शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

बुटवल-वसन्तपुर केबलकार सञ्चालन अर्को सातादेखि

images
आइतबार, जेठ ७ २०८०
images
images
बुटवल-वसन्तपुर केबलकार सञ्चालन अर्को सातादेखि

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो।

images
images
काठमाडौं- बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केबलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। 
 
बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ। 
 
यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए। उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ। 
 
केबलकारको आधार स्टेसन बुटवलको वडा नं ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ। केबलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ। 
 
केबलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन्। साथै प्रतिघण्टा अधिकतम ६ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ। 
 
व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब पाँच अर्ब रूपैयाँ लगानी भएको छ। जसमा केबलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ।
 
वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केबलकार निर्माण गरिएको हो। केबलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ। केबलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए। रासस


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend