मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा

बुधबार, जेठ १० २०८०
सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा

नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि केएफडब्लुले लगानी गर्न लागेको हो।

काठमाडौं- सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिब ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ।

यसबाहेक ५ लाख बराबरको प्रावधिक सहयोगसमेत प्रदान गर्ने भएको छ। नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि केएफडब्लुले लगानी गर्न लागेको हो।

स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएको सिटिजन्स बैंकलाई केएफडब्लुले ‘एसइडीआरए’ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्येबाट चयन गरेको हो।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनुपर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको सिटिजन्स बैंकले यी शिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ।

यसमध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ। यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुर्‍याएको विश्वास बैंकले लिएको छ।

यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्न वर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।


प्रकाशित : बुधबार, जेठ १० २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend