बिहीबार , असोज ३ गते २०८१    
images
images

तरबुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी  

images
आइतबार, वैशाख ३१ २०८०
images
images
तरबुजा बिक्रीबाट जीविकोपर्जन गर्दै वाणीवासी  

दैनिक एक हजारदेखि दुई हजार रूपैयाँसम्मको बिक्री हुने गरेको व्यापारीहरु बताउँछन्।

images
images

बेदकोट- महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स-साना छाप्रा। अघिल्तिर भरिभराउ तरबुजा। किनमेल गर्नेको त्यस्तै भीडभाड। झट्ट हेर्दा राजमार्गमा ‘तरबुजा मेला’ लागेजस्तै देखिन्छ।

images
images
images

शुक्लाफाँटा नगरपालिका-११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ। तरबुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन्। घाम छल्न त्रिपाल टाँगिएको छ। त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन्। कोही तरबुजा तौलिनमा व्यस्त देखिन्छन्। तरबुजाको मोलमोलाइ पनि चलिरहेकै छ।

यही भीडमा तरबुजा बिक्री गरिरहेको भेटिए, कृष्णपुर नगरपालिका-२ वाणीका जगदेव राना। उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा तरबुजा खेती गरिएको छ। 'यो सिजनमा एक साता भयो तरबुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म १५ हजार रूपैयाँको बिक्री गरेँ', उनले भने, 'दैनिक एक हजारदेखि दुई हजार रूपैयाँसम्मको बिक्री हुन्छ।'

जगदेवको परिवार नै बगरमा तरबुजा खेती गर्नमा खटिने गरेका छन्। बंककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर तरबुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो। अनडैया भन्ने ठाउँमा बस्ने उनी आरक्ष विस्तारका क्रममा विस्थापित भएका थिए। अनडैयाबाट विस्थापित भएपछि उनीसँग खेतीपातीका लागि जमिन थिएन। त्यसपछि बगरमा तरबुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उनले बताए।

images

'कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ', उनले भने, 'खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा तरबुजा खेती गरेर जीवन धानेका छौँ।'

वनहरा पुल क्षेत्रमा तरबुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन्। अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी तरबुजा बेचेर घर खर्च चलाइरहेका छन्।

गत चैत अन्तिम सातादेखि जेठसम्म तरबुजा बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ। बंककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट तरबुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्छन्।

'सुरुमा घरमै खानलाई मात्रै तरबुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात-आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु', उनले भने, 'बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ।'

उनका अनुसार प्रत्येक वर्षमा तरबुजा बिक्री गरेर ३० हजारदेखि ४० हजार रूपैयाँसम्म बचत हुने गरेको छ। 'छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै तरबुजा बेचेर आएको पैसाबाट हुन्छ', मानबहादुरले भने, '३० हजारदेखि ४० हजार रूपैयाँसम्म लगानी लाग्छ।'

मानबहादुरको परिवारका ६ सदस्य नै खेतीमा जुट्ने गरेका छन्। माघदेखि बगरमा तरबुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि तरबुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ। तरबुजा प्रतिकेजी २५ देखि ४० रूपैयाँसम्म बिक्री गर्ने गरिएको छ। बेला-बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताए। 'गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन', उनले भने, 'बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ।' रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend