लेखनाथ- कास्कीका गाउँ तथा सहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ। घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमणबाट गाईभैँसी मर्न थालेका छन्।
गाईबस्तु मर्न थालेपछि किसान चिन्तित बनेका छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक भरत रेग्मीका अनुसार कास्कीको पूर्वी भेगमा यो रोगको प्रकोप बढी देखिएको छ।
एक हप्ताअघि प्रभावित क्षेत्र पोखरा-३२ को लेखनाथ र ३३ को बागमाराका १६ गाई फार्मका दुई सय ५२ गाईमा लम्पी स्किन रोगको संक्रमण देखिनुका साथै संक्रमणका कारण चार गाईको मृत्यु भइसकेको रेग्मीले बताए।
गाउँपालिकाको तुलनामा पोखरा महानगपालिकामा यो रोगको प्रकोप बढी मात्रामा देखिएको छ। यो रोगको संक्रमण केही मात्रामा कास्कीको रुपा, मादी र माछापुछ्रे गाउँपालिकामा पनि देखिएको छ। कास्कीका विभिन्न भेगमा दुई हजारभन्दा बढी चौपायामा यो रोगको प्रकोप देखिएको छ।
'लम्पी स्किन रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना नरुच्ने र दूध कम दिने लक्षण देखिन्छ। छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्छ', चिकित्सक रेग्मीले भने, 'नाक र मुखबाट तरल पदार्थ काढ्ने लम्पी स्किन संक्रमण बढेपछि पशुचौपाया मर्छन्।'
‘क्याप्री पक्स’ नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने चलन छ। रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काँढ्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्छ। लम्पी स्किन रोगको संक्रमण भैँसीको तुलनामा गाईमा बढी देखिने रेग्मीको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत एवम् सूचना अधिकारी सहदेव पौडेलका अनुसार लम्पी स्किन रोगका कारण दुहुना पशुको दूध उत्पादनमा ह्रास आउँछ। यस रोगको संक्रमण भएमा दूध उत्पादन ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ। पशुमा यो रोगको संक्रमण देखिए पनि मानिसले दूध सेवन गर्दा कुनै असर नगर्ने उनी बताउँछन्।
पशु चिकित्सक अनन्त कोइरालाले लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिने बताए। यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ। अन्य वस्तुमा संक्रमण हुन नदिनकै लागि यो रोग लागेका पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राखिने गरिन्छ।
रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न किसानले माग गरेका छन्। रासस