मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

घट्दो ट्रेण्डमा गएको सेयर बजार किन थामियो?

नीति तथा कार्यक्रम र बजेट कुर्दै लगानीकर्ता

बिहीबार , जेठ ४ २०८०
घट्दो ट्रेण्डमा गएको सेयर बजार किन थामियो?

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आउँदै छ भने सरकारले नीति तथा कार्यक्रम शुक्रबार संसदमा पेश गर्दैछ। नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक विषय आउने आशामा लगानीकर्ता पनि थामिएका छन्। 

जसका कारण सेयर बजार पछिल्लो तीन दिनदेखि सुधारमा छ। यता ब्याजदरसमेत घट्दो ट्रेण्डमा देखिएको छ। सोहीकारण पनि बजार सकारात्मक बन्ने तरखरमा देखिएको छ। सेयर बजारको खास प्रभाव मौद्रिक नीतिपछि पर्ने भएपनि लगानीकर्ताहरू बजेटमा समेत केही नीतिगत सुधार आउनेमा आशावादी हुँदा केही सकारात्मक देखिएको बिश्लेषण गरिएको छ। 

यो साताको पहिलो र दोस्रो कारोबारमा ओरालो लागेर मंगलबार ३.२९ अंकले बढेको बजारमा बुधबार पनि सुधार देखिएको हो। सोमबार र मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ।

बुधबार २३.३९ अंकले बढेर बजार १८४५.०१ बिन्दुमा पुगेको छ। १८७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८५ करोड ७६ लाख २४ हजार रूपैयाँको कारोबार भएको छ। २५ कम्पनीको सेयर मूल्य घटेको बजारमा ७ कम्पनीको भने स्थिर रह्यो। 

आइतबार १६.६९ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको बजारमा ९० करोड रूपैयाँको कारोबार भएको थियो भने सोमबार ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा झरेको बजारमा ७२ करोड ४९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको थियो।

मंगलबार सामान्य वृद्धि देखिएको बजार बुधबार दोहोरो अंकले बढेको हो। मंगलबार ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा पुगेको बजारमा ६४ करोड ११ लाख रूपैयाँको कारोबार भएको थियो।

लगानीकर्ताको विश्वास गुमाएको पुँजी बजार पछिल्लो समय लगातार कमजोर स्थितिमा देखिएको छ। सेयर बजारबाट एक वर्षमा ६ खर्ब भन्दा धेरै गुमाइसक्दा लगानीकर्ताले विश्वस्त हुने आधार भेटिरहेका छैनन्।

अर्थमन्त्री प्रकाशशरण महत बजार सुधारका लागि छलफलमा लागे पनि यसको प्रभाव बजारमा पर्न सकेको देखिँदैन। बैंक तथा वित्तीय संस्थाहरूले जेठमा पुरानै ब्याजदरलाई निरन्तरता दिएर सार्वजनिक गरेका छन्। जेठ १ गतेबाट लागु हुने ब्याजदरमा पुरानै दरलाई निरन्तरता दिएका हुन्। नेपाल बैंकर्स संघले पनि जेठ महिनामा बचतको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको थियो। 

वाणिज्य बैंकहरूले साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत राखेका छन्। बचतको ब्याजदर ५.४ देखि ७ प्रतिशतसम्म कायम गरेका छन्। केही बैंकले बचतको सबै ब्याजदर ७ प्रतिशत पनि कायम गरेका छन्।

नेपाल राष्ट्र बैंकको नियमअनुसार वैशाख मसान्तका दिन बैंक तथा वित्तीय संस्थाहरूले जेठको ब्याजदर प्रकाशित गरेका हुन्। नेपाल राष्ट्र बैंकले बैंक दर १ प्रतिशत बिन्दुले घटाएर साढे ७ प्रतिशतमा झारेको छ। शुक्रबार जारी मौद्रिक समीक्षाले बैंक दर घटाउने घोषणा गरेको हो। यसले बैंकहरूलाई ब्याज कम गर्न संकेत गर्छ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित गर्न बैंकहरूले ब्याजदर बढाएका थिए। गत माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झारिएको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।


प्रकाशित : बिहीबार , जेठ ४ २०८००४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend