शुक्रबार, असोज १२ गते २०८०    

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरूद्ध भ्रष्टाचार मुद्दामा १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला

images
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति दासविरूद्ध भ्रष्टाचार मुद्दामा १ वर्ष कैद र २५ हजार जरिवानाको फैसला

बलभद्रप्रसाद दास, अरविन्द दास र नन्दकुमार थापालाई जनही १ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको हो। 

images

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) समेत ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहर गर्दै फैसला सुनाएको छ। 

images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति दाससहित तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठ, दिनेश राज दाहाल, अमित श्रीवास्तव, चेतन अग्रवाल, उमेश कुमार अग्रवालविरूद्ध अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो। जसमा बलभद्रप्रसाद दास, अरविन्द दास र नन्दकुमार थापाविरूद्ध आंशिक ठहर भएको छ भने बाँकीले सफाइ पाएका छन्। 

images

न्यायाधीश बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले आंशिक ठहरको फैसला सुनाएको हो। बलभद्रप्रसाद दास, अरविन्द दास र नन्दकुमार थापालाई जनही १ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको हो। 

images

दाससहित आठ जनाविरुद्ध अख्तियारले बदनियतपूर्वक आफूलाई फाइदा र प्रतिष्ठानलाई हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो। जसमा दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार बिगो कायम गरिएको थियो। तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाविरुद्ध १ करोड ९६ लाख, रजिस्ट्रार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार बिगो मागदाबी गरिएको छ। उनीहरूविरुद्ध ६ वर्षसम्म कैद र बिगो जफतको मागदाबी अख्तियारले गरेको थियो।

images

लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार, नायब प्रबन्धक अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगो जफतको माग अख्तियारले गरेको थियो। उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोप्राइटर चेतन अग्रवाल १ करोड ४ लाख, उपकरण सप्लायर्स सर्विकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो। उनीहरूविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना गरी बिगो जफतको माग गरिएको थियो।

images

प्रकाशित : बिहीबार , जेठ १८ २०८००४:४४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ