बुधबार, वैशाख १२ गते २०८१    
images
images

भारतीय तरकारीमा निर्भर नरैनापुरलाई आत्मनिर्भर बनाउँदै किसान आलिफ

images
images
images
भारतीय तरकारीमा निर्भर नरैनापुरलाई आत्मनिर्भर बनाउँदै किसान आलिफ

आलिफले आफ्नै घर छेउको १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्छन्।

images
images

जानकी- बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर थिए।

images
images
images

भारतबाट तरकारी नआउँदा उनको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे। उनको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए।

images

यहाँका सर्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे। नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीयहरू तरकारी बेच्न नरैनापुरका गाउँ-गाउँ पुग्थे। तर अहिले दिन र समय दुवै फेरिएको छ।

images

हिजोआज आलिफ हरेक छाक हरियो तरकारीसँग भात खाने गर्छन्। उनले आफूमात्र नभई नरैनापुरका अधिकांश सर्वसाधारणलाई हरियो तरकारी खुवाएका छन्। 'पहिले ढिके नुनसँग भात खाइन्थ्यो, तर अहिले तरकारी भएन भने भात-रोटी घाँटीबाटै छिर्दैन', उनले भने।

images
images

आलिफले आफ्नै घर छेउको १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्छन्। पहिला बसिबियाँलो गरेर दिन बिताउने आलिफलाई हिजोआज बिहान-बेलुका तरकारी बारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ। तरकारी बारीको काम श्रीमतीलाई जिम्मा दिएर उनी दिउँसोको समयमा तरकारी बिक्री आफ्नै गाउँ र छिमेकी गाउँसम्म डुल्छन् पनि।

'दिउँसोको समयमा म घरबाट १५ किलोमिटर टाढासम्म तरकारी बिक्री गर्न पुग्छु', उनले भने, 'त्यो समय म श्रीमतीलाई बारीको हेरचाह गर्नुु भनेर ढुक्क हुँदै तरकारी बिक्री गर्न जान्छु।'

आलिफ अली नरैनापुरमा व्यावसायिक तरकारी खेती गर्ने पहिलो र एक्ला किसान हुन्।

उमेरले ६० पार गरेका आलिफ निकै फुर्तिला छन्। उमेर छिप्पिए पनि काममा युवाभन्दा कम छैनन् उनी। आफूले उत्पादन गरेको आफ्नो बारीको तरकारीलाई उनले आफ्नो बालबच्चालाई जस्तै माया गरेर हरेक साँझ बिहान हुर्काउँछन्। राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्न उनले बिर्सँदैनन्।

रोगब्याधी लाग्न नदिन समय-समयमा औषधि छर्किन्छन्। कसैलाई नअह्राएर आफैले गोडमेल गरेर झार उखेल्छन्। तरकारीमा कुनै समस्या आउन नदिन उनी दिनरात आफै खेतबारीमा धाउँछन्।

'बारी छाडेर मलाई कहीँकतै जान मन लाग्दैन। चराले आफ्ना बच्चालाई काखीमा च्यापेर बसेजस्तै मलाई पनि तरकारी बारीमा बसिरहन मन लाग्छ। एक दिन बारी छाड्दा नमज्जा लाग्छ', उनले भने।

पहिले उनले धान खेतीमात्र गर्थे। राप्ती नदीमा आएको बाढीले एक-एक गरी सबै जमिन बगर बनाएपछि अरुजस्तै आलिफ र उनको परिवार पनि बेघरबार भएका थिए। नदीसँग जुध्न नसकेपछि उनी आफ्ना लालावाला लिएर जंगल छेउ (नयाँबस्ती) पुगे। नयाँ बस्तीमा उनले जंगल फाँडेर १० कठ्ठा जमिन बनाए। अहिले सोही जमिनमा आलिफले तरकारी खेती गर्दै आइरहेका छन्।

पुर्ख्यौली जमिन नदीले बगर बनाएपछि निराश भएका आलिफले जंगल फाँडेर बनाएको जमिनमा उत्पादन भएको अन्नपातले सात जनाको परिवार पाल्न मुस्किल परिरहेको थियो। उनले मजदुरीका लागि भारत या नेपालगञ्ज जाने निर्णय परिवारलाई गरे तर उनका परिवारले मजदुरीका लागि बाहिर नजान सुझाव दिएपछि उनले आफ्नै बारीमा तरकारी खेती गर्ने योजना बनाए र अघि बढे।

उनले पहिलो वर्ष बन्दागोभी र टमाटर लगाए। तर उनले उत्पादन गरेको तरकारीभन्दा भारतीय तरकारी सस्तो भएकाले बिक्री भएन। बन्दागोभी र टमाटर सडेर खेर गयो। ‘बन्दागोभी बिक्री नभएर धेरै घाटा लाग्यो। त्यसपछि लगाउन छाडेँ', उनले भने। यो समयमा उनको बारीमा तीन किलोग्रामका काउली छन्।

उनले अहिलेसम्म १० क्विन्टल काउली बिक्री गरिसकेका छन्। टमाटर फलेर पाक्ने तरखरमा छ। एकथरिको काउली बिक्री भइरहेको छ। अर्कोथरि काउली तयार हुँदैछ। 'एकैपटक धेरै उत्पादन गर्दा बिक्री गर्न सकिँदैन। अलिअलि गरी रोप्दा बिक्री गर्न सजिलो हुन्छ। ग्राहकले सधैँभरि तरकारी पनि पाइरहन्छन्', आलिफले भने।

उनको परिवार यही तरकारी खेतीबाट पालिएको छ। दुई छोरालाई कक्षा ८ सम्म पढाएका आलिफले दुई छोरीको विवाह पनि तरकारी खेतीबाट भएको आम्दानीले गरिदिएको बताए। 'अरु आउने स्रोत केही छैन। घरको सबै खर्च यही तरकारी खेतीबाट भएको आम्दानीले चलाउँदै आएका छौँ', उनले भने।

उनले तरकारी पैसाले बेच्दैनन्। धान, गहुँ, मसुरी, तोरीसँग साट्छन्। गाउँघरमा पैसा नहुने भएकाले अन्नबालीले तरकारी किन्ने गरेको उनले बताए। धान, गहुँको मूल्यको आधारमा तरकारी दिने गरेको उनले बताए। 'पैसाभन्दा अन्नसँग तरकारी साट्न सजिलो मान्छन्', उनले भने, 'तरकारी बेचेर जम्मा भएको अन्न घरमै आएर व्यापारीले लैजान्छन्।'

उनले तरकारी बारीमा आफ्नो गोठबाट निस्केको प्रयोग गर्ने गरेको बताए। यदि आफ्नो गोठको मल नपुगेको खण्डमा गाउँबाट कम्पोष्ट मल किनेर प्रयोग बारीमा हाल्न गरेको आलिफले बताए। रासायनिक मल र विषादी प्रयोग भएको तरकारीले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाएपछि कम्पोष्ट मलमा जोड दिएको उनले बताए। 'युरिया, डिएपी र पोटास कहिलेकाहीँमात्र हाल्छौँ। विषादी नछर्की नहुने भएपछि मात्र छर्किन्छौँ', उनले भने।

आलिफले आफ्नै बारीमा तरकारी उत्पादन गरेपछि भारतीय तरकारीको भर पर्ने अवस्थाको अन्त्य भएको नरैनापुर गाउँपालिका-५ का अगुवा विनय दीक्षितले बताए। दीक्षितले भारतीय तरकारीभन्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी ताजा र मीठो भएको पनि बताए।

'आलिफले उत्पादन गरेको तरकारीमा रासायनिक मल र विषादी एकदमै कम प्रयोग भएको देखेपछि यहाँका अधिकांशले उहाँले उत्पादन गरेको तरकारी खान थालेका छौँ', दीक्षितले भने, 'यहाँको तरकारी ताजा र अर्गानिक भएकाले मीठोमात्र नभएर स्वास्थ्यका लागि लाभदायक हुन्छ।'

तरकारी बेच्नका लागि सानो गाडी किन्ने जुगाडमा छन् आलिफ। तरकारीबाट भएको आम्दानीले घर खर्च चलाउन ठिक्क भएको हुनाले अनुदानमा गाडी पाइन्छ कि भन्ने पर्खाइमा छन् उनी। तर अनुदान दिने सरकारी कार्यालयका कर्मचारीसम्म जाने पहुँच उनीसँग छैन। न त अनुदानका लागि खुल्ने सूचना नै थाहा पाउँछन् उनले।

'तरकारी बिक्री गर्ने गाडी भइदिएको भए नरैनापुरमा भारतीय तरकारी आउन बन्द गराइदिन्थेँ', उनले भने, 'गाउँ-गाउँमा पुगेर यहाँका सर्वसाधारणलाई ताजा र अर्गानिक तरकारी खुवाउँथेँ।'

नरैनापुर गाउँपालिका कृषि शाखाले आलिफलाई आवश्यक आर्थिक एवं प्राविधिक सहयोग गर्ने शाखा प्रमुख सदन भण्डारीले बताए। कृषकको मागबमोजिम सहयोग गर्दै आएको बताउँदै उनले सहयोग माग गरे सहयोग गर्न सकिने स्पष्ट पारे। 'तरकारी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष नीति लिएको छ। माग भए सहयोग गर्न सकिन्छ', उनले भने। रासस

images

प्रकाशित : बुधबार, जेठ ३ २०८००८:४४

प्रतिक्रिया दिनुहोस