शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री

images
शनिबार, जेठ ६ २०८०
images
images
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री

'ज्ञान र अनुभवलाई म उपयोग गर्छु। सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु', उनले भने, 'तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन्।’ 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्।

images
images
images

आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्।  छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए।

'स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन', सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भने, 'युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ।’

images

नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा सरकार जाने उनले बताए। 

images

अर्थमन्त्री महतले आफ्नो ज्ञान र अनुभवलाई अर्थतन्त्र उकास्न भरपुर प्रयोग गर्ने बताए। 'ज्ञान र अनुभवलाई म उपयोग गर्छु। सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु', उनले भने, 'तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ। अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन्। धेरैजसो यसपटक गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’ 

मुख्य चुनाैती कार्यान्वयन रहेको उनले बताए। ‘कार्यान्वयन हाम्रो मूल चुनौती हो। ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौँ भनेर आउँछन्। त्यसलाई मैले रोकिदिएको छु। ९ महिनासम्म के गरेर बस्यो?', उनले भने, 'बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गर्छौँ। यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौँ। यसबारे गृहकार्य भइरहेको छ।'

यसो हुँदा पुँजीगत खर्चको प्रभावकारिता बढ्ने उनको भनाइ छ। 'पुँजी प्रवाह बढ्दा आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु। समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन', उनले भने, 'पुँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ। मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु। सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन। यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु।’

राजस्व सुधारबारे पनि योजना बनिरहेको उनले बताए। ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ। राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु। ती कुरालाई हामी सुधार गर्छाैँ', उनले भने, 'यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५-४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन। वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन रु यसको समीक्षा हुन जरुरी छ। यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन। यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ।’

पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग स्रोत सीमित रहेको भन्दै उनले सिस्टममा देखिएको समस्या एकैपटक समाप्त नहुने पनि बताए। ‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, तर त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो,' उनले भने, ‘इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो, तपाईंहरुको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस्। तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु।'

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए। अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।


प्रकाशित : शनिबार, जेठ ६ २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend