बिहीबार , असोज ३ गते २०८१    
images
images

विद्युतीय रिक्सा चलाएर जिविकोपार्जन

images
आइतबार, वैशाख ३१ २०८०
images
images
विद्युतीय रिक्सा चलाएर जिविकोपार्जन
फाइल तस्बिर

धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ। बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन्।

images
images

सुदूरपश्चिम- बैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए।

images
images
images

अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कमाइ गर्नुपरेको दुखेसो सुनाए। 'दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ', उनले भने, 'छोराको विवाह गर्दा लागेको पाँच लाख रूपैयाँ ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो।'

धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ। उनले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन्। यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गरेका उनले युवा अवस्थामा भारतमा मजदुरीको काम गरेका थिए। 'अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ', उपाध्यायले थपे, 'कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ।'

अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताए। 'विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन', उनले भने, 'आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो।'

images

एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गरेका पुजाराका पाँच छोरा सबैले स्वरोजगार छन्। आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उनले भने, 'आफू कुनै समयमा महिनामा एक लाखसम्म कमाउँथेँ।' अहिले दिनमा पाँच सयदेखि सात सयसम्म कमाइ हुने गरेको उनको भनाइ थियो।

धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ। बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन्। घरायसी काममा मात्रै सीमित रहनुभन्दा रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताइन्। उनले भनिन्, 'घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ।'

यहाँ महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने बताइन्। 'यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्', उनले भनिन्। विद्युतीय रिक्सा चलाएर उनले दैनिक सात/आठ सयसम्म कमाइ गरिरहेकी छिन्।

पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन्। स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भने, 'रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ।'

विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ। एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ। पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ। यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको संख्या पनि बढ्दै गएको छ।

छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो। विद्युत्‌बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ। विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ।

यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ। सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो। धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन्। विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend