तुलसीपुर- तत्कालीन थारू राजा दंगीशरणले राज गरेको तुलसीपर-११ स्थित सुकौरा ओझलेमा परेको छ।
सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन्। प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ।
त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन्। बनेका संरचना पनि अलपत्र छन्। त्यहाँ दंगीशरण राजाको सालिक र हरित उद्यान बनेको छ। तर त्यो पनि अलपत्र छ। नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन।
निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ। उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ। त्यहाँ रोपिएको दुबो मरिसकेको छ। त्यही उद्यानमा दंगीशरण राजाको सालिक राखिएको छ। २५ लाख रूपैयाँ लागतमा त्यहाँ उद्यान र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो। त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ। ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए।
'पहिले-पहिले अलिअलि आउँथे', उनले भने, 'तर अहिले एक जना पनि आउँदैनन्।'
दंगीशरण गाउँपालिका-३ चखौरमा थारू संग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो। चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ। त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए। त्यो संग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए।
सुकौरामा बनाउनुपर्ने संग्रहालय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ। सबैगरी अहिलेसम्म करिब छ-सात करोड रूपैयाँ बजेट चखौरामा गएको छ। तर सुकौरामा एक करोड रूपैयाँभन्दा बढी बजेट अहिलेसम्म परेको छैन। अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ।
सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ। राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ। सुकौराकोटबाट सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किंवदन्ती रहेको छ। त्यस्तै राजाको दरबार रहेको ठाउँबाट उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे।
दंगीशरण रानीवनका साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ। दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ। सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो। बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो। मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे।
राजकाज गर्ने क्रममा जनताको पीरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए। अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका-१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ। त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ। राजा दंगीशरणले आफूसँग भएका पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ।
पशुपालन गर्दै दंगीशरण गाउँपालिका-१ रहरपुरस्थित चुरे पर्वतको फेदमा आइपुगेका गोपाल वंशका १२ जना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ। गाईभैँसी चराउँदै आएका १२ ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ। बाह्र ग्वालाले आफूमध्येका एक जनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वा पर्वत’ भनिन्छ। पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’ देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ। चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका-१ मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन्। बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन्।
विसं १९४२ मा दंगीशरण-४ बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ। उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो। सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल रहेको जनाइएको छ। रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन्। तर प्रहरी प्रशासनले रोक लगाए। तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किंवदन्ती रहेको छ। रासस