मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

पुँजी बजारको संरचनागत सुधार गर्ने सरकारी घोषणाले पनि लगानीकर्तामा देखिएन उत्साह

आइतबार, जेठ ७ २०८०
पुँजी बजारको संरचनागत सुधार गर्ने सरकारी घोषणाले पनि लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको भए पनि बजारमा लगानीकर्ताहरू भने विश्वस्त देखिन सकेका छैनन्। निरन्तर उतारचढावमा रहेको बजारमा लगानीकर्ता स्पष्ट नीतिको पर्खाइमा रहेका छन्।  

यो साताको पहिलो कारोबारमा आइतबार ५.८८ अंकले बढेर १८८३.२० बिन्दुमा पुगेको छ। आइतबार ९३ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ। गएको साताको अन्तिम कारोबारको वृद्धिलाई साथ मिलेको देखिए पनि लगानीकर्तामा उत्साह देखिन सकेको छैन। 

गएको शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुँजीबजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने घोषणा गरे। उनले पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्ने घोषणा पनि गरे। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्र साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिने घोषणा पनि गरिएको छ।

सरकारले नीति तथा कार्यक्रममा के-के गरिने भन्ने स्पष्ट आधार प्रस्तुत नगर्दा लगानीकर्ता विश्वस्त हुन नसकेको विश्लेषकहरू बताउँछन्। अब बजेटमा ल्याइने व्यवस्था र मौद्रिक नीतिको स्थितिले लगानीकर्ताले अगाडिको बाटो लिने उनीहरूको भनाइ छ। सेयर बजारको खास प्रभाव मौद्रिक नीतिपछि पर्ने भए पनि लगानीकर्ताहरू बजेटमा समेत केही नीतिगत सुधार आउनेमा आशावादी छन्। 

गएको साता आइतबार १६.६९ अंकले घटेको बजार सोमबार ३.३४ अंकले घटेको थियो। मंगलबार ३.२९ अंकले बढेको बजार बुधबार २३.३९ अंकले बढेको थियो। गएको साता अन्तिम कारोबारमा बिहीबार ३२.३० अंकले बढेर बजार १८७७.३२ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend