मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

उही बिन्दु वरपर रहेको सेयर बजारमा सुधारको संकेत, तर विश्वस्त छैनन् लगानीकर्ता

सोमबार, जेठ ८ २०८०
उही बिन्दु वरपर रहेको सेयर बजारमा सुधारको संकेत, तर विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- सेयर बजार निरन्तर उही बिन्दु वरपर देखिएको छ। सोमबार १९०० को बिन्दुनजिक पुगिसकेको बजार पुन: उतारचढावमा रहँदै सामान्य अंकको वृद्धिमा सीमित रह्यो। गएको साताको अन्तिम कारोबारको वृद्धिलाई साथ मिलेको देखिए पनि यो साता दुई कारोबारमा लगानीकर्तामा उत्साह देखिन सकेको छैन। 

आइतबार ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको बजार सोमबार ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ। १३३ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब २७ करोड ८७ लाख रूपैयाँको कारोबार भएको छ। गएको साताको अन्तिम कारोबारदेखि सेयर कारोबार रकममा सुधार हुँदै गएको देखिन्छ। 

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको भए पनि बजारमा लगानीकर्ताहरू भने विश्वस्त देखिन सकेका छैनन्। निरन्तर उतारचढावमा रहेको बजारमा लगानीकर्ता स्पष्ट नीतिको पर्खाइमा रहेका छन्।

सरकारले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा गरेको छ। पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा गरेको सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने पनि उल्लेख गरेको छ। 

सरकारले नीति तथा कार्यक्रममा के-के गरिने भन्ने स्पष्ट आधार प्रस्तुत नगर्दा लगानीकर्ता विश्वस्त हुन नसकेको विश्लेषकहरू बताउँछन्। अब बजेटमा ल्याइने व्यवस्था र मौद्रिक नीतिको स्थितिले लगानीकर्ताले अगाडिको बाटो लिने उनीहरूको भनाइ छ। सेयर बजारको खास प्रभाव मौद्रिक नीतिपछि पर्ने भए पनि लगानीकर्ताहरू बजेटमा समेत केही नीतिगत सुधार आउनेमा आशावादी छन्। 


प्रकाशित : सोमबार, जेठ ८ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend