आइतबार, जेठ ६ गते २०८१    
images
images

पशुपतिको जलहरी सुनको कि पित्तलको? एमालेले गर्‍यो संसद अवरूद्ध

images
शुक्रबार, जेठ १२ २०८०
images
images
पशुपतिको जलहरी सुनको कि पित्तलको? एमालेले गर्‍यो संसद अवरूद्ध

पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने

images
images

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ। 

images
images
images

प्रतिनिधिसभाको शुक्रबारको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए।

images

प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताए। पशुपतिनाथको जलहरी सुन हो कि पित्तल हो भनी छानबिन गरी सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने बताए।

images
images

यसैगरी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए। आफूहरुलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे। सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुनेगरी छानविन गर्न उनले माग गरे। 

images
images

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि २० मिनेटका लागि बैठक स्थगित भएको छ।

महालेखाले उठाएको थियो प्रश्न

पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको विषयमा महालेखाले समेत प्रश्न उठाएको थियो। 

महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख थियो। त्यसबेलाको मूल्यअनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँबराबरको सुन गायब भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो। 

जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो। 

निर्मित जलहरी, जलधारा, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५ सय १४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९ सय ७६ ग्राम सुनको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएको छ। तर, बनाउने भनिएको रिङ नै बनाएको नदेखिएकोले त्यो परिमाणको सुन गायब गरेको महालेखाको ५९ औँ प्रतिवेदनमा उल्लेख थियो। 

तत्कालीन प्रधानमन्त्री ओलीको जोडबलमा जलहरी 

२०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा गएर विशेष पूजा आराधना गरे। माघ १३ का दिन उनले सुनको जलहरी स्थापना गर्न ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिवद्धता मात्रै जनाएनन्, मातहातका निकायलाई जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न दिर्नेशन नै दिए।

प्रधानमन्त्री पशुपति विकास कोषको संरक्षक रहने व्यवस्था छ। ओलीको सोही निर्देशन बमोजिम पशुपति क्षेत्र विकास कोष सुनको जलहरी निर्माणमा जुटेको थियो। त्यसको लागि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरिएको थियो। 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष परिषद्को १३ माघको बैठकले प्रधानमन्त्रीको निर्देशन बमोजिम जलहरी राख्ने निर्णय गरेको थियो। त्यसलगत्तै युद्धस्तरमा काम भयो र दुईसय वर्ष पुरानो चाँदीको जलहरी हटाएर १२ फागुनमा सुनको जलहरी राखिएको थियो। जलहरी राख्ने काममा तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, काेषाध्यक्ष मिलन कुमार थापा र कार्यकारी निर्देशक घनश्याम खतिवडा पनि संग्लन थिए।

जलहरी राख्ने चर्चा २०७० मा पनि भएको थियो। जसको लागि तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डन नेतृत्वले ३० करोड लाग्ने अनुमान गरेको थियो। तर, ०७७ सालमा ८० करोड रुपैयाँभन्दा बढी खर्च गरेर जलहरी राखिएको थियो। 

पशुपतिमा दानबाट आएको हजारौँ किलो चाँदी अहिले पनि थन्किएर बसेको छ। सुन दानदव्यमा थोरै आउने भएकोले खरिदको विकल्प थिएन। तर कोष र सरकार भने सुनकै राख्न लागिपरेको थियो। तत्कालीन राजा वीरेन्द्र शाहले पनि चाँदी दान गरेर जलहरीमा थपेका थिए। त्यसयता भने जलहरीमा कुनै वस्तु थप गरिएको थिएन।


प्रकाशित : शुक्रबार, जेठ १२ २०८००७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend