शुक्रबार, असोज ४ गते २०८१    
images
images

पदमार्गले जोडिँदै करवाकेली-मोहरेडाँडा

images
बुधबार, जेठ १७ २०८०
images
images
पदमार्गले जोडिँदै करवाकेली-मोहरेडाँडा

पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो।

images
images
images

अन्नपूर्ण गाउँपालिका-८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिए।

'प्रदेश सरकारबाट प्राप्त ३० लाख रूपैयाँ बजेटबाट पदमार्ग बनाउन लागिएको हो', उनले भने, 'जंगल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुंगाको सिँढी चिनेर पैदलमार्गका साथै दुईवटा विश्रामस्थल बनाउने योजना छ।'

करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ। पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुईवटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली-मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताए।

images

करवाकेली-आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन्। राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन्। एक समूहमा दैनिक १०-१५ देखि १५-२० जनाका दरले मजदुर परिचालन गरिएको छ। आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ। ढुंगा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीले बताए।

बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुंगा नपाइँदा पदमार्ग निर्माणमा चुनौती बनेको छ। पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ।

पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए। अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ मा पर्ने घोडेपानी, पुनहिलबाट मोहरेडाँडा-करवाकेली हुँदै बेनी-जोमसोम सडकअन्तर्गत पर्ने रघुगंगा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ।

गुराँसको जंगल, पुन समुदायको करवाकेली थान, सङ्ग्रहालय, ग्रामीण बस्ती, जीवनशैली, वनजंगल, वनस्पति र वन्यजन्तु करवाकेली-मोहरेडाँडा पदमार्गका आकर्षण हुन्। यो पदमार्गले करवाकेली र अन्नपूर्ण-धवलागिरि सामुदायिक पदमार्गलाई जोड्छ। करवाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ। यहाँबाट सूर्योदय, सूर्यास्त, सिस्ने, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनासलु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, जेठ १७ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend