आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भेडापालनमा रमाइरहेका तमानखोलाका २५ वर्षीय सिजन

images
आइतबार, जेठ १४ २०८०
images
भेडापालनमा रमाइरहेका तमानखोलाका २५ वर्षीय सिजन
फाइल तस्बिर

भेडापालनबाटै वार्षिक ६ लाख रूपैयाँ आम्दानी गर्दै आएको उनी बताउँछन्।

images
images

गलकोट- बागलुङको तमानखोला गाउँपालिका-४ लाम्मेलाका २५ वर्षीय युवा सिजन छन्त्याल भेडापालनमा छन्।

images
images
images

अहिलेका युवामा वैदेशिक रोजगारीको मोह बढिरहेका बेला सिजनलाई भने भेडीगोठले तानिरहेको छ। बुबा र बाजेले गर्दै आएको भेडापालनलाई आफूले निरन्तरता दिने निर्णयका साथ भेडापालनमा होमिएको उनको भनाइ छ।

images
images

भेडापालनलाई व्यावसायिक बनाउन सके विदेशको कमाइ आफ्नै गाउँठाउँमा गर्न सकिने भन्दै भेडापालनमा होमिएको उनी बताउँछन्। सिजन अहिले आफ्नो गाउँ लाम्मेला हुँदै भेडा चराउनका लागि सोलेडाँडा पुगेका छन्। उनले पालेका एक सय पाँच भेडा अब भदौमा मात्रै घर फर्कनेछन्।

images
images

'बाबा भक्तिप्रसाद छन्त्यालको प्रेरणाले भेडापालनमा लागेँ, सानैमा भेडीगोठमा नै बढी आनन्द मानियो, साथीभाइ राहदानी बनाएर विदेश हानिए, भेडापालनमा समेत राम्रो सम्भावना देखेर आफू भने भेडीगोठमा लागेको हुँ', युवा भेडापालक किसान सिजनले भने, 'कम्तीमा दुई सय भेडा पाल्न सके खाडी मुलुकमा जति कमाउन सकिने रहेछ, रोगव्याधी र जंगली जनवारले नसताएमा अब मंसिरमा घर आउँदा भेडा झन्डै एक सय ४० भन्दामाथि पुग्नेछन्।'

एक वर्षमा ४० देखि ५० भेडा, साँढ तथा पाठी बिक्री गर्नेगरी भेडापालनलाई व्यवस्थित गर्दै आएको उनको भनाइ छ। रोज्जा साँढको मूल्य ३५ हजार रूपैयाँसम्म पर्ने गरेको उनले बताए। सरदर १० हजारदेखि ३५ हजार रूपैयाँसम्म साँढ, भेडा र पाठीको मूल्य पर्दछ। भेडापालनबाटै वार्षिक ६ लाख रूपैयाँ आम्दानी गर्दै आएको उनको भनाइ छ। 

'भेडापालन एक कष्टकर पेसा हो, घरमै बसेर भेडापालन हुँदैन, जंगलमा अस्थायी गोठ बनाएर भेडापालन गर्दै बस्नुपर्दछ', उनले भने, 'वार्षिक सरदरमा छ लाख रूपैयाँ आम्दानी हुन्छ, जंगली जनवारको आक्रमणमा नपरे अझ धेरै हुन सक्छ, नेपालमै बसेर भेडापालन गर्ने सोच बनाएको छु, साथीभाइ विदेशिए भनेर म विदेश जान्नँ।'

उनले भेडा चराउनका लागि बैशाखमा सोलेडाँडा, फागुन र चैत जम्दारखोर, पुस र माघ सोलेडाँडा, असोज र कात्तिक बैलीको धुरी र असारदेखि भदौसम्म बुकीमा भेडा चराउन लैजाने गरेको बताए। वर्षमा मंसिर महिना मात्रै भेडालाई घरमा राख्ने गरेको सिजनको भनाइ छ।

परम्परागत भेडापालनमा पछिल्लो समय युवाको आकर्षण देखिएको हो। पुर्खादेखिको पेसा धान्दै भेडापालनलाई व्यावसायिक बनाउँदै यहाँका केही युवा भेडापालनमा आकर्षित भएका हुन्।

सिजनसँगै भेडापालन अर्का युवा तारानाथ सिर्पाली पनि सक्रिय छन्। तारानाथका अहिले २५ मात्रै भेडा छन्। उनले यस वर्ष भेडाको संख्या बढाउने बताए। पुस्तान्तरणको अभावमा कतिपय पेसा लोप हुने अवस्थामा पुगे पनि भेडा पाल्ने पेसामा हाम्रो तमानखोलामा पुस्तान्तरण भएको भेडापालक किसान तारानाथको भनाइ छ। 

उनले गाउँपालिकाले युवा भेडापालक किसानलाई भेडीगोठमा आवश्यक त्रिपाल, सोलार र टर्चलाइट वितरण गरेको बताए। खोर सुधारका लागिसमेत पालिकाले समयसमयमा अनुदान दिने गरेको उनको भनाइ छ। 'गाउँपालिकाले भेडापालन किसानलाई त्रिपाल, सोलार तथा लाइट वितरण गरेको छ, जंगलमा गोठ बनाएर बस्दा गाउँपालिकाले दिएको सामाग्रीको निकै महत्व छ', उनले भने, 'भेडापालन पेसा निकै कष्टकर भए पनि दुःख गर्नसके राम्रो आम्दानी हुने पेसा हो।'

पछिल्लो समय भेडापालक किसान पाउनै मुस्किल भएका सन्दर्भमा उक्त गाउँपालिकाका उच्च पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत पशुपालन रहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। गाउँपालिकाले भेडापालक किसानलाई खोर सुधार गर्न, त्रिपाल खरिद गर्न र सोलार खरिदका लागि सहयोग गर्दै आएको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, जेठ १४ २०८००७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend