फुङ्लिङ- वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ। यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो। तर अलैँचीको बोट सुकेर राताम्य भएका छन्। ढलिरहेका छन्।
अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन्। त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ। यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका-६ सिद्धिडाँडाको हो।
बैशाख-जेठ महिनामा फूल फुल्नुपर्ने अलैँची अहिले बोट सुकेर सोत्तरजस्तै भएको छ। कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेसँगै किसान चिन्तित बन्दै गएका छन्। लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो। खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन। यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन। वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ।
हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका-६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङले बताए। गुरुङले भने, 'मैले ४० वर्षदेखि अलैँची खेती गर्दै आएको छु। विगतका वर्षमा ४० मन (४० केजीको एक मन) सम्म अलैँची जम्मा गरेँ तर विस्तारै अलैँची रोग र समयमा पानी नपर्दा सुक्न थालेको छ। बोट नै सुक्न थालेपछि फलको के आशा गर्नु र।' आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बन्न बुगेको सोही गाउँका वीरबहादुर फेम्बूले बताए।
विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्थ्यो। तर यस वर्ष भने खासै हिमपात भएन। हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीका स्रोत पनि कम हुँदै गएको फक्ताङलुङ गाउँपालिका-५ का पार्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजु हेल्लोकले बताए। उनले भने, 'खासै यसपालि हिमालमा हिउँ परेन। पर्याप्त वर्षा पनि भएको छैन। अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ।'
सिरिजंघा गाउँपालिका-६ माङ्माखेका किसान रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ। गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो। अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने माबोको भनाइ छ। 'यतिबेला पालो गरी-गरी बोट भिजाउनुपर्ने हो', उनले भने, 'खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ।'
साउनदेखि मंसिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ। सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन्। जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ। 'पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्', मेरिङदेन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने, 'केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मेसिन) बाट सिँचाइ गरिरहेका छन्।'
गत वर्ष माघभरिमा चारपटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो। यस वर्ष चैतमा केही वर्षासँगै आएको असिनाले अलैँचीको पात धुजाधुजा बनाएको छ। चैतमा केही समय वर्षा भए पनि त्यसयता वर्षा हुन नसकेकाले अलैँची सुक्न थालेको किसानको भनाइ छ।
यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा असर परेको किसानको दुःखेसो छ। वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्याउँछ। यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ। पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ। जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहत हुने किनानको भनाइ छ। हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन्। अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ।
एक नगरपालिकासहित नौ स्थानीय तह ताप्लेजुङमा ६१ वडा रहेको छ। फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला बाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन्। जिल्लाको मुख्य आम्दानी स्रोत भनेकै अलैँची हो भन्दा फरक पर्दैन। कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ। जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ। गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ।
विगतमा एक मन (४० केजी) को एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो। अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३४ हजार रूपैयाँमा खरिद बिक्री भइरहेको फुङ्लिङ नगरपालिका-५ का अलैँची व्यापारी दिनेश अधिकारीले बताए।
छ अर्ब ३५ करोडको निर्यात
चालु आवको नौ महिनामा नेपालबाट छ अर्ब ३५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ। भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत वर्षको तुलनामा दोबर बढी रकमको अलैँची निर्यात भएको हो।
गत वर्ष सोही अवधिमा तीन अर्ब ८५ करोड रूपैयाँको अलैँची निर्यात भएको थियो। चालु आवमा आठ अर्ब बराबरको अलैँची निर्यात हुने अनुमान गरिएको अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए। अठहत्तर लाख ७१ हजार किलो अलैँची भारत, पाकिस्तान, जर्मनी र इटलीमा निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। रासस