काठमाडौं- विद्युतीय कारप्रति उपभोक्ताको खरिद मुड बढ्दै भएकाले सवारी उत्पादन कम्पनीहरुले विद्युतीय कार उत्पादनलाई प्राथमिता दिँदै गएका छन्। विद्युतीय कारको नयाँ प्लेटफर्म तयार गर्न समय लाग्ने भएकाले परम्परायत कार उत्पादकहरुले आईसी इन्जिनमा राम्रो बजार लिएका कार मोडललाई नै धमाधम विद्युतीय बनाएर ल्याउने घोाषणा गरिरहेका छन्।
टाटा मोटर्सले आईसी इन्जिनमा लोकप्रिय बनेको नेक्सनलाई विद्युतीयमा परिणत गरेर त्यसले आफ्नो उपस्थि बलियो बनाइसकेको छ। नेक्सन ईभीपछि टाटा मोटर्सले भारतमा टिगोर र टियागो कारलाई विद्युतीय बनाएर बिक्री गरिरहेको छ। टाटाको नेक्सन ईभी, नेक्सन ईभी म्याक्स तथा टिगोर ईभी नेपाली बजारमा समेत बिक्री भइरहेका छन्।
टाटा मोटर्सले मात्र होइन अन्य सवारी उत्वादकहरु हुन्डाई, किया, महिन्द्रालगायतले पनि भारतमा चलेका कार मोडललाई विद्युतीय भर्सनमा उत्पादन गरेर ल्याउने तयारी गरिरहेका छन्। कम्पनीहरुले आईसी इन्जिनमा बिक्री भइरहेका चल्तीका कारलाई विद्युतीयमा बनाएर ल्याउन लागेका ६ मोडलबारे यहाँ उल्लेख गरिएको छ। यी विद्युतीय कारहरु सक्दो छिटो भारतीय बाजरमा सार्वजनिक हुने अनुमान गरिएको छ। भारतमा सार्वजनिक गएपछि यी सबै कार नेपाली बजारमा समेत आउनेछन्।
टाटा पन्च ईभी
पछिल्लो समय राम्रो संख्यामा बिक्री भइरहेको टाटाको पन्च कार भारतमा छिट्टै सीएनजी भर्सनमा पनि आउँदैछ। यसका साथै टाटाले पन्चलाई विद्युतीय भर्सनमा समेत ल्याउने घोषणा गरिसकेको छ। पन्च ईभी अल्फा प्लेटफर्ममा बन्नेछ।
टाटा मोटर्सले पन्च ईभी यही वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ। बाह्य संरचना समान रहने पन्च ईभीमा विशेषताहरु भने थप भएर आउनेछ। पन्च ईभी ३० किलोबवाट आवरको ब्याट्री र ३ सय किलोमिटरभन्दा बढी रेन्जमा आउने अनुमान गरिएको छ।
हुन्डाई क्रेटा ईभी
भारतीय बजारमा मात्र नभइ नेपालमा समेत चर्चित एसयूभी कार हो हुन्डाई क्रेटा। हुन्डाई क्रेटा पनि पूर्ण विद्युतीय प्लेटफर्ममा आउने तय भएको छ। भारतीय सडकमा हुन्डाई क्रेटा ईभी परीक्षणका क्रममा पटक पटक देखिएको थियो। क्रेटा ईभी २०२५ मा भारतमा सार्वजनिक हुने अनुमान गरिएको छ। परीक्षणका क्रममा क्रेटा ईभी रेगुलर क्रेटा जस्तै देखिएपनि सार्वजनिक हुने बेलासम्म केही परिवर्तन हुनसक्छ।
क्रेटा ईभीमा कोनामै प्रयोग भएको ३९.३ किलोवाट आवरको ब्याट्री प्रयोग हुने अनुमान गरिएको छ। त्यस्तै क्रेटा ईभी एक पटकको फल चार्जमा करिब ४ सय किलोमिटर रेन्ज दिनेगरि आउने छ।
महिन्द्रा एक्सयूभी ७००
महिन्द्राले २०२२ अगस्टमा भारतीय बजारमा सार्वजनिक गरेको एक्सयूभी ७०० को पनि विद्युतीय भसर्न आउने भएको छ। यो एसयूभी केही महिनाअघिमात्र नेपाली बाजरमा समेत सार्वजनिक भइसकेको छ।
महिन्द्राले अल ह्वील ड्राइभ अप्सनमा एक्सयूभी ७०० मै आधारित रहेको विद्युतीय कार २०२४ डिसेम्बरमा सार्वजनिक गर्ने बताएको छ। ८० किलोवाट आवर ब्याट्री क्षमतामा आउने यो कारले २३० देखि ३५० बीएचपीसम्म पावर जेनेरेछ गर्ने अनुमान गरिएको छ।
किया कारन्स ईभी
कोरियाली कार उत्पादक कम्पनी कियाले भारतमा अघिल्लो वर्ष सार्वजनिक गरेको एमपीभी कारन्सको विद्युतीय भर्सन ल्याउने भएको छ। कियाले कारन्स ईभी कोरियामा परीक्षण गरिरहेको छ।
हुन्डाई क्रेटा र किया कारन्सको पावरट्रेन सेयर भएको हुनसक्ने अनुमानहरु पनि भइरहेको छ। किया कारन्स ईभी भारतीय बजारमा भने २०२५ मा सार्वजनिक हुने अनुमान गरिएको छ।
टाटा सफारी र ह्यारियर ईभी
टाटा मोटर्सले विद्युतीय सवारीको पोर्टफोलियो बढाउँदै लगिरहेको छ। टाटाले ह्यारियर र सफारी एसयूभीको पनि विद्युतीय भर्सन ल्याउँदै छ। गएको जनवरीमा भएको अटो एक्सपो २०२३ मा टाटाले ह्यारियरको विद्युतीय भर्सन शोकेस गरेको थियो।
टाटाले ह्यारियर ईभी २०२४ को अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। अहिले टाटाले परीक्षणलगायत कार तीव्र गतिमा गरिरहेको छ। ह्यारियरसँगै टाटाले सफारी ईभी पनि सार्वजनिक गर्ने योजना बनाएको छ। समान पावरट्रेनमा आउने यी दुई विद्युतीय कार टाटा मोटर्सको जेन टू सिग्मा ईभी आर्किटेक्चरमा उत्पादन हुनेछ।
टाटा ह्यारियर र सफारी ईभी अल ह्वील ड्राइभ अप्सनमा आउनेछ। यी दुवै विद्युतीय एसयूभीमा ६० किलोवाट आवरको ब्याट्री र एक पटकको फुल चार्जमा ४ सयदेखि ५ सय किलोमिटर रेन्जमा आउनेछ।