बुधबार, वैशाख १२ गते २०८१    
images
images

१ खर्ब ८२ अर्ब लगानीमा १५ आयोजनाबाट ९०७ मेगावाट विद्युत उत्पादन निर्माण सुरू, कुनमा कति लगानी?

images
images
images
१ खर्ब ८२ अर्ब लगानीमा १५ आयोजनाबाट ९०७ मेगावाट विद्युत उत्पादन निर्माण सुरू, कुनमा कति लगानी?

१ खर्ब ८२ अर्ब लगानीमा ९०७ मेगावाट विद्युत उत्पादन प्रक्रिया सुरु, कुन आयोजनमा कतिको लगानीमा कति मेगावाट उत्पादन?

images
images

काठमाडौं- निजी क्षेत्रको लगानीमा निर्माण हुने १५ वटा जलविद्युत आयोजनबाट ९ सय ७ मेगावाट बिजुली उत्पादन हुने भएको छ। उक्त बिजुली उत्पादनका लागि निजी क्षेत्रबाट १ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँमा १५ वटा जलविद्युत आयोजना निर्माण हुने भएको हो।

images
images
images

विभिन्न आयोजनामध्ये कतिपयमा वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भइसकेको छ भने कतिपय आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने चरणमा रहेको छ।

images

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांनक रिपोर्टअनुसार ३०.९५ मेगावाटको यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ६ अर्ब ३६ करोड रुपैयाँ लगानी हुने भएको छ।

images

यसैगरी १९ मेगावाट तातोपानी जलविद्युत आयोजनामा ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ, १०२ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत आयोजनमा साढे ३२ अर्ब रुपैयाँ र ३०.४ मेगावाटको माथिल्लो दूधखोला जलविद्युत आयोजनामा ६ अर्ब १० करोड रुपैयाँको लगानी अनुमान गरिएको छ।

images
images

त्यस्तै ५४ मेगावाटको लोवर अप्सुवा जलविद्युत आयोजनामा ८ अर्ब ८४ करोड, ६३ मेगावाटको छुजु‌ङखोला जलविद्युत आयोजनामा  ११ अर्ब ४३ करोड, २८.९ मेगावाटको होंगु खोला जलविद्युत आयोजनामा ५ अर्ब ९९ करोड र १ सय ७१ मेगावाटको दूधकोशी-६ जलविद्युत आयोजनाको लागत २९ अर्ब ६१ करोड रुपैयाँ अनुमान गरिएको छ।

hydro .jpg


यसैगरी १४ अर्ब ४७ करोडको लगानीमा बुढीगण्डकी प्रोक, ५ अर्ब ३६ करोड रुपैयाँको लागतमा इसुवा खोला, १७ अर्ब ८८ करोड सेती नदी-३ (एसआर थ्री), १६ अर्ब ४६ करोड रुपैयाँको लागतमा मध्यमेवा जलविद्युत, ६ अर्ब २३ करोड रुपैयाँमा मध्य-चमेलिया जलविद्युत, १० अर्ब ७५ करोड रुपैयाँको लगानीमा  नार खोला जलविद्युत र ७ अर्ब ८८ करोड रुपैयाँको लगानीमा माथिल्लो संखुवाखोला जलविद्युत आयोजनाको काम अगाडि बढने भएको छ।

कुन आयोजनामा कति लगानी? 

 १४ अर्ब ४७ करोडको लगानीमा बुढीगण्डकी प्रोक

गोरखामा ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण हुने भएको छ। जलविद्युत आयोजनाका काम थालनीका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ।

रिपोर्टमा आयोजनाको कुल लागत १४ अर्ब ४७ करोड ७७ लाख ४८ हजार ३ सय ४० रुपैयाँको लागत अनुमान गरिएको छ। जलविद्युत आयोजनाको प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेडले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभाग मार्फत वन तथा वातारण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस गरिएको हो।

प्रस्तावित आयोजना रन अफ दी रिभर प्रकृतिको हो। यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४  मा रहने छ। भूमिगत विद्युत गृहमा खसाली फ्रान्सिस टरवाइनको सहायतले ८१ मेगावाट विद्युत उत्पादन हुने रिपोर्टमा उल्लेख छ। पानी विद्युत उत्पादन स्थलबाट पुन: बुढीगण्डकीमा नै खसालिने समेत रिपोर्टमा उल्लेख छ। 

आयोजनाबाट उत्पादित विद्युत २२० केभि क्षमताको १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत फिलिम/ गुम्दामा प्रस्तावित सवस्टेसनमा जोडिने छ।

५ अर्ब ३६ करोड रुपैयाँको लागतमा इसुवा खोला 

इसुवा खोला अर्धजलाशययुक्त (प्रोर क्यासकेड) जलविद्युत् आयोजनाको लागत बढ्ने  भएको छ।  विद्युत उत्पादन क्षमता नै बढने भएपछि आयोजनाको लागत समेत बढने गरी पुरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ। 

प्रस्तावित जलविद्युत् आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर १ मा अवस्थित छ। यस आयोजनाको क्षमता ३७.७ मे.वा. बाट बढेर ४०.१ मे.वा. मा परिवर्तन भएको र आयोजनाको स्वीकृत संरचनाहरूमा सामान्य फेरबदल समेत भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो। आयोजनाको लागत ३ अर्ब ८३ करोड ६० लाख रूपैयाँबाट बढेर ५ अर्ब ३६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको छ।

प्रस्तावित अर्धजलाशयुक्त जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज १२.६ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ३७१.७ मि. रहेको छ। यस जलविद्युत् आयोजनाको वार्षिक ऊर्जा उत्पादन २७०.२३ गिगावाट आवर (वर्षा याम-१६५.६० गिगावाट आवर, सुख्खा- १०४.६३ गिगावाट आवर) रहेको छ। यस आयोजनाको मुख्य संरचनाअन्तर्गत हेडपोन्ड, पेनस्टक पाइप, विद्युत्‌गृह, टेलरेस तथा प्रसारण लाइन लगायतका संरचनाहरू पर्दछन्।

पूरक रिपोर्ट अनुसार आयोजनाको ग्रस हेड तथा नेट हेड बढेको छ। आयोजनाको लागि पहिले प्रस्ताव गरिएको टर्वाइन तथा जेनेरेटर भन्दा बढी कार्यदक्षता भएको टर्वाइन र जेनेरेटर प्रस्ताव गरिएको छ। आयोजनाको लागि स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनभन्दा पूरकमा बढी रेटेड क्षमता भएको ट्रान्सफर्मरको प्रस्ताव गरिएको छ।

आयोजनााको पेनस्टक पाइप संरचना र विद्युत्‌गृहको निर्माण स्थलमा केही परिवर्तन गरिएकोले पहिले काटिने रूखको संख्या (१६०) भन्दा हाल काटिने रूखको संख्यामा कमि हुने रिपोर्टमा उल्लेख छ। आयोजना संरचनाहरूको आकारमा केही परिवर्तन आएकाले सरकारी जमिन पहिलेभन्दा कम प्रयोग हुने भएको छ भने निजी जमिनको प्रयोगमा केही परिवर्तन नभएको आयोजनाले जनाएको छ।

१७ अर्ब ८८ करोड सेती नदी-३ (एसआर थ्री) 

सेती नदी-३ (एसआर थ्री) अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागत १७ अर्ब ८८ करोड अनुमान गरिएको छ। बझाङमा निर्माण हुन लागेको ८७ मेगावाटको आयोजना निर्माणका चरणमा जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ९  नम्बर वडाहरु आयोजनाबाट प्रभावित हुनेछन्।

जलविद्युत आयोजनाको प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ। आयोजनको हेडवर्क्स बाहुली गाड र सेती नेदीको दोभानबाट १ किलोमिटर तल रहेको छ। १६ मिटर अग्लो र ६७ मिटर लम्बाइको बाँध निर्माण तथा पिकिंङ जलाशयद्वारा ३ लाख ७ हजार ७ सय ६६ घनमिटर पानी जम्मा गरी उक्त पानीको ८४.६० घनमिटर प्रतिसेकेण्ड बहावलाई ग्रेभलट्रेप हुँदै बालुवा थिग्राउने पोखरीमा पुर्‍याई सफा पानीलाई १ हजार ६९ मिटर बक्स कल्भर्ट तथा ४२ सय ५१ मिटर लामो सुरुङ मार्फत सर्ज शाफ्टसम्म पठाइने छ।

आयोजनाबाट कुल वार्षिक ४ सय ८२ दशमलव ५५६ गिगावाट आवर उर्जा उत्पादन हुनेछ। आयोजनाको प्रतिमेगावाट २२ करोड ८ लाख ५० हजार लगानी रहेको छ। प्रतिफलको आम्दानी दर १२० प्रतिशत रहेको छ भने लाभ/लगात अनुपात १.२६ रहेको छ। आयोजनाको निर्माण अवधि ४.३० वर्ष र भुक्तानी अवधि ७ वर्ष सिम्पल र १५ वर्ष डिस्काउन्डेट रहेको छ। 

१६ अर्ब ४६ करोड रुपैयाँको लागतमा मध्यमेवा जलविद्युत

मध्यमेवा जलविद्युत आयोजनको लागत १६ अर्ब ४६ करोड अनुमानसहितको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक भइसकेको छ।मेवा डेभेलपर्स लिमिटेड प्रस्तावक रहेको ७३.५ मेवा क्षमताको आयोजना ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा प्रस्ताव गरिएको छ।

प्रस्तावित आयोजना पिक रन अफ रिभर प्रकृतिको रहेको छ। आयोजनाको ग्रस हेड ४७१.४७ मिटर र डिजाइन डिस्चार्च १८.७६ घनमिटर प्रतिसेकेन्ड रहेको छ। 

आयोजनामा डाइभर्जन टनेल, रिजर्भर ड्याम, स्यान्ड ट्रयाप र एप्रोच कल्भर्ट, सेटलिंग बेसिन, हेडरेस टनेल लगायतका संरचनाहरु बनेछन्।  प्रस्तावित आयोजनबाट उत्पादिन विद्युतलाई सोही आयोजनाको विद्युतगृहबाट १०.७ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँगु/ हांगपांग सब स्टेसनमा जडान हुने छ।

आयोजनाको कुल लागत आईडीसी समेत गरी १६ अर्ब ४६ करोड ७९ लाख ५५ हजार ६ सय ६४ रुपैयाँ रहेको छ। आयोजनाबाट उत्पादन हुने विजुलीको प्रतिमेगावाट लागत भने २० करोड १८ लाख ५० हजार २ सय ८७ रुपैयाँ रहेको छ। 

 ६ अर्ब २३ करोड रुपैयाँमा मध्य-चमेलिया जलविद्युत

दार्चुलामा निर्माण हुने मध्य-चमेलिया जलविद्युत आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३ सय ९० रुपैयाँ अनुमान गरिएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उक्त लागत अनुमान गरिएको हो। २८.३०४ मेगावाटको मध्य-चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशको दार्चुलाको मार्मा गाउँपालिकामा अवस्थित छ।

गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लम्बगरमा बाँध बनाई बाँध स्थलबाट ७ हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत गृहमा २८.३०४ मेगावाट जलविद्युत उत्पादनको प्रस्ताव गरिएको छ।

आयोजनाको जलधार क्षेत्र ७५९.६७ वर्ग किलोमिटर र डिजाइन बहाव २५.१७ घनमिटर प्रतिसेकेन्ड रहेको वातावरणीय रिपोर्टमा उल्लेख छ। यो आयोजना समुन्द्र सतहबाट ९ सय देखि १ हजार ५० मिटर क्षेत्रमा रहको छ। आयोजनका लागि ३६.२९६४ हेक्टर जमिन आवश्यकता पर्ने रिपोर्टमा उल्लेख छ। जसमध्ये ३३.३९ हेक्टर स्थायी रुपमा र २.९० हेक्टर अस्थायी रुपमा जमिन आवश्यक पर्ने छ।

आयोजनाअन्तर्गत २६.५० हेक्टर निजी र अपी-नाम्पा संरक्षण क्षेत्रको जग्गा ९.७९ हेक्टर पर्दछ। आयोजनाले ओगट्ने जमिनको मूल्यांकन ६ करोड ५१ लाख १७ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ। यसैगरी निजी रुख कटानको क्षतिपूर्तिमा ५ लाख १० हजार र एक सिजनको अन्नको क्षतिपूर्ति रकम ५४ लाख ६९ हजार ८ सय ७० रुपैयाँ लाग्ने रिपोर्टमा उल्लेख छ।

यसैगरी रिपोर्टमा वातावरण प्रभाव न्यूनीकरण र व्यवस्थापनका लागि ३ करोड ९४ लाख रुपैयाँ लाग्ने अनुमान उल्लेख छ। 

१० अर्ब ७५ करोड रुपैयाँको लगानीमा  नार खोला जलविद्युत

गण्डकी प्रदेशको मनाङ जिल्लामा निर्माण हुने नार खोला जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मनाङको नासोँ गाउँपालिका वडा नम्बर ९, नापमूमि गाउँपालिका वडा नम्बर २ र मनाङ निस्याङ गाउँपालिका वडा नम्बर  १ मा आयोजना रहनेछ।

प्रस्तावित नार खोला जलविद्युत आयोजना अर्ध जलाशययुक्त प्रकारको आयोजना हो। प्रस्तावित आयोजनाको नेट हेड ५२९.४६ मि. मिटर, डिजाइन डिस्चार्ज १२.८५ घन मिटर प्रति सेकेण्ड छ र जडित क्षमता ५८.९० मेगा वाट रहेको छ।

प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू अन्तर्गत ब्यारेज, इन्टेक, फिडर टनेल, सेटलिङ्ग बेसिन, हेडपण्ड, हेडरेस टनेल, अडिट टनेल, सर्ज साफ्ट, एरेसन टनेल, इन्क्लाइण्ड साफ्ट, होराईजेन्टल साफ्ट, विद्युतगृह, टेलरेस, स्वीचयार्ड र प्रसारण लाईनलगायतका संरचनाहरू पर्दछन्। जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३४१.२८ गिगावाट आवर रहेको छ।

७ अर्ब ८८ करोड रुपैयाँको लगानीमा माथिल्लो संखुवाखोला

माथिल्लो संखुवाखोला ४० मेगावाट जलविद्युत आयोजनामा ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ लागत अनुमान भएको छ। यो आयोजना संखुवासभा जिल्लोको सिलिचोङमा पर्ने छ। जलविद्युत आयोजनाको प्रस्तावक ह्याप्पी इनर्जी प्रालि रहेको छ। आयोजना रन अफ रिभर प्रकृतिको हो। यस जलविद्युत आयोजनामा प्रयोग गरीने जलस्रोत परिमाणको डिजाइन डिस्चार्ज ९.६१ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ४८४.५ मिटर रहेको छ।

यस जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन २३५.४० गिगावाट आवर (वर्षा याम- १६४.७७ गिगावाट आवर, सुख्खा याम-७०.६३ गिगावाट आवर) रहेको छ। प्रस्तावित आयोजनाका मुख्य भागहरू संखुवाखोलाको बायाँ किनारमा अवस्थित छ। यस आयोजनाको नेट हेड ५०० मिटरको छ। हेडवर्क्स, सेटलिङ बेसिन, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक टनेल, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाइन यस प्रस्तावित आयोजनाका मुख्य भागहरू हुन्।

यस आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई सोही स्थानको स्विचयार्डबाट २२० केभी प्रसारण लाइन मार्फत प्रस्तावित सितलपाटी सवस्टेशनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १९ किलोमिटर सम्मको हुनेछ।

६ अर्ब ३६ करोड  यारुखोला हाइड्रोपावर

३०.९५ मेगावाट यारुखोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागत ६ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भइसकेको छ। यो आयोजनामा प्रतिमेगावाट लागत भने २० करोड ८१ लाख अनुमान गरिएको छ।

जलविद्युत आयोजनको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नेपाल इन्भाइरोमेन्ट एण्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रालिले तयार पारेको हो। यो आयोजना गोरखाको दुर्गम क्षेत्रमा रहेको रुबी धार्चे गाउँपालिमा प्रस्ताव गरिएको छ।

अर्धजलाशयुक्त आयोजना प्रकृतिको आयोजनाको डिस्चार्ज २.७३ घनमिटर हुने रिपोर्टमा उल्लेख छ। वार्षिक ऊर्जा उत्पादन क्षमता १७७.७५७ गिगावाट रहेको छ। आयोजनाको ग्रस हेड १३३९ मिटरको हुने वातावरणीय प्रभाव रिपोर्टमा छ। रिपोर्टमा पिक वार ४ घण्टा हुने उल्लेख छ।हेडवर्क्स, वेयर, डिसेन्डर बेसिन, हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू हुने रिपोर्टमान उल्लेख छ।

१९ मेगावाट तातोपानी जलविद्युत आयोजना

हनुमान हाइड्रोपावर प्रस्तावक रहेको १९ मेगावाट तातोपानी जलविद्युत आयोजनाको लागत ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। प्रतिमेगावाट लागत भने १८ करोड २० लाख अनुमान गरिएको छ।

जलविद्युत आयोजनको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नेपाल इन्भाइरोमेन्ट एण्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रालिले तयार पारेको हो। यो आयोजना धादिङको दुर्गम क्षेत्रमा रहेको रुबी भ्यालीको वडा नम्बर ४ र ५ मा प्रस्ताव गरिएको छ।रन अफ द रिभर प्रकृतिको आयोजनाको डिस्चार्ज २.४९ घनमिटर हुने रिपोर्टमा उल्लेख छ। वार्षिक ऊर्जा उत्पादन क्षमता १२५ गिगावाट रहेको छ।

आयोजनाको नेट हेड ९३५ मिटर र ग्रस हेड ९८० मिटरको हुने वातावरणीय प्रभाव रिपोर्टमा छ। हेडवर्क्स, वेयर, डिसेन्डर बेसिन, हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाईन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू हुने रिपोर्टमान उल्लेख छ।

यस आयोजनाको वेयर समुद्री सतहबाट २ हजार ९ सय ९५ मिटरकझ उचाइमा अवस्थित हुनेछ भने टर्बाइन समुद्री सतहबाट २०६० मिटरको उचाइमा अवस्थित हुने रिपोर्टमा उल्लेख छ। हेडरेस पाइपको लम्बाइ ४९२१ मिटर र व्यास १.२ मिटर तथा पेनस्टक पाइपको लम्बाइ १८७८.९२ मिटर र व्यास करिब १.० मिटर रहेको यस आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई यस आयोजनाको स्वीचयार्डबाट करिब १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित बोरंग सबस्टेसनमा जोडिने रिपोर्टमा उल्लेख छ।

यस आयोजनाको विद्युतगृह तातोपानी खोला र हिन्दुङ्ग खोलाको संगमबाट करिब ४ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण तथा कार्यसूची प्रतिवेदन स्वीकृत हुँदा आयोजनाको क्षमता २६ मेगावाट रहेको थियो भने वातावरणीय प्रभाव मूल्यांकनका क्रममा प्राविधिक कारण आयोजनाको क्षमता १९ मेगावाटमा घटाइएको रिपोर्टमा उल्लेख छ।

अपर मर्स्याङ्दी जलविद्युत आयोजना

१०२ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत आयोजनामा साढे ३२ अर्ब रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। यो आयोजनाको लागि कम्पनीले पहिले १३८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने गरी स्वीकृत लिँदै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत तयार पारेको थियो। १३८ मेगावाट क्षमताको आयोजनको लागत भने ३२ अर्ब ९० करोड अनुमान गरेको थियो। अपर माङ्दी- १ जलविद्युत आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्ला भएर बग्ने माङ्दी नदीमा प्रस्तावित आयोजना हो।

प्रस्तावक अपर माङ्दी पावर कम्पनी प्रालिले विद्युत विकास विभागबाट २०६५ साउन १५ मा सर्वेक्षण अनुमति प्राप्त गरेपश्चात गरिएको सम्भाव्यता अध्ययनले १३८ मेगावाट क्षमता प्राप्त गर्न सकिने निक्योल गरेको थियो। सोहीअनुरुप यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्वीकृत भइसकेको थियो।

अनुमतिपत्रमा उल्लेख भए अनुरुप सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आयोजना सुरु गर्ने क्रममा प्रस्तावित आयोजनाको विद्युतगृहभन्दा तल अर्को प्रस्तावित अपर माङ्दी ए जलविद्युत आयोजनाको बाँधक्षेत्रले प्रभाव पार्ने देखिएको थियो। जसका कारण अपर माङ्दी पावर कम्पनी प्रालिले विद्युतगृहलाई पहिलेको आयोजनाको सीमाभन्दा करिब १.२ किलोमिटर माथि सार्ने निर्णय गरेको थियो।

सोही अनुरुप पुनः विस्तृत अध्ययन भएको थियो। तर, यस अध्ययनले स्थापित क्षमता १०२ मेगावाटमात्र प्राप्त गर्न सकिने निक्र्योल गरेको थियो। जसकार कारण पूरक वातावरणीय प्रभाव मूल्यांकन गरिएको कम्पनीले जनाएको छ। वन तथा वातावरण मन्त्रालयबाट २०७७ चैत १३  मा नै अध्ययन अनुमति प्राप्त भएको थियो। अपर माङ्दी १ जलविद्युत आयोजना रन अफ रिभर प्रकारको आयोजना हो। जसको संरचनाहरु माङ्दी गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्दछ भने सुक्खाक्षेत्र सोही गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाको सम्पूर्ण संरचनाहरु माङ्दी नदीको दायाँ किनारामा अवस्थित रहने छन् जसमध्ये हेडवर्क्स क्षेत्र रामबजारमा रहनेछ। विद्युतगृह सिउरुङबेसीस्थित सिउरुङखोला र मादी नदीको सङ्गमस्थलमा रहने रिपोर्टमा उल्लेख छ। आयोजनास्थल लमजुङ्गको बेसीसहरबाट खुदी, ङादी हुँदै करिब २५ किलोमिटर कच्ची मोटरबाटो पार गरेपश्चात पुग्न सकिन्छ। माङ्दी नदीमा बाँध बाँधेर उक्त पानीलाई डिसिल्टिंग बेसिनमा थिन्याएर ५१४२.२८ मिटर लामो हेडरेस सुरुङमार्फत सर्ज ट्यांकमा पुर्याई ४२६.८६ मिटर लामो पेनस्टक पाइपको सहायतामा विद्युतगृहमा झारी १०२ मेगावाट विद्युत उत्पादन गरिने रिपोर्टमा उल्लेख छ।

पानीलाई १९८ मिटर लामो टेलरेसद्वारा पुनः माङ्दी नदीमा खसालिने रिपोर्टमा उल्लेख छ। आयोजनाको निर्माण अवधि ४० महिना रहने छ र उक्त अवधिमा विद्युत उत्पादनसम्मका कार्यहरु गरिने अध्ययन रिपोर्टमा उल्लेख छ।  उत्पादित विद्युतलाई २२० केभी ट्रान्समिसन लाइनमार्फत करिब ६.५ किलोमिटर टाढा रहेको खुदी (तादी कुना) सबस्टेसनमा लगि जडान गरिने र  जसका लागि छुट्टै वातावरणीय अध्ययन गरिने रिपोर्टमा उल्लेख छ।

६ अर्ब १० करोड रुपैयाँको माथिल्लो दूध खोला जलविद्युत आयोजना 

३०.४ मेगावाटको माथिल्लो दूध खोला जलविद्युत आयोजनामा ६ अर्ब १० करोड ६१ लाख रुपैयाँ लगानी अनुमान गरिएको छ। यो आयोजना गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको छ। मनाङको नाशों गाउँपालिका ६ र ७ नम्बरमा आयोजना पर्दछ। आयोजनाको बाँध मस्‌र्याङ्दी नदी र दूध खोलाको दोभान भन्दा करिब १३ किलोमिटर उत्तर पूर्वी दिशातर्फ दूध खोलामा रहने छ। प्रस्तावित बाँध स्थल र विद्युत क्षेत्रहरुको उचाइ क्रमश २६९०.५ मिटर र २३८६ मिटर रहेको छ।

नदीको सतहबाट ३.८ मिटर अग्लो र ३० मिटर लामो बाँध मार्फत दूधखोलाको पानी नहरद्वारा नाशों गाउँपालिकामा निर्माण गाउँपालिकामा निर्माण हुने डिसेन्टमा खसालिनेछ। यो अर्धजलाशयुक्त आयोजना हो। आयोजनाको निर्माण अवधि ४ वर्ष रहेको छ। आयोजनाबाट ३३ घरधुरी प्रभावित हुनेछन्। आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरण र अभिवृद्धि गर्न १ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

लोवर अप्सुवा जलविद्युत आयोजना

५४ मेगावाट क्षमताको लोवर अप्सुवा जलविद्युत आयोजना संखुवासभामा रहेको छ। अप्सुवा पूर्वी नेपालको अरुण नदीको एउटा मुख्य सहायक खोला हो। यो आयोजना  समुन्द्री सतहबाट ४६८० मिटरको उचाइमा रहेको छ।

कुल लम्बाई खोलाको उत्पत्ति स्थानबाट आयोजना इन्टेक क्षेत्रसम्म २५.३४ किलोमिटर रहेको छ। आयोजनाको प्रस्तावक मिजु इनर्जी लिमिटेड हो।  प्रभावित क्षेत्र संखुवासभा जिल्लाको सिलिचोङ ५ र मकालु को १ र ६ नम्बर वडामा पर्दछ। बाँध ४० मिटर लम्बाई ८ मिटर उचाई  रहने छ।आयोजनाकफ हेडरेस टनेल ३४२५ मिटर र ब्यास ३ मिटर, सर्ज टयांक ३१ मिटर उचाई र ५ मिटर ब्यास र  पेनस्टक पाइप १६०० मिटर र ब्यास १.७५ मिटर रहनेछ। 

आयोजनाका लागि आवश्यक पर्ने जग्गा १५.०१२ हेक्टर निजी र २३.९८३ हेक्टर मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गरी कुल ३८.९९५ हेक्टर रहेको छ।आयोजनाको लागत ८ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ र  निर्माण अवधि ३ वर्ष रहेको छ। आयोजनाका लागि १५.०१२ हेक्टर खेतियोग जमिन प्रयोग हुनेछ।आयोजनाबाट १६० घरधुरी प्रभावित हुने छ।निकुञ्ज क्षेत्रमा ६ सय ५४ रुख हटाउनु पर्ने रहेको छ।

आयोजनाबाट जैविक वातावरणमा पर्ने प्रभाव न्यूनीकरणका लागि १ करोड ७० लाख ८२ हजार २ सय ३६ रुपैयाँ, रुख कटानी तथा वृक्षरोपणका लागि ६८ लाख ८२ हजार २ सय ३६ रुपैयाँ,वन्यजन्तु संरक्षणसँथ सम्बन्धित जनचेतना मूलक कार्यक्रमका लागि ५ लाख ८७ हजार ९ सय ७७ रुपैयाँ, जग्गा अधिग्रहणका लागि १ करोड ९२ लाख १६ हजार १ सय ४७ रुपैयाँ र वातावरणीय लगात आयोजनको कुल लागतको १.०८ प्रतिशत अर्थात ९ करोड ५८ लाख ९४ हजार ७ सय ३६ रुपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ। 

छुजु‌ङखोला जलविद्युत आयोजना 

६३ मेगावाट क्षमताको छुजु‌ङखोला जलविद्युत आयोजना संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा रहने छ। यो आयोजना पिक रन अफ र रिभर हो। आयोजनाको डिजाईन डिस्चार्ज ८.४१ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ९३८ मिटर रहेको छ।

प्रस्तावित जलविद्युत आयोजनाको वार्षिक ऊर्जा उत्पादन ३७१.८४८ गिगावाट आवर (वर्षा याम)२५५.६५ गिगावाट आवर, सुख्खा पिक इनर्जी  ४२.८५२ गिगावाट आवर, सुख्खा  अफ पिक इनर्जी ७३.३४५ गिगावाट आवर रहेको छ। डाइभर्जन वेयर, इन्टेक, फिडर टनेल, सेटलिंग बेसिन,  हेडरेस टनेल, हेडरेस पाइप, पिकिङ पोण्ड, सर्ज ट्यांक, पेनस्टक पाइप, प्रेशर साफ्ट विद्युतगृह, टेलरेस टनेल तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य अवयवहरू हुन्।

हेडरेस टनेलको लम्बाइ करिब ३३४० मिटर, हेडरेस पाइपको लम्बाइ ८४० मिटर र व्यास १.८ मिटर तथा पेनस्टक पाईपको लम्बाइ १०७० मिटर रहेको छ। यस आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई यस आयोजनाको स्वीचयार्डबाट करिब ५५ किलोमिटर लामो १३२ के.भी. प्रसारण लाईन मार्फत सितलपाटी सबस्टेसनमा जडान गरिनेछ।

आयोजनाको लागत ११ अर्ब ४३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको निर्माण अविध ४ वर्ष  र प्रतिदिन २ सय ९० जनालाई रोजगारी पाउने छन्। आयोजनाको संरचना निर्माणमा २० हेक्टर जग्गा प्रयोग हुनेछ।

होंगु खोला जलविद्युत आयोजना 

२८.९  मेगावाट होंगु खोला जलविद्युत आयोजना  सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रहने छ। यस आयोजनाको मुख्य उद्देश्य भनेको होङ्गु खोलाबाट २८.९ मेगावाट विद्युत उत्पादन गर्नु हो।

प्रस्तावित आयोजना नदीको वहावमा आधारित आयोजना हो । आयोजनाको डिजाइन जलप्रवाह ११.५१ घनमिटर प्रति सेकेन्ड छ। आयोजनाको ग्रसहेड ३१० मि., पानी लग्ने हेडरेस सुरुङ लम्बाइ २८९० मिटर, पेनस्टक पाइपको लम्बाई ६६२ मिटर, टेलरेलको लम्बाई २५ मिटरको रहेको छ।

आयोजना स्थलसम्म पुग्ने लगभग १० किलोमिटर  मोटरबाटो निर्माण गर्नेछ। आयोजनाबाट उत्पादित बिजुली ३९ किलोमिटर लामो प्रशारण लाइन मार्फत तिङ्गला सवस्टेसनमा लगेर जोडिने छ। आयोजनाको लागत ५ अर्ब ९९ करोड ७८ लाख १० हजार रुपैयाँ रहेको छ। आयोजनाको निर्माण अवधि ३ वर्ष हुनेछ। आयोजनाबाट  ३ हजार ६ सय ६४ रुख कटान हुनेछ।

दूधकोशी-६ जलविद्युत आयोजना

दूधकोशी-६ जलविद्युत आयोजनाको लागत २९अर्ब  ६१ करोड रुपैयाँ अनुमान भएको छ। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ र ३ मा आयोजना प्रस्ताव गरिएको  छ। यो रन अफ रिभर प्रकृतिको आयोजना हो। आयोजनाको ग्रस हेड ३७६ मिटर, नट हेड ३६७.५३ मिटर, डिजाइन डिस्चार्ज ५१.७५ घनमिटर प्रति सेकेन्ड र जडित क्षमता १७१ मिटरको हुने वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनको मुख्य संरचना अन्तर्गत डाइभर्सन वेयर, अन्डरस्लुइस, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज ट्यांक,पेनस्टक पाइप विद्युत गृह, टेलरस क्यानल र अडिट टनेल रहेका छन्। आयोजनको स‌ंरचना दूधकोशी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। आयोजनाबाट सुख्खा याममा २९५.४५४ गिगावाट आवर र वर्षा याममा ६८८.४८० गिगावाट आवर गरी कुल ९८३.९३४ गिगावाट आवर विद्युत उत्पादन गर्ने वातावरणीय रिपोर्टमा उल्लेख छ। आयोजना सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रमा पर्दछ।

प्रस्तावित आयोजनाको जडित क्षमता १७१ मेगावाट रहेको छ जुन ५० मेगावाट भन्दा बढी छ र आयोजनाको लागि १०.७६ हेक्टर सरकारी जग्गा (स्थायी रुपमा ७.३६ हेक्टर र अस्थायी रुपमा ३.४ हेक्टर) प्रयोग गरिने र जुन ५ हेक्टर भन्दा बढी हुने रिपोर्टमा उल्लेख छ।

आयोजना समुन्द्री सतहबाट १९३१ मिटरदेखि २३०७ मिटर सम्मको उचाईमा अवस्थित हुनेछ। यसबाट २५ घरधुरी प्रभावित हुनेछन्। आयोजनाको कार्यान्वयनले रिन्डिमा, सुर्के,  नाकचुन,  ताते, चौरिखर्क, मुसे र नाकचुनको बस्तीमा प्रभाव देखिने वातावरणीय प्रभाव रिपोर्टमा उल्लेख छ। 

दूधकोशी-६ जलविद्युत आयोजनाको माथिल्लो तटीय क्षेत्रमा १६६ मेगावाटको दूधकोशी-९ आयोजना रहेको छ भने तल्लो तटीय क्षेत्रमा ३५० मेगावाटको सुर्के दूधकोशी जलविद्युत आयोजना रहेको छ। तर यी आयोजनाहरुले दूधकोशी-६ आयोजनालाई कुनै असर नगर्ने रिपोर्मा उल्लेख छ। आयोजनाबाट निर्माण अविधका ५५० जनाले रोजगारी पाउने छन्। आयोजनका लागि कुल ११७ वटा (८९ पोल र २८ रुख)  कटनी गर्नु पर्ने छ। जुन रुख सगमाथा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रमा पर्दछ।

आयोजनाका लागि कुल ११.२ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ। जसमध्य ६.३ हेक्टर स्थायी रुपमा र ४.९ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ। जसबाट २५ घरधुरीहरु प्रभावित हुने छन्। आयोजनाले गर्दा ६.३३५ मेट्रिक टन गहुँ,  ५.६८ मेट्रिक टन मकै, १.१९ मेट्रिक टन कोदो र १७.१९ मेट्रिक टन आलुको उत्पादनमा ह्रास आउने रिपोर्टमा उल्लेख छ। निजी जग्गाबाट २४ वटा रुख काटिने छ। 

आयोजनाले वातावरणीय अनुगमनको निम्ती लाग्ने खर्च ५ करोड ५६ लाख रुपैयाँ तथा वातावरणीय परीक्षणका निम्ति लाग्ने खर्च ३ करोड ३५ लाख रुपैयाँ अनुमान गरेको छ। आयोजनाले माथिका सबै खर्च समावेश गरी वातावरणीय लागत ६१ करोड १६ लाख ३९ हजार ९४ रुपैयाँ छुटाएको छ। यो कुल लागत २९ अर्ब ६१ करोड ४१ लाख ३ हजार ८ सय ८५ रुपैयाँको २.०७ प्रतिशत हो।

images

प्रकाशित : शुक्रबार, जेठ ५ २०८००१:३५

प्रतिक्रिया दिनुहोस