शनिबार, साउन १२ गते २०८१    
images
images
images

अमेरिकन ‘स्वाइन फिवर’बाट ४ सय बंगुर मरे, नोक्सानले समस्यामा किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १९ २०८०
images
images
अमेरिकन ‘स्वाइन फिवर’बाट ४ सय बंगुर मरे, नोक्सानले समस्यामा किसान

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ।

images
गलकोट- अमेरिकन स्वाइन फिवरका कारण धमाधम बंगुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। धमाधम बंगुर मर्न थालेपछि  यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन्। 
 
बागलुङ नगरपालिका-१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बंगुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बंगुर मरेको किसानको भनाइ छ। किसानले व्यावसायिकरूपमा पालेको बंगुर धमाधम मर्न थालेपछि बंगुर खोर नै रित्तो हुन थालेको  बंगुरपालक किसान गणेशबहादुर पुनले बताए। 
 
'केही दिनदेखि दैनिक खोरमा बंगुर मर्न थालेका हुन्', उनले भने, 'बिहान ठीकठाक भएका बंगुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ।'
 
बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बंगुरपालन गर्दै आएकामा अहिले धमाधम बंगुर मर्न थालेपछि किसानलाई दुई करोड बराबरको क्षति पुगेको बंगुरपालक किसान डिलमाया थापाले बताइन्। 'बंगुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलोपटक बंगुर मर्न थाले अहिले मेरै खोरमा १५ वटा बंगुर मरिसकेका छन्', उनले भनिन्, 'दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ।'
 
यस क्षेत्रका ५४ किसानले पालेका तीन सय ९२ वटा बंगुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिए। उनले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताए। 
 
किसानले पालेका बंगुर तथा सुँगुर एक्कासि मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए। 
 
'लक्षण पूरै ‘अफ्रिकन स्वाइन फिभर’को देखिएको छ, बागलुङको जैमिनी नगरपालिकामा पहिलोपटक किसानले पालेका बंगुरको परीक्षण गर्दा गत पुसमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको थियो', उनले भने, 'मरेका ४०  बंगुरबाट नमूना सङ्कलन गरी पोखरा पठाइएको छ, किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौँ।' 
 
बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले जानकारी दिए। यो सङ्क्रमण भएमा सुँगुर, बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको छ, उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको शर्माको भनाइ छ। 
 
यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचारसमेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ। कुनै स्थानमा अस्वाभाविकरूपमा बंगुर मरेमा वा लक्षण देखापरेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ। बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बंगुर पाल्दै आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
 
रोगी बंगुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने छ। अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत, भूटानमा पनि देखापरेको थियो।  दुईवटा फार्मबाट सुरु भएको महामारी ५२ फर्ममा फैलिसकेको किसानको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend