बुधबार, वैशाख १२ गते २०८१    
images
images

बाँदर आतंकले रित्तिँदै गाउँ

images
images
images
बाँदर आतंकले रित्तिँदै गाउँ

बाँदर नियन्त्रणमा नगरपालिकाको सहयोग नहुँदा समस्या भएको किसानहरु बताउँछन्।

images
images

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतंकका कारण समस्यामा परेका छन्। खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ।

images
images
images

गल्याङ नगरपालिका-३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएका थिए। बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाइदिएपछि उनी चिन्तामा परेका छन्।

images

'खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ। जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो। एकजना अनिवार्य बाँदर कुर्न बस्नुपर्छ', उनले भने, 'किसानहरु पालैपाले कुर्न बस्ने गर्छौँ, नगरपालिकाले सहयोग गरे त राम्रै हुने थियो।'

images

यस्तै छर्तिमा बेमौसमी मकैखेती तथा सयपत्री फूलखेती गरेका चन्द्रबहादुर राना ‘चित्र’ को समस्या श्रेष्ठको भन्दा कम छैन। खानेबेला भएको मकैबारीमा बाँदरको हुल कहिले बल्लो र कहिले पल्लोटोडाँबाट पसेर दुःख दिएको उनको दुखेसो छ। 

images
images

'एक जना व्यक्तिले बाँदर धपाउन सकिने स्थिति छैन, दुई तीनजना नै हेरालो बस्नुपर्छ', उनले भने, 'दिनभरका टन्टलापुरे घाम नभनी बाली जोगाउन बस्नैपर्छ नभए स्याहार्न पाइँदैन।'

छेउछाउ, टोँडाटाँठडीको करिब एकसय बोट मकै बाँदरले सखाप पारेको उनले गुनासो गरे।

यस्तै गल्याङ -७, कल्लेरीका अर्का किसान तिलकुमारी रानाले बारीमा बाँदर पसेर सोत्र्यान पारेको गुनासो गरिन्। उनले चार रोपनी बारीमा लगाएको मकैको बोटमा बाँदरले क्षति पुर्‍याएको बताइन्। 'प्रमुख अन्नबाली मकै दिनहुँ बाँदरले बारीमै आएर भाँच्ने र खाने गर्दा बारी नै रित्तो भइसक्यो', उनले भनिन्, 'खेती गर्ने जाँगर हराइसक्यो, खेती गरेर बाँदरलाई हुन्छ भने अर्को वर्ष मकै छरिँदैन होला, बरु खेतबारी बाँझै रहोस्।'

बाँदर कहिले खेतमा पसेर त कहिले घरभित्रै पसेर खाद्यान्न खाइदिएपछि स्थानीयवासी झन् चिन्तित भएका छन्। गल्याङ -११, भाटीका ओम थापाले घरभित्रै बाँदर आएर मकैका झोत्ता लगिदिने गरेको बताए। 'वर्षभरी दुःखकासाथ बाँदरबाटै जोगाएका अन्नपात घरमै आएर बाँदरले लगिदिँदा मन अमिलो हुन्छ', उनले भने, 'दिउँसोमा केटाकेटी स्कुल जान्छन्, हामी बुढाबुढी मेलापात जान्छौँ, बाँदर झ्यालबाट र धुरीबाट छिरेर अन्नपात लैजान्छ।'

त्यस्तै भाटीकै सोम पल्ली र सावित्री भण्डारीको पनि थापाको भन्दा पीडा फरक छैन। पल्लीले घरमा लगाएको उखु, फलफुल, तरकारी लगायतका बालीमा बाँदरले क्षति पुर्‍याउर्ने गरेको सुनाए। 'आँगनमा सुकाएको, मकै, गहुँ, कोदोको बिस्कुनसमेत आँखा छलेर छिरलिदिन्छ', पल्लीले गुनासो पोखे, 'के गर्ने कसो गर्ने, हैरानीमा परेका छौँ, नगरपालिकाले बाँदर नियन्त्रण गर्न गरेको प्रयास सफल भएन।'

यसैगरी सावित्री भण्डारीले कौसीबाट धेरै पटक बाँदर छिरेर मकै लगिदिएको बताइन्। 'घरमा साना केटाकेटी हुँदा टेर्दैन, उनीहरुलाई तर्साएर मकै चोरेर लैजान्छ', उनले भनिन्, 'कहिलेकाहीँ घरभित्र हुँदाहुँदै पनि बाँदरले सताउँछ।'

भाटीकै पार्वती पल्ली मगरले मकै छर्नेबित्तिकै माटो खोर्सेर मकैका गेडा बाँदरले खाइदिएकाले मकै छिमलो (पातलो) उम्रिएको बताइन्। उनले भनिन्, 'केहीवर्ष पहिले वडाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याएको थियो, केही बाँदर त छोपेर चितवन राष्ट्रिय निकुञ्जतिर लगे तर अन्तका बाँदर यहाँ आएर दुःख दिए।'

गल्याङ-३, का वडाध्यक्ष कृष्ण भट्टराईले बाँदर आतंक  समस्या बढ्दै गएको बताए। उनले भने, 'गल्याङमा उर्वरभूमि भएर पनि  बाँदरका कारण किसानले खेती लगाउन छाडेका छन्। बाँदर आतंक बसाइँसराइको प्रमुख कारण बन्दै गइरहेको छ।'

मारेर र स्थायी बन्ध्याकरण गरेर बाँदर आतंक नियन्त्रण गर्न सकिने केही आधार भए पनि कानून नबन्दा झन्झट रहेको उनले बताए। उनले बाँदर आतंकको समाधान सामूहिक प्रयास भएकाले नगर कार्यपालिकाको बैठकमा आफूले ध्यानाकर्षण गराएको पनि जानकारी दिए। रासस

images

प्रकाशित : बिहीबार , जेठ ४ २०८००८:४१

प्रतिक्रिया दिनुहोस