समाजमा केही भाष्यहरू यसरी स्थापित भइदिन्छन् जसले वर्षौंसम्म गलत मानसिकतालाई विकास गराइदिन्छ। त्यसबाट उत्रन पूरा पुस्ताले गर्ने संघर्ष पनि कम हुनसक्छ। यसैले गलत भाष्यमा रुमल्लिएका नागरिकलाई त्यसबाट बाहिर निकाल्न एकीकृत प्रयास हुनु आवश्यक छ।
जबदेखि चेतनशील प्राणीका रुपमा मानिस यस धर्तीमा विकसित भए तबदेखि नै कथा रच्ने, भन्ने र सुन्ने कामको थालनी भयो। इजरायली इतिहासकार युवाल नवा हरारीका अनुसार मानिसहरूमा कथा भन्न सक्ने विशिष्ट कला भएका कारण नै संसारमा आफ्नो हैकम स्थापित गर्न सफल भएका हुन्। कथाका माध्यमबाट असीमित संख्यामा समन्वय गर्नसक्ने क्षमता र खुबी मानिससँग मात्र छ। र त मानव जातिमध्ये सेपियन्स प्रजाति, होमो सेपियन्सले आजसम्म देश, धर्म, संस्कृतिजस्ता कथाका माध्यमबाट एकीकृत भएर पृथ्वीमा अन्य प्रजातिमाथि रजगज गर्न सफल छ। तसर्थ कथाहरू र मानव जातिबीच गहिरो सम्बन्ध छ।
कुनै पनि देश अथवा समाजमा कस्ता कथा घुमिरहेका छन् भन्ने कुराले हाम्रो समग्र व्यवहार र निर्णय प्रकृयालाई असर गरिरहेको हुन्छ, नजानिँदो तरिकाले।
अझ आम मानिसका आर्थिक निर्णयहरूमा यस्ता कथाको भूमिका ठूलो रहन्छ। नोबेल पुरस्कार विजेता अर्थशास्त्री रवर्ट सिलरले हालसालैको आफ्नो किताब ‘न्यारेटिभ इकोनोमिक्स्' (भाष्यको अर्थशास्त्र) मा कथाहरू कसरी भाइरल हुन्छन् र आर्थिक घटनाहरूलाई निम्त्याउँछन् भनेर प्रष्ट पारेका छन्।
उदाहरणका लागि, सिलरले २००७-०८ मा अमेरिकामा हाउजिङ क्राइसिस (घरहरूको मूल्यमा अनियन्त्रित गिरावटका कारण सिर्जित आर्थिक मन्दी) का पछाडिका कारणहरू खोतल्दै जाँदा बजारका भाष्यहरूको महत्वपूर्ण भूमिका औँल्याएका छन्। शितयुद्वपछि अमेरिकी प्रभावशाली ब्यक्तिहरू र रियलस्टेट व्यापारीहरूले ‘देशलाइ माया गर्ने सच्चा प्रोग्रेसिभ अमेरिकन त्यो हो, जससँग आफ्नो घर छ’ भन्ने भाष्य यो हदसम्म स्थापित गरे कि घरजग्गाको मूल्यमा अनियन्त्रित उछाल आयो र अन्ततः मन्दी निम्त्यायो। भाष्य नै आर्थिक घटनाको एकमात्र कारण हो भन्नुभन्दा पनि यो एउटा सोध-अनुसन्धान नभएको विशिष्ट कारण हो भनेर सिलर भन्छन्।
आज सूचना प्रविधिको अप्रत्यासित विकासक्रमले कथा र सूचनाहरू बहने गतिमा आमूल परिवर्तन आएको छ। यसका कारण नकारात्मक भाष्यसहितका कथाहरूको अनियन्त्रित वहाव सबै देशका सरकारहरूका लागि चासोको बिषय बनेको छ।
नेपाल गरिब नै हो?
नेपालमा एउटा अनौठो भाष्य सन् १९९५ बाट क्रमश: स्थापित हुँदै जान थाल्यो। त्यसअघि नेपालीहरूले बिरलै ‘नेपाल एक गरिब देश हो’ भन्ने वाक्यांश सुनेका/पढेका/प्रयोग गरेका थिए होलान्।
गुगल एनग्राम्सका अनुसार सन् १९५५ अघि प्रकाशित किताब/दस्ताबेजहरूमा नेपाललाई गरिब देश भएको संज्ञा दिइँदैनथ्यो। (गुगल एनग्राम्स एउटा अनलाइन खोज इन्जिन हो जसले सन् १५०० र २०१९ को बीचमा प्रकाशित स्रोतहरूमा पाइने वाक्यांश/शब्दहरूको गणना गरी खोजिएका स्ट्रिंगहरूको कुनै पनि सेटको फ्रिक्वेन्सीहरू चार्ट गर्छ।)
यो वाक्यांशको प्रयोग प्रथमपटक सन् १९५५ को आसपासमा गरिएको देखिन्छ र ८० को दशकपछि प्रयोग ह्वात्तै बढेको पाइन्छ। मूलत: यसका पछाडिको मुख्य कारण ६० को दशकपछि नेपालमा विदेशी कुटनीतिक नियोगहरू, विकास संस्थाहरू र 'एलियन खोजकर्ताहरू'को (टालटुले जानकारीका आधारमा नेपालबारे अध्ययन गर्ने विदेशीहरू) बिगबिगी बढ्नु थियो।
हामीलाई गरिब भनिदिँदा उनीहरूको प्रतिवेदन हेर्नलायक बन्थ्यो। तथ्य जेसुकै होउन्। हामीमाझ आफू गरिब भएको बोध गराउने लेखहरू यो हदसम्म झाँगिन थाल्यो कि हामी वास्तवमै गरिबीको चरम बिन्दुमा छौँ भन्ने आझ पनि लाग्दछ।
यिनै अर्धसत्य भाष्यहरू जस्तै ‘नेपालमा के हुन्छ र?’, ‘सिस्टम नै खराब छ’, ‘सतिले सरापेको देश’ आज पनि जनजिब्रोमा विद्यमान छन् र यिनले आर्थिक वातावरण अझ बढी धुमिल बनाएका छन्।
यिनै विकृत कथाहरूका कारण समयक्रमसँगै नेपाली आफ्नै देशमा श्रम गर्ने आँट गुमाए, विदेशी उद्योगपतिहरूले नेपालमा केही लगानी गर्ने सम्भावना गुमाए र किसानहरूले माटोसँग गाँसिएका सपना गुमाए। कठोर सुनिन्छ, तर विस्तारै हामी सबै कथाहरू गुमाउँदैछौँ जुन कथाहरूको सँगालो नै देश हो।
पेशागत भाष्यहरू
विश्वयुद्धमा बेलायतका तर्फबाट लड्ने नेपालीहरू नेपाल फर्किसकेपछि उनीहरूले सुनाउने रोमाञ्चक घटना/कथाहरू परालको आगोसरी सल्कियो र यहाँ लाहुरे प्रवृति निकै बढ्यो। वीरताका कथा सरकार आफैँले पनि केही हदसम्म प्रवर्द्धन गराइदियो।
जीवनभर गैरमुलुकका सैनिक भएर निवृत्तिभरणपछि ठाँटसँग गाउँघर फर्कनु नै ग्रामीण भेगमा मानिसको सफलता मान्न थालियो। अरु देशमा ‘मर्सिनरी’ भनेर तुच्छ रुपमा हेरिने पेशाले नेपालमा भने सम्मानित ‘लाहुरे’ नामक पदबी पायो। यही नै आजको ग्रामीण भेगका युवा विदेश पलायन हुनुको मूलजरो हो। शारीरिक रुपमा बलवानहरू त बेलायती, भारतीयलगायत सेनामा जाने भए। तर ९० को दशकपछि बाँकी जो शारीरिक परीक्षामा अब्बल ठहरिँदैनन्, उनीहरू पनि यही कथाले डोर्याएर खाडी मुलुक पस्न थाले।
साथै कृषि पेशामा कुठाराघात त्यतिबेला भयो जब गाउँ-गाउँमा ‘राम्रो पढेस्, नत्र हलो जोत्लास्’ भन्ने भाष्य गुञ्जिन थाल्यो। यसले बाल मानसिकतामा- लौ है यो त गर्नै नहुने काम रहेछ भन्ने गलत सन्देश दियो। कृषिजस्तो पवित्र कर्मलाई हामीले आज पनि हेयदृष्टीले हेर्नु हाम्रो पछ्यौटेपनाको प्रमुख कारण हो।
अझै पनि ‘खलासि बन्लास्, हलो जोत्लास्, बेल्चा-गैँती हान्नुपर्ला’ जस्ता गालीगलौजका भाषाले पढाइबाट पछि रहेका धेरैलाई रोजगारी दिन सक्ने पेशाहरूलाई खिसिटिउरी गरिरहेका छन्।
आज अष्ट्रेलियामा गएर ट्रक चलाउने साथीले नेपालकै राजमार्गमा रात्रीबस चलाउने कल्पना पनि गर्न किन सक्दैन? आफ्नै गाउँको बारीमा खेती नगरीकन नेपाली छोरी किन कोरियामा गएर अरु कसैको फार्ममा अंगुर टिप्दै गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै छिन्? खाडी छिरेर अपमानजनक श्रममा होमिएका साइँला दाइ किन नेपालमै बाटोघाटो मर्मत गर्ने पेशामा लाग्न सक्दैनन्?
किनकि हामी प्रत्येक दिन चियाघर/चौतारी/भट्टीमा यस्ता कथा/भाष्य दोहोर्याउँछौँ जसले कामलाई ठूलो/सानो, फोहरी/सफा, सभ्य/असभ्य भनेर वर्गीकरण गर्छ र शारीरिक श्रममा आधारित पेशाकर्मीलाई होच्याइरहन्छ।
अबको बाटो के?
यस्तो बिषमरुपमा नकारात्मक बन्दै गएको भाष्यहरूविरुद्व सरकारले तत्काल सशक्त हस्तक्षेप गर्नुपर्छ।
१) सरकारी दस्ताबेज/खोजकार्यपत्रहरू/आम लेखाइमा नेपाल गरिब देश भएको रटान छाडेर प्रचुर सम्भावनाले भरिपूर्ण देश भएको भाष्य निर्माण गर्नुपर्यो। जस्तै, रुवान्डामा प्रकाशित प्रतिबेदनहरू अत्यन्तै सकारात्मक कोणबाट लेखिन्छन् र देशमा त्यसले नागरिकहरूलाई थप श्रम गर्न प्रशस्त ऊर्जा दिएको छ। देशलाई तहसनहस पारेको हुतु-तुत्सीस विरुद्वको गृहयुद्वबारे उनीहरू लेख्न त के, कुरामात्र गर्न पनि रुचाउँदैनन्।
२) कृषि र गरिबीलाई आज मानौँ समानान्तर रुपमा हेरिन्छ। सरकारले मिडियामार्फत कृषि गरेर पनि मनग्य आम्दानि कमाउन सकिन्छ है भन्ने मनग्य उदाहरणहरू प्रस्तुत गर्नुपर्छ। यसले आम मानिसमा आशाको सञ्चार गर्दछ। यस कार्यमा सामाजिक सञ्जालको भरपुर सदुपयोग गर्न सकिन्छ।
३) हाम्रो खाद्यान्न आयातको एक ठूलो हिस्सा चामल रहेको छ, जुन वस्तु उत्पादनमा हामी त्यति धेरै अब्बल छैनौँ। हाम्रै गाउँगाउँमा फल्ने कोदो, फापर, जौँ, मकैका परिकारहरू स्वास्थका हिसाबले पनि चामलभन्दा राम्रो भएको जानकारी जनजनमा पुर्याउनु जरुरी छ। सामाजिक प्रभावकर्ताहरूको प्रयोग गरेर सञ्जालमार्फत यस्तो सन्देश फैलाउन सके आयात घटाउन सकिन्छ।
४) सरकारले पेशागत मर्यादा कायम गर्ने सम्बन्धमा सम्बन्धित निजि क्षेत्रसँग समन्वय गर्नुपर्छ। जस्तै ड्राइभर पेसालाई अझ बढी व्यवस्थित र मर्यादित पेशाका रुपमा स्थापित गर्न उपयुक्त ड्रेस, कार्यबिधि, बीमा, तलबका मापदण्ड, सामाजिक सुरक्षा जस्ता विषयहरूमा बिशेष ख्याल गर्नुपर्छ।
५) नकारात्मक भाष्यहरूलाई रोक्न नसकेपनि अर्थतन्त्रलाई चलायमान र आशावादी बनाउने खालका भाष्यहरूलाई सरकार आफैँले पनि बजारमा उतार्न सक्दछ। जस्तै, २०७४ पछि सुखी नेपाली, समृद्व नेपाल नामक भाष्यले केही समय नयाँ आशाको सञ्चार गरेको थियो।
तसर्थ अर्थतन्त्र कथा, भाष्य र भविष्यप्रतिको आशाहरूको सँगालो हो। आजको समस्या सरकारमात्र होइन, अत्याधिक नाफाखोरी व्यापारी, सकेसम्म कर नर्तिर्ने हामी जनता, मौका मिल्दा अल्छी भैहाल्ने कर्मचारी सबैले गर्दा सिर्जित भएको हो। राजनीतिज्ञ त हाम्रा ऐनामा देखिने दृष्य जस्ता हुन्। हामी जस्ता छौँ, उनीहरू ठ्याक्कै दुरुस्तै छन्। सच्चिनु पर्ने हामी सबैले छ। अछुतो कोही छैनौँ।
(लेखक काफ्ले नेपाल राष्ट्र बैंकमा कार्यरत छन्।)