मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बजेटपछि सेयर बजारमा लगातार गिरावट, पुन: १८०० को बिन्दुतर्फ

बुधबार, जेठ १७ २०८०
बजेटपछि सेयर बजारमा लगातार गिरावट, पुन: १८०० को बिन्दुतर्फ

काठमाडौं- नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटको पर्खाइमा रहेका लगानीकर्ता विश्वस्त हुन नसक्दा बजार लगातार ओरालोमा देखिएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको भए पनि बजेटपछि सरकारी सोच स्पष्ट नदेखिएको संगठित लगानीकर्ताहरूले बताउँदै आइरहेका छन्। 

यो साता आइतबार १७.३८ अंकले घटेर बजार १९४१.७४ बिन्दुमा झरेको थियो। सोमबार भएको बजेट भाषणपछि मंगलबारको कारोबार पनि ओरालोतिरै देखियो। मंगलबार ५३.१६ अंकले घटेको बजार बुधबार पनि ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा झरेको छ। बुधबार १६ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँको कारोबार भएको छ।  

२२ अर्ब रूपैयाँको कारोबार र ३२०० अंकसम्म पुगिसकेको बजार अहिले निरन्तर धरमराइरहेको छ। पछिल्लो समय १८०० को बिन्दुदेखि नै उतारचढावमा रहँदै आएको बजार लैगानीकर्तामैत्री देखिएको छैन। २०७८ फागुन मसान्तमा २६६८.१२ बिन्दुमा रहेको नेप्से उतारचढावमा रहँदै अहिले १८४९ को बिन्दुमा आइपुगेको हो। योबीचमा केही ठूला लगानीकर्ताको चलखेलले बजारमा केही दिन उछाल देखिए पनि स्थायी सुधारको आधार भेटिएको छैन। 

धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनक रूपमा बढिरहँदा पनि यस क्षेत्रमा हुनुपर्ने अन्य कामहरू सरकारका तर्फबाट नभएको आरोप संगठित लगानीकर्ताहरूले लगाउँदै आइरहेका छन्। अहिलेको अवस्थामा बजारका अन्य क्षेत्रमा सुधार देखिँदै जाँदा पनि पुँजी बजार ओरालोतिर हुनु सरकारी बेवास्ताकै शिकार भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, जेठ १७ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend