शुक्रबार, असोज १२ गते २०८०    

तरलताको दबाब सकिएसँगै घट्न थाल्यो अन्तरबैंक सापटीको ब्याजदर

images
तरलताको दबाब सकिएसँगै घट्न थाल्यो अन्तरबैंक सापटीको ब्याजदर
images

काठमाडौं- चालु आर्थिक वर्ष सकिने समय नजिकिँदै जाँदा वित्तीय दबाब पनि कम हुँदै गएको छ। एकवर्षको दबाबपछि तरलतामा सुधार हुन थालेपछि बल्ल अन्तरबैंक सापटीको ब्याजदर घटेको छ। ७ प्रतिशतभन्दा माथि रहेको अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशतमा झरेको छ। 

images

जेठ १५ गतेसम्ममा एक बैंकले अर्को बैंकसँग लिने सापटीको दर ६.९० प्रतिशतमा झरेको थियो। शुक्रबार पुनः केही बढेता पनि अब लगातार घट्दै जाने देखिएको छ। बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्थायी तरलता सुविधाको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएपछि बैंकहरुले अन्तरबैंक सापटीको ब्याजदरसमेत साढे ८ प्रतिशत पुर्याएका थिए। 

images

अहिले बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएपछि बैंकहरुले अन्तरबैंक कारोबारको ब्याजदर घटाउन थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदर करिब ४ महिनाअघिको अवस्थामा आएको छ।

images

राष्ट्र बैंकका अनुसार सीडी रेसियो ८४.७४ प्रतिशतमा झरिसकेको छ। यसले गर्दा पनि बैंकहरुसँग पर्याप्त तरलता रहेको देखिन्छ। अहिले २८ दिन अवधिको ट्रेजरी विल्सको दर ७.९१ प्रतिशतमा झरेको छ। चालु आर्थिक वर्षको सुरुवातमानै ट्रेजरी विल्सको दर १२ प्रतिशतसम्म कायम भएको थियो।

images

राष्ट्र बैंकका अनुसार शुक्रबार साँझसम्म वित्तीय प्रणालीमा ५५ खर्ब ११ अर्ब निक्षेप पुगेको छ। ऋण प्रवाह ४८ खर्ब ५५ अर्ब पुगेको छ। अहिले वित्तीय संस्थाहरु झन्डै ३ खर्ब ऋण प्रवाह गर्ने सहज स्थितिमा रहेका छन्। 

गत साउनदेखि नै लगातार बढेको आधारदर अहिले थामिएको छ। साउनमा ९.२७ प्रतिशत रहेको आधारदर पुससम्म १०.९१ प्रतिशत पुगेको थियो। माघपछि पुनः घट्न थालेको थियो। अहिले बैशाख मसान्तसम्म घटेर १०.२७ प्रतिशतमा आएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अब निरन्तर घट्दै जाने बताइरहेका छन्। उनले ब्याजदर अब असार साउनसम्म पुग्दा घट्दै जाने बताए। स्प्रेडदर असारमा ४ प्रतिशतमा झार्नुपर्ने भएकाले पनि ब्याजदर घट्दै जाने अध्यक्ष केसीको भनाइ छ।

images

प्रकाशित : आइतबार, जेठ २१ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ