शनिबार, साउन १२ गते २०८१    
images
images
images

बाँदर आतंकले किसान हैरान, खेतीबाली जोगाउनै मुस्किल

images
सोमबार, जेठ १५ २०८०
images
images
बाँदर आतंकले किसान हैरान, खेतीबाली जोगाउनै मुस्किल

'बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने?'

images

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका-४ झप्रीकी राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन्। तर बाँदरका कारणा उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो। 

images
images

'बाँदरको आतंकले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने', उनले गुनासो गरिन्, 'जति गरे पनि बाँदरबाट खेती जोगाउनै सकेनौँ।' तरकारी, मकै लगाएको खेतमा चौबिसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दागर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन्।

images

'दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतंकले मैले तरकारी खेती गर्न छाडिदिएँ', उनले भनिन्। तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छिन्। बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गरेका छन्। दालचिनीबाट मात्रै वार्षिक चार लाख आम्दानी हुने गरेको छ। उनले भनिन्, 'बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ। तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ।'

images

बाँदरले खेतीपाती मात्र नभई घर-घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनले बताइन्। उनले भनिन्, 'हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनौँ तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस्।' उनले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गरिन्

बन्दीपुर गाउँपालिका-३ का होमबहादुर विक पनि बाँदर आतंकले हैरान छन्। बाँदर आतंकले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ। 'बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने?', उनले भने, ' सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्यो।'

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ। 'बाँदर आतंकले आजित भइसक्यौँ, खै कसले हाम्रो पीडा सुनिदिने हो', उनले भने, 'नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो।' बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उनको माग छ।

बन्दीपुर गाउँपालिका-२ का नारायण केसीले बाँदर आतंकले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए। उनले भने, 'वर्षभरि दुःख गरेर खेती गर्यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ। दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ। जग्गा बाँझो हुने क्रम बढेको छ।' सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतंकका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ। 

व्यास नगरपालिका-१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ। अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ। 'बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन', उनले भने। व्यास नगरपालिका-६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतंकले कहिल्यै खेती खान नपाइएको गुनासो गरे। उनले भने, 'मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो।'

शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए। 'बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र?', उनले भने, 'कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै?'

भानु नगरपालिका-४ का अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राखिन्। 'दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै?', उनले भनिन्।

बाँदर आतंकबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउँछन्। उनले भने, 'सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ।' तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उहाँले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे।

'चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ। बाँदरले घर-घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ', उनले भने, 'अब बाँदर पीडितले आफ्ना बालबच्चा पाल्ने कि बाँदर? सरकारले स्पष्ट जवाफ दिनुपर्छ।' रासस


प्रकाशित : सोमबार, जेठ १५ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend