराज लिम्बूको पनि पर्यटन व्यवसायले मन तान्यो। लालीखर्कमा पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गरे। टेन्ट टाँगेर बस्न चाहनेका लागि पनि उनले व्यवस्था मिलाए। चौरमा टेन्ट टाँगेर बस्ने पर्यटकहरुको भरीभराउ हुने गर्थ्यो।
स्थानीय उत्पादनले पनि राम्रो बजार पाउने गरेको थियो। तर अहिले क्याम्पका लागि बनाएको चौर त्यत्तिकै मिल्किएको छ। लाखौँ रुपैयाँ लगानी गरी निर्माण गरिएका पूर्वाधारहरु प्रयोगविहीन बनेका छन्। सडक विस्तारले पदमार्ग मासिँदै गयो। सडक लालीखर्क हुँदै कञ्चनजंघा क्षेत्रमा पर्ने सिरिजंघा गाउँपालिका-७ याम्फुदीनसम्म पुगेको छ। सडक विस्तरसँगै पर्यटकहरु सदरमुकाम फुङ्लिङबाट गाडी चढेर लालीखर्क हुँदै हुइँकिन्छन् कञ्चनजंघाका हिमालतिर। गाडीमा हुइँकिएका पर्यटकहरु हेर्दै बस्नु परेको छ लालीखर्कका पर्यटन व्यवसायीहरु।
हिजो पर्यटन व्यवसायबाट राम्रै आम्दानी गरेका लालीखर्कका पर्यटन व्यवसायीहरुलाई अहिले जीविकोपार्जन गर्न नै धौधौ हुन थालेपछि बिस्तारै अन्यन्त्र बसाइँ सर्न थालेका छन्। सानाठूला दर्जनभन्दा बढी होटल सञ्चालनमा आएको यस ठाउँमा अहिले होटल वा किराना पसलसमेत भेटिँदैन। स्थानीय किराना व्यापारी शुक्रराज लिम्बूले भने, 'पसल राखेर के गर्नु? किन्ने मान्छे नै हुँदैन। स्वदेशी वा विदेशी पर्यटकहरु यही बाटो भएर गाडीमा जाने गर्दछन्।'
पर्यटनका लागि निर्माण गरिएको आवासहरु जीर्ण बन्दै गएका छन्। अहिले तीन घरपरिवारको मात्र बसोबास रहेकामा छिट्टै दुई घर बसाइँ सार्ने योजनामा रहेको धनबहादुर विष्टले बताए। उनले भने, 'बसाइँ सर्नका लागि गाई, भैँसी बेची सकेँ। घर पनि बेच्न खोज्दा किन्ने कोही छैन।' लालीखर्कमा पदमार्ग सञ्चालन हुँदा धेरैले जग्गा किनेर घर बनाएका थिए।
केही वर्षअगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङका विभिन्न पदमार्गहरुमा अहिले सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, लालीखर्कका राजकुमार विष्ट भन्छन्, 'होटल व्यवसाय मेरा बाबु, बाजेले गर्दै आएको पेसा हो। यसैबाट हाम्रो परिवारको जीविकोपार्जन हुन्थ्यो तर अहिले अर्को विकल्पमा लाग्नुपर्ने अवस्था आयो।' उनको परिवारले यस क्षेत्रमा पर्यटकको सेवामा लगभग ४० वर्षसम्म गुजारिसकेको छ।
अहिले उनका बुबाआमा उमेरले पाका भइसकेका छन्। अबको होटलको जिम्मेवारी राजकुमारको काँधमा आएको छ। उनले पनि पाँच/सात वर्ष अगाडिसम्म राम्रै आम्दानी गरिरहेको थियो। होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा छन् उनी। विष्टलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ।
समुन्द्री सतहबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित यो स्थान सुकेटार विमानस्थलबाट मात्रै करिब तीन घन्टाको पैदल दूरीमा रहेको छ। नेपाल सरकारले तोकेको कञ्चनजंघा साउथ बेसक्याम्पको बाटोअन्तर्गतको पहिलो क्याम्पका रुपमा रहेको यो स्थानमा केही वर्ष अघिसम्म विदेशी पर्यटकको ओइरो लाग्ने गर्दथ्यो। पर्यटक बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्नुपर्ने अवस्था हुन्थ्यो। स्थानीय रुपमा उत्पादन भएका खाद्यवस्तु र अन्य सामानहरुले राम्रो मूल्य पाएका थिए। नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको थियो।
कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्यांकमा यस क्षेत्रमा पाँच वर्षअघि औसतमा वार्षिक सात सय पर्यटक आउने गर्दथे भने अधिकांशले कञ्चनजंघाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कन्थे। यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोलातर्फबाट फर्कन्थे भने तमोरखोलातर्फबाट जाने पर्यटक यहीँ फिर्ता हुन्थे।
प्रायः सुरुदेखि यस स्थानमा व्यवसाय गर्ने मानिसले अहिले लालीखर्क छाडिसकेका छन्। धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीतर्फ पलायन भएका छन्। पुर्ख्यौली घरलाई अझै कुरेर बसेका राजकुमार एक व्यक्ति हुन्। धेरै चिसो, कृषि उत्पादनको सम्भावना न्यून, आयआर्जनको बाटो कम र विभिन्न सेवासुविधा पनि कम हुन थालेपछि यो स्थान अहिले रित्तो र सुनसानजस्तो बनेको छ।
जिल्लाको एकमात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङ्लिङ भएर उत्तरी र दक्षिणीतर्फको कञ्चनजंघा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक दुई फरक बाटो भएर जाने गर्दछन्। यहाँका कुनाकन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गमा हिँड्ने विदेशी पर्यटकको संख्या ह्वात्तै घट्न पुगेको स्थानीय होटल तथा घरबास व्यवसायीहरु बताउँछन्।
सदरमुकामबाट दक्षिणतर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पेडाँडा, याम्फुदिन हुँदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्पसम्म रहेकामा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने उत्तर बेसक्याम्पतर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ।
लालीखर्क मात्रै होइन, अहिले सिरिजंघा-३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडेभञ्ज्याङ पनि सुनसान बनेको छ। त्यहाँ सञ्चालन भएको पाँच होटल स्थानीयस्तरका पदयात्रीलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन्। विगत ४० वर्षभन्दा अगाडिदेखि होटल र साना पसल व्यवसाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्छन्, 'विगतमा यहाँ पर्यटकको आवागमन राम्रो थियो। हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौँ तर अहिले विदेशी पर्यटक देख्न नै मुस्किल छ।'
सिरिजंघा-६ को फुम्पेडाँडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल मावो पनि अब यो व्यवसायबाट केही गर्छु भन्ने आश नरहेको गुनासो गर्छन्। मावो भन्छन्, 'अहिले पर्यटक अर्को सडकको बाटो भएर सिधै याम्फुनी पुग्छन्। सडक अझ राम्रो भएपछि त झन् पदयात्रा गर्ने पर्यटक नहुने भएकाले अहिले नै वैकल्पिक व्यवसाय सुरु गर्नुपर्ने अवस्था छ।'
स्थानीयवासीको पनि कम आवतजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईको भनाइ छ। सुकेटारबाट याम्फुदिनसम्मको चार दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एक दिन हिँडेर दुई दिनमै पूरा गर्दछन्।
सदरमुकामबाट तीन दिनको पैदल दूरी कायम गरिएको फुङ्लिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दूरी पर्यटकले गाडीमार्फत एकै दिनमा पूरा गर्छन्। यता फुङ्लिङ नगरपालिका-१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरु क्रमशः अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीलाई सेवा दिइरहेका छन्। करिब २३/२४ दिनको कञ्चनजंघा परिपथ पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने गरेकामा अहिले सडक यातायातले थप सहजता भएको पर्यटक पथप्रदर्शक मिङ्मा तामाङ बताउँछन्। रासस