मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

ब्याजदर अब घट्दै जान्छ, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक भए पनि दबाबमुक्त छैनन् : अध्यक्ष केसी 

सोमबार, जेठ ८ २०८०
ब्याजदर अब घट्दै जान्छ, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक भए पनि दबाबमुक्त छैनन् : अध्यक्ष केसी 

खराब कर्जा दशक यताकै धेरै रहेकाले पनि समस्या आएको उनको भनाइ छ।

काठमाडौं- नेपाल बैंकर्सका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अब निरन्तर घट्दै जाने बताएका छन्।

नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको मासिक समीक्षा कार्यक्रममा उनले ब्याजदर अब असार साउनसम्म पुग्दा घट्दै जाने बताए। स्प्रेडदर असारमा ४ प्रतिशतमा झार्नुपर्ने भएकाले पनि ब्याजदर घट्दै जाने अध्यक्ष केसीको भनाइ छ।

उनका अनुसार यो वर्ष ३ सय अर्ब निक्षेप बढेको तर ऋण १८४ अर्ब मात्रै गएकाले बैंकहरुमा सहज अवस्था देखिँदै गएको छ। 

तरलता भए पनि राजस्वमा परेको असरतर्फ ध्यान गएको उनले बताए। राजस्वमा देखिएको असरले फेरि समस्या आउने देखिएकोले दबाब देखिएको उनको भनाइ छ।

आन्तरिक ऋण उठाउनुपर्ने बाध्यतामा सरकार रहेकाले पनि समस्या आउने हो कि भन्ने देखिएको उनले बताए। 

खराब कर्जा दशक यताकै धेरै रहेकाले पनि समस्या आएको उनको भनाइ छ। उनका अनुसार बैंकहरुको नाफा घटेको छ। गत वर्ष ५४ अर्ब नाफा रहेकोमा यो वर्ष ४८ अर्ब मात्रै रहेको छ।

सरकारले पुँजीगत खर्च बढाउन नसक्ने हो भने असर धेरैतर्फ जाने देखिएको समेत अध्यक्ष केसीले बताए। 'राजस्व नउठ्ने अनि पुँजीगत खर्च गर्न नसक्ने अवस्था आयो भने समस्या आउँछ', उनले भने।

पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम बढेको उल्लेख गर्दै उनले रेमिट्यान्स बढ्नु तथा पर्यटक आगमन बढ्नुले भने अर्थतन्त्रलाई सकारात्मक बाटो देखाएको बताए।

मौद्रिक नीतिको समीक्षाले पनि धेरै बाटोहरु देखाएकाले सबै क्षेत्र सकारात्मक हुने आशा समेत अध्यक्ष केसीले गरेका छन्। 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक राणााले अहिले सूचांक केही सकारात्मक रहेको बताउँदै अब बजेट र मौद्रिक नीतिले लिने बाटोले धेरै विषयहरु आगाडि बढ्ने बताए।


प्रकाशित : सोमबार, जेठ ८ २०८०१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend