आइतबार, जेठ ६ गते २०८१    
images
images

बागलुङका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम

images
मंगलबार, जेठ ९ २०८०
images
images
बागलुङका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
फाइल तस्बिर

घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाख रूपैयाँका दरले पाउनुपर्ने रकममध्ये ५० हजार रूपैयाँका दरले मात्रै पाएका छन्।

images
images

गलकोट- बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन्।

images
images
images

विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन्।

images

घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाख रूपैयाँका दरले पाउनुपर्ने रकममध्ये ५० हजार रूपैयाँका दरले मात्रै पाएका छन्। घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता सात महिनादेखि पाउन सकेका छैनन्। ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले पहिलो किस्ता रकम पाएको सात महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन्।

images
images

ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्।

images
images

ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो। ३७ जनाले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता छन्। दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ। ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितको प्रक्रिया नपुर्‍याउँदा सात महिनादेखि दोस्रो किस्ता रकम अड्किएको छ। नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाइ छ।

विसं २०७७ मा बागलुङ मनसुनजन्य विपद् प्रभावित जिल्लाका रुपमा सूचीकृत भएकाले ढोरपाटनसहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित ६ पालिकाका बाढी तथा पहिरो पीडितले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन्।

जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरे पनि सबैभन्दा बढी पीडितहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए। दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताए।

'सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको दुई लाख रूपैयाँ दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन पर्‍याे, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौँ', गौतमले भने।

ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका बापत पाउनुपर्ने दुई लाखका दरले एक करोड ६४ लाख रूपैयाँ रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ। ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्यांकनका लागि प्राविधिक खटाउने तयारी गरेको छ। मूल्यांकन फाराम नपाउँदा विवरण संकलनमा ढिलाइ भएको ढोरपाटन नगरपालिकाले जनाएको छ। 

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्यांकनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पाठाइने र मूल्यांकनपश्चात् जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको छ।

बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भए पनि घर निर्माण गरेका छन्। दोस्रो किस्ताबापत दुई लाख रूपैयाँ भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ताबापतको एक लाख ५० हजार रूपैयाँ भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ। बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। 

जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी दुई सय १३ बाढीपीडितले घर निर्माणका लागि चार लाख रूपैयाँ पाउने जिल्ला प्रशासनको तथ्यांकमा उल्लेख छ।

पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउँदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन्। रासस


प्रकाशित : मंगलबार, जेठ ९ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend