शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १५ २०७८
१ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो।

बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ बराबरको र ३६४ दिन अवधिको १ अर्ब ५६ करोड रुपैयाँको गरी कूल १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो। बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी  २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक ८ मा बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।
 
के हो ट्रेजरी बिल?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी  ऋणपत्र हो।  

बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख रुपैयाँ मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो। बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ। 

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन्। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ। रासस


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend