आइतबार, जेठ ६ गते २०८१    
images
images

काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल

images
मंगलबार, जेठ ९ २०८०
images
images
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल

वन ऐन र नियमावलीमा विभिन्न समयमा भएको संशोधन र परिमार्जनले केही नीतिगत जटिलता र अन्योलता ल्याएको भन्ने सामुदायिक वन उपभोक्ताको गुनासोप्रति आफू जानकार रहेको भन्दै उनले समाधानका लागि पहल भइरहेको बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन्।

images
images
images

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको मंगलबार उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्ने बताएका हुन्।

images

'वन व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययनअनुसार हाल नेपालमा वार्षिक करिब ६ करोड क्युबिक फिट काठको आवश्यकता छ', प्रधानमन्त्री दाहालले भने, 'हामीले वनको दिगो व्यवस्थापन गर्न सक्ने हो भने सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख क्युबिक फिट काठ उत्पादन गर्न सकिने रहेछ।'

images
images

उनले स्वदेशी काठबाट आन्तरिक आवश्यकता पूर्ति गरी बाँकी रहने करिब चार करोड क्युबिक फिट काठ निर्यात गर्न सकिने बताए। यसबाट वार्षिक एक खर्ब २० अर्ब रूपैयाँभन्दा बढी आम्दानी गर्न सकिने तथ्यांकहरुले देखाएको उनको भनाइ छ। वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सकेमा वार्षिक १३ लाख जनसंख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने देखिएको पनि उनले उल्लेख गरे।

images
images

हाल नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहले देशको करिब ४० लाख जनसंख्यालाई आबद्ध गर्दै २२ लाख हेक्टर (कुल वन क्षेत्रको ३५ प्रतिशत भन्दा बढी) वन क्षेत्रको व्यवस्थापन गर्दै आएको छ। 

वन ऐन र नियमावलीमा विभिन्न समयमा भएको संशोधन र परिमार्जनले केही नीतिगत जटिलता र अन्योलता ल्याएको भन्ने सामुदायिक वन उपभोक्ताको गुनासोप्रति आफू जानकार रहेको उनले बताए।

'यसका समाधानका लागि पहल भइरहेको पनि म जानकारी गराउँछु। खासगरी नीतिगत अन्योलता र अन्य विविध कारणले गर्दा नै सम्भाव्यता हुँदाहुँदै पनि सामुदायिक वनको दिगो व्यवस्थापन गरी सामुदायिक वनले आर्जन गरेको स्रोतको जुनरुपमा सदुपयोग हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन', प्रधानमन्त्री दाहालले भने, 'सामुदायिक वनको दिगो व्यवस्थापन गर्न सक्दा स्थानीय समुदायलाई थप लाभ हुनुका साथै राष्ट्रले पनि आशातित राजस्व प्राप्त गर्न सकिन्छ।' 

सामुदायिक वनबाट उत्पादित वन पैदावार बिक्री गर्दा लाग्ने करको विषयमा पनि उपभोक्ता समूहको गुनासो रहको उनले बताए।वन्यजन्तुको अन्तरद्वन्द्वको व्यवस्थापनका लागि सरकारको ध्यान गएको बताउँदै उनले संघीयता कार्यान्वयन गर्न वनक्षेत्रको पुनःसंरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार र भूमिकाको स्पस्ट व्याख्या गर्नेगरी नीतिगत र कानूनी व्यवस्था गरिने अवगत गराए।

'सामुदायिक वनले जलवायु परिवर्तनको अनुकुलन र न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको छ। हाम्रो योगदानबापत थप लाभ पाउन बाँकी नै छ, यसमा सरकारले पहल गर्नेछ', उनले भने।

नेपाल सरकारले हालै संसद्‌मा पेस गरेको नीति तथा कार्यक्रममा सामुदायिक वनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, 'तीनै तहका सरकारको समन्वयमा समुदायको सहभागितासहित वनको संरक्षण, व्यवस्थापन र सम्बर्द्धन गरिने नीति प्रस्तावित गरिएको छ। सरकारले नीति तथा कार्यक्रममार्फत् ‘सामुदायिक वन, फैलाउने छ धन’ अभियान नै सञ्चालनको प्रस्ताव गरेको छ।'

उनले नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक नीतिगत सुधार, संघीयताको मर्म बमोजिम वन क्षेत्रको पुनःसंरचना र दिगो वन व्यवस्थापन कार्यक्रम लागु गरी वनको सदुपयोग, उत्पादन र वन क्षेत्रको सुशासनबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्न सरकार प्रतिबद्ध रहेको बताए। सामुदायिक वन उपभोक्ता महासंघसँग आगामी दिनमा नजिकबाट सहकार्य हुनेमा उनले विश्वास व्यक्त गरे।

अहिले सरकारको मुख्य प्राथमिकता आर्थिक विकास र समृद्धि रहेको बताउँदै प्रधानमन्त्री दाहालले स्वदेशी स्रोत साधन र कच्चापदार्थमा आधारित उद्योग धन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवद्र्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेकामा जोड दिए।

खासगरी खनिजजन्य र वनजन्य उद्यमको सञ्चालन र प्रवर्द्धनमा देखिएका समस्या सम्बोधनका लागि सरोकारवाला सबैको सुझाव लिएर अघि बढ्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, जेठ ९ २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend