बिहीबार , असोज ३ गते २०८१    
images
images

शिवशिखर सहकारी ठगी प्रकरण : चार जिल्लामा कागजात संकलन गर्दै प्रहरी

images
बुधबार, जेठ १० २०८०
images
images
शिवशिखर सहकारी ठगी प्रकरण : चार जिल्लामा कागजात संकलन गर्दै प्रहरी
images
images

महेन्द्रनगर- बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्।

images
images
images

शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ।

उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेको भीड लागेको छ।

सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

images

'तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन्', उनले भने, 'सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप संकलन भएको रहेछ भनेर यकिन जानकारी आउँछ।'

प्रहरीका अनुसार मंगलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो।

त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन्। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए।

'सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दैछ', उनले भने, ' कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ।'

प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै २६ करोड रूपैयाँ निक्षेप संकलन गरेको बताइएको छ।

गत माघयता सहकारी सञ्चालक सम्र्पकबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन्। यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन्।

सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले एक अर्ब ५० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बताइएको छ। संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ। सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब ४१ करोड रूपैयाँ निक्षेप संकलन गरेको बताए। 'हिजोसम्म ६८० बचतकर्ताले १२ करोड ५० लाख रूपैयाँ बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन्', उनले भने, 'यहाँ रहेका सहकारीका दुई वटा मार्ट बन्द भइसके।'

प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन्। सहकारी सञ्चालक सम्पर्क विहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन्। त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात संकलन गरिरहेको जनाएको छ। उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ।

डोटीमा मंगलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ छ। रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend