मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

व्यावसायिक किवी खेतीमा श्यामशिलावासी

images
शनिबार, जेठ १३ २०८०
images
images
व्यावसायिक किवी खेतीमा श्यामशिलावासी

किवी प्रतिकेजी दुई सय ५० देखि तीन सय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ।

images
images

भोजपुर- पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ। आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो।

images
images
images

पौवादुङमा गाउँपालिकाले यहाँको कुल १२ दशमलव ५१ वर्गकिलोमिटर भू-भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरेपछि यहाँका स्थानीयवासी व्यावसायिक किवी खेतीमा जुटेका छन्।

images
images

बहुवर्षीय बालीका रूपमा मानिएको किवीबाट अन्य बालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका एक सय बढी कृषकले किवी खेती गर्दै आएका छन्।

images
images
images

यस क्षेत्रको तीन सय बढी रोपनीमा किसानले किवीको खेती गर्दै आएको वडा कार्यालयले जनाएको छ। यो क्षेत्रलाई किवीको ‘ब्लक’ नै बनाएर लैजाने योजनाका साथ काम भइरहेको पौवादुङमा-१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताए।

'हामीले श्यामशिला क्षेत्रमा किवी खेतीको विस्तारमा जोड दिएका छौँ', उनले भने, 'पकेट क्षेत्र घोषणा गरेर किसानलाई आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ। अब यस क्षेत्रलाई किवी ब्लकका रूपमा विस्तार गर्ने भावी योजना छ।'

एक पटक विस्तार गरेपछि वर्षौैंसम्म राम्रो आम्दानी लिन सकिने भएपछि व्यावसायिक किवी खेतीमा जुटेको स्थानीय कृषक मधु सुब्बाले बताए। अहिले करिब पाँच रोपनी क्षेत्रमा किवी विस्तार गरेको उनको भनाइ थियो।

'अहिले हाम्रो क्षेत्रमा धेरै किसानले व्यावसायिक किवी खेती गर्दै आएका छन्', उनले भने, 'थोरै मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान यसमा आबद्ध भएका हुन्।'

उनले गाउँपलिका र वडाले आवश्यक सहयोग गरेपछि किसानलाई थप हौसला मिलेको बताए।

करिब ६ रोपनी जमिनमा आलु, मकैलगायत खेती गर्दै आएको भन्दै उक्त जमिनमा अहिले व्यावसायिकरूपमा किवी खेती गरिरहेको स्थानीयवासी दालकी शेर्पाले बताए। अहिले उनले तीन सय बोट किवी लगाएका छन्। 'आलु, मकैको विकल्पमा किवी खेती गरिरहेकी छु', उनले भने, 'यसको खेतीबाट वार्षिक चारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी लिने लक्ष्य छ। किवी लगाएर बाँकी रहेको ठाउँमा तरकारी खेती गर्ने योजना छ। यसबाट पनि थप आयआर्जनमा टेवा पुग्छ।'

गाउँपालिकाको सहयोगले व्यावसायिक किवी खेतीमा लाग्न सहज भएको स्थानीयवासी देवराज राईले बताए। गाउँमा किवी खेती अभियानका रूपमा सञ्चालन भइरहेको भन्दै उनले पालिकाले निम्न आयस्तर भएका कृषकलाई प्रोत्साहनस्वरूप सहयोग गरेकाले खेतीमा लाग्न मद्दत मिलेको बताए।

'किवीको खेती गर्ने मेरो पहिलादेखि नै सोच थियो', कृषक राईले भने, 'धेरै ठाउँमा खेती विस्तार गर्न ठूलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिएँ। अहिले गाउँपालिकाले सहयोग गरेकाले मलगायत गाउँका धेरैले व्यावसायिक खेती गरिरहेका छौँ।'

किवी खेतीको लागि उपयुक्त भूगोल रहेकाले श्यामशिला क्षेत्रलाई किवी पकेट क्षेत्र निर्धारण गरी आवश्यक सहयोगको कार्यक्रम सञ्चालन गरिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। विभिन्न आर्थिक वर्षमा गरी किवी खेतीका लागि ५० लाख रूपैयाँ बढी गाउँपालिकाले लगानी गरेको उनले जानकारी दिए। यहाँ विस्तार गरेको किवीले उत्पादनसमेत दिन थालेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ थियो।

'यस क्षेत्रलाई किवीको उपयुक्त क्षेत्रका रूपमा लिएका छौँ। यहाँको हावापानी किवीका लागि निकै उपयुक्त छ। गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानमा उत्साह बढेको पाएका छौँ', उनले भने।

गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममा जोड दिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। माटो सुहाउँदो खेतीमा प्रोत्साहन गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने नीतिका साथ काम गरिरहेको उनको भनाइ थियो।

सामूहिकरूपमा कृषि गर्ने र बाँझो रहेका जमिनमा ठूलो कृषि फर्म सञ्चालन गर्ने किसानलाई थप प्रोत्साहन गरिने अध्यक्ष राईले बताए। 'जमिनको उत्पादकत्व र माटो सुहाउँदो बालीमा जोड दिएका छौँ', उनले भने, 'किसानलाई आधुनिक कृषिमा जोड्दै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ।'

गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीको खेतीमा जोड दिएको छ। माथिल्लो भेग श्यामशिलालाई किवी पकेट क्षेत्र, गाउँपालिका-३ च्याङ्ग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठूलोदुम्मालाई अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ। गत वर्ष अकबरे खुर्सानीबाट रु छ करोड बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ।

वडा-२ तिवारी भञ्ज्याङको सडकभन्दा माथिदेखि श्यामशिलाको १ नं वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दागोभी र काउली खेती गर्न पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथका काम भइरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्।

'गाउँपालिकामा हामीले कृषिलाई प्राथमिकतामा राखेका छौँ', उनले भनिन्, 'विभिन्न ठाउँमा भूगोल अनुसारका खेती भइरहेका छन्। अबको पाँच वर्षमा यस गाउँपालिकालाई पूर्णरूपमा कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार काम भइरहेको छ।'

किवी प्रतिकेजी दुई सय ५० देखि तीन सय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। यसलाई एक हजार पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ।


प्रकाशित : शनिबार, जेठ १३ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend