शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

म्याग्दीको तातोपानी कुण्डमा जानेको संख्या बढ्दै, पूर्वाधार अभावले सास्ती

images
बिहीबार , जेठ ४ २०८०
images
images
म्याग्दीको तातोपानी कुण्डमा जानेको संख्या बढ्दै, पूर्वाधार अभावले सास्ती

कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ।

images
images

बेनी- चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ। म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई संकलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ। तर कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ।

images
images
images

धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन्। कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार, गत पुसदेखि यता कुण्डमा दुई सय २० जना बढीले नियमित स्नान गरी विभिन्न रोगको उपचार गराएका छन्। बगर र जेल्टुङ गाउँका स्थानीय ४० र अन्य एक सय ८० जनाले कुण्डमा पुगेर स्नान गरी उपचार गराएका हुन्। पछिल्लो समय कुण्डको प्रचारप्रसारले स्नान गरी उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ। पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जान पुलको अभावले सर्वसाधारणलाई सास्ती भएको छ। उनीहरु जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन्। 

images

कुण्डमा आवतजावत गर्न झोलुंगे पुल नहुँदा नदीमाथि अस्थायी साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका सचिव आस्मन पुर्जाले बताए। पुल निर्माणको लागि पटक पटक विभिन्न निकायमा माग पेश गरेको भए पनि सुनुवाइ नभएको उनको गुनासो छ। 

images

'पर्यटकको आकर्षणको रुपमा रहेको तातोपानीमा सहजरुपमा आवतजावत गर्ने सुविधा छैन, नियमितरुपमा उपचारका लागि स्नान गर्न आउने बिरामीलाई समेत बसोबासको लागि पूर्वाधार बन्न सकेको छैन', पुर्जाले भने।

केही वर्षअघि धौलागिरि गाउँपालिकाले पर्यटक र बिरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थल भवनको पूर्वाधारसमेत पहिरोले क्षति पुर्‍याएपछि अहिले यस कुण्डमा नियमितरुपमा स्नान गर्ने त्रिपाल टाँगेर बस्ने गरेका छन्। यस कुण्डमा लामो समय स्नान गर्नेबाट प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क लिने गरिएको छ। उक्त रकमलाई कुण्डको वारपार गर्न हरेक वर्ष साँघु निर्माण गर्नेलगायतका कार्यमा परिचालन गरिँदै आएको छ।

यस कुण्डमा रोग निको हुने विश्वासले मुदी, मुना, ताकम, मराङ, देवीस्थानलगायतका गाउँबाट सर्वसाधरण स्नान गर्न पुग्ने गर्दछन्। सुविधाजनक पूर्वाधार नहुँदासमेत उपचारका लागि आउनेको संख्या बढेपछि यहाँका स्थानीयले पूर्वाधार निर्माणमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्। गाउँपालिका र अन्य निकायमा पटक पटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा जानकारी गराए पनि उचित सम्बोधन नभएको स्थानीयवासीको गुनासो छ।

मुदीगाउँदेखि एकदिनको पैदल यात्रापछि यहाँपुग्न सकिन्छ। कहालीलाग्दो भिरपहरामा खोपेर निर्माण गरिएको पदमार्ग हुँदै भीरपाखा, खोला, झरना र विभिन्न वन्यजन्तुको अवलोकन गर्दै अन्तिम मानबबस्ती बगर पुग्न सकिन्छ। बगर गाउँदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ। धौलागिरि हिमाल आरोहण गर्ने पर्यटकले तातोपानीमा डुबुल्की मारेर थकान मेटाउने गर्दछन्। कुण्डसँगै रहेको सुन्दर झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ।

म्याग्दीमा बेनी नगरपालिका-४ सिंगा तातोपानी, धौलागिरि गाउँपालिका-१ गुर्जा तातोपानी, धौलागिरि-४ मुदी बगर तातोपानी, अन्नपूर्ण गाउँपालिका-१ दोवा तातोपानी, अन्नपूर्ण-२ भुरुङ तातोपानी, अन्नपूर्ण-५ पाउद्वार तातोपानी र अन्नपूर्ण-६ रातोपानीमा प्राकृतिक तातोपानीका मूल छन्। दर्जन बढी स्थानमा तातोपानीका मूल रहे पनि अहिले आठ ठाउँमा व्यवस्थित तातोपानीका कुण्ड बनाएर विभिन्न रोगको उपचार र पर्यटकको थकान मेटाउने कुण्ड सञ्चालनमा छन्। 


प्रकाशित : बिहीबार , जेठ ४ २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend