काठमाडौं- विसं २०७२ बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ। सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन। भवन विसं २०७२ बैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो।
भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन्। भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोनाअघि नै बनाउने तयारी भएको थियो तर कोरोना महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन।
भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि-फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउँछिन्।
भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमा समेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन। प्राधिकरणले २०७८ पुसमै छ वर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ। प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले ६५ करोड रूपैयाँको लागतमा भवन बनाउन लागेको हो।
सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि आँखा लगाएका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईँले सुनाए।
भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग ६९ करोड रूपैयाँ माग गरिएको छ। आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थमन्त्रालय पुगेर बन्ने निश्चित भएको जनाइएको छ। भूमिगत पार्किङसहित सात तले भवनका लािग माटो परीक्षण र ड्रइङ, डिजाइनको काम सकिएर ठेक्का भई छनोटको क्रममा रहेको उनले बताए।
केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालिम दिन्छ। केन्द्रका लागि विसं २०२२ मा बबरशमशेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो। जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ। एक सय वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनःनिर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ।
राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो। अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर निशा केसीले बताइन्। अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरुपमा बन्ने गरी डिजाइन गरिएको उनले सुनाइन्।
प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता
पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले जानकारी दिइन्। २०१९ साल मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो। राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो। विसं २०७२ बैशाख १२ गतेको भूकम्पअघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो। विसं २०७० मा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो।
हुलाक पुस्तकालय आठ वर्षदेखि बन्द
प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीन तले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि-फ्याब भवनमा सञ्चालन भइरहेको छ। भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताइन्। भवनमा स्थानअभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ।
सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन। सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो।
केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएकाले आठ वर्षपछि बन्न लागेको हो। भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ। हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग, केन्द्र, मुद्रण विभाग, सुरक्षण मुद्रण विभागको प्रशासन शाखालगायत कार्यालय नयाँ बन्ने भवनमा रहने बारेमा हाल छलफल चलिरहेको पनि प्रशिक्षक चौलागाईंले बताए। रासस