मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

वित्तीय प्रणालीमा एकैदिन थपियो ७ अर्ब निक्षेप, बैंकमा पैसा थुप्रिँदा पनि ऋण लगानी ठप्प

सीडी रेसियो ८४.८२ प्रतिशतमात्रै

आइतबार, जेठ ७ २०८०
वित्तीय प्रणालीमा एकैदिन थपियो ७ अर्ब निक्षेप, बैंकमा पैसा थुप्रिँदा पनि ऋण लगानी ठप्प

काठमाडौं- वित्तीय प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा ५४ खर्ब ९५ अर्ब निक्षेप पुगेको छ। बढ्ने क्रममा रहेकोले केही दिनमै ५५ खर्ब निक्षेप पुग्नेछ।

शनिबार साँझसम्म ५४ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा बढेर ७ अर्ब थपिएको हो। यता ऋण लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ। एकदिनमा १ अर्ब मात्रै ऋण प्रवाह भएको छ। 

वाणिज्य बैंकहरूको निक्षेपमात्रै ४८ खर्ब ४५ अर्ब पुगेको छ भने ऋण प्रवाह ४२ खर्ब ९५ अर्ब पुगेको छ। सीडी रेसियो ८४.८२ प्रतिशतमा झरेको छ। योसँगै वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरूले असार मसान्तसम्म ऋण प्रवाहभन्दा पनि ऋण उठाउने नीति लिएसँगै सीडी रेसियो घटेको हो। बैंकहरू अहिले नै झन्डै ३ खर्ब ऋण प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन्। 

बैशाख महिनामा ३० अर्ब निक्षेप थपिएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म निक्षेप ५४ खर्ब ७९ अर्ब पुगेको थियो। गत चैत मसान्तसम्म निक्षेप ५४ खर्ब ४९ अर्ब रहेको थियो। चैतमा ४९ अर्ब थपिएकोमा बैशाखमा ३० अर्ब मात्रै थपिएको हो। 

बैशाख महिनामा ऋण लगानी १९ अर्बमात्रै भएको छ। चैत महिनामा १७ अर्ब ऋण परिचालन भएको थियो। बैशाख मसान्तसम्म ४८ खर्ब ४८ अर्ब ऋण प्रवाह पुगेको छ। चैत मसान्तसम्म ४८ खर्ब २९ अर्ब पुगेको थियो। यता सीडी रेसियोमा पनि व्यापक सुधार देखिएको छ। गत चैत मसान्तसम्म ८५.३५ प्रतिशत रहेको रेसियो बैशाख मसान्तसम्म ८५.०४ प्रतिशतमा झरेको थियो।  साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८४.८२ प्रतिशतमा आएको छ।

यसले बैंकहरूले झन्डै ३ खर्ब लगानी सक्ने अवस्थामा रहेका छन्। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ अर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। चैत ४९ अर्ब निक्षेप थपिएकोमा बैशाखमा ३० अर्ब थपिएको हो। 


प्रकाशित : आइतबार, जेठ ७ २०८००७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend