मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

संकट देखिएको सेयर बजारमा एकाएक उछाल, करबारे अर्थले प्रष्ट्याएसँगै विश्वस्त हुँदैछन् लगानीकर्ता

आइतबार, जेठ २१ २०८०
संकट देखिएको सेयर बजारमा एकाएक उछाल, करबारे अर्थले प्रष्ट्याएसँगै विश्वस्त हुँदैछन् लगानीकर्ता

काठमाडौं- सेयर लगानीकर्तालाई ५ र ७.५ प्रतिशत अन्तिम कर र व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने भन्दै अर्थ मन्त्रालयले नै स्पष्ट पारेसँगै आइतबारको सेयर बजारमा उछाल देखिएको छ। आइतबार नै आन्दोलनरत संगठित लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नै सेयरको कर सम्बन्धमा प्रष्ट पारेका थिए। 

आइतबार ५३.३० अंकले बढेर बजार १९१९.३७ बिन्दुमा बजार पुगेको छ। २१७ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ६५ करोड ६३ लाख रूपैयाँको कारोबार भयो। आइतबार मानुषी लघुवित्त, एनआईसी एसिया बैंक र स्वाभिमान लघुवित्तको सेयर मूल्यमात्र ओरालो लाग्यो। 

सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको भन्दै संगठित लगानीकर्ताहरूले विरोध गरिरहेका थिए। लगानीकर्ताले सरकारविरुद्धको आन्दोलन सुरू गर्दै आइतबार केहीबेर सेयर कारोबार गर्ने प्रणालीसमेत बन्द गराएका थिए। 

आइतबार अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले पनि एक विज्ञप्ति जारी गर्दै थप कर लगाइएको विषय हल्ला मात्रै भएको समेत जनाएको छ। प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने उल्लेख गरिएको छ। 

आउँदो आर्थिक वर्षको बजेटमा पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरिएको छ। साथै पुँजी बजारमा संस्थागत लगानी प्रोत्साहन गर्ने, धितोपत्र बजारका वास्तविक क्षेत्रमा गैरआवासीय लगानी प्रोत्साहन गर्ने, धितोपत्र औजारको विविधीकरण गरिने, कमोडिटी एक्सचेञ्ज मार्केट र एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइनेजस्ता विषय पनि बजेटमा उल्लेख छ।

बजेटमार्फत पुँजी बजार सुधारको विषयमा आएका कुरामा भन्दा लगानीकर्ताले आम्दानीमा कर लगाउने व्यवस्थाविरुद्ध आवाज उठाइरहेका थिए। जसमा अर्थले नै प्रष्ट पारेसँगै लगानीकर्ताहरू विश्वस्त देखिएका छन्। त्यसबारे थप कुरा संसदमार्फत समेत उठेर सुधारतर्फ जाने अपेक्षामा संगठित लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : आइतबार, जेठ २१ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend