मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

समग्र सेयर बजार बढ्न थालेपछि नेपाल टेलिकमको सेयर मूल्यमा उभार, कतिसम्म पुग्ला?

बुधबार, जेठ १० २०८०
समग्र सेयर बजार बढ्न थालेपछि नेपाल टेलिकमको सेयर मूल्यमा उभार, कतिसम्म पुग्ला?

काठमाडौं- लगातार घटेको नेपाल टेलिकमको सेयर मूल्यमा मंगलबार उभार आएको छ। खरिदकर्ता झुम्मिँदा बिक्रीकर्ता भने थोरै छन्। जसका कारण लामो समयपछि सेयर मूल्यमा १६ रुपैयाँ प्रतिकित्ता बढेको छ।

कम्पनीको १ लाख १४ हजार २७५ कित्ता कारोबार हुँदा ८ करोड ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। वर्षयताकै सस्तो मूल्यमा आएको तथा समग्र सेयरमा बजार बढ्दा टेलिकमका लगानीकर्तालाई फाइदा भएको छ।  

कम्पनीको मंगलबार ७९५ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। कम्पनीको यसअघि सेयर मूल्य बढेर १७९९ रुपैयाँसम्म पुगेको थियो।  नेपाल टेलिकमले नाफाबाट सेयर धनीलाई वितरण गर्ने लाभांश पारित गरेर लगानीकर्ताको खातामा पठाइसकेको छ। कम्पनीले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिएको थियो।

यसको अर्थ एकसय कित्ता सेयर हुनेले ४ हजार नगद लाभांश पाएका छन्। गत वर्ष नगद २० प्रतिशत र बोनस सेयर २० प्रतिशत दिएको थियो। यो वर्ष भने कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको छ। 

गत वर्षको तुलनामा बैंकको ब्याजदर वृद्धि हुँदा नेपाल टेलिकमले थप १ अर्ब आम्दानी गर्न सफल भएको छ। सेवा सञ्चालन आम्दानी गत वर्षको तुलनामा ३ प्रतिशतले घट्दा पनि टेलिकमले कुल आम्दानी भने बढाउन सफल भएको छ। 

कुल आम्दानी बढ्नुको मुख्य कारण ब्याजदरमा भएको परिवर्तन हो। चालु वर्षको नौ महिनामा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको कम्पनीले जनाएको छ। 

चालु वर्षको ९ महिनामा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार सञ्चालन आम्दानी गरेको छ। जबकी यो गत वर्षको तुलनामा ३ प्रतिशतले न्यून हो। कुल आम्दानी भने कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार गरेको छ। यो गत वर्षको तुलनामा २ प्रतिशतले बढी हो। सञ्चालन आम्दानी घट्दा पनि कुल आम्दानी बढ्नु ब्याजदर परिवर्तन हुँदा भएको आम्दानी र अमेरिकी डलर बलियो हुँदा भएको थप कमाइ हो। 

त्यस्तै कम्पनीको खुद नाफा भने २ करोड रूपैयाँले घटेको छ। चालु वर्षको ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ०.४३ प्रतिशतले न्यून हो। 


प्रकाशित : बुधबार, जेठ १० २०८००१:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend