काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू सम्मिलित हुने कार्यक्रममा सहभागी हुनका लागि आकस्मिक रुपमा एकदिनका लागि पोखरामा प्याराग्लाइडिङ बन्द हुने भएको छ।
कात्तिक १५ गते पोखरामा आयोजना हुने एउटा कार्यक्रममा सहभागी हुन भन्दै नेपाल हवाइ खेलकुद संस्थाले भोलि सोमबारका लागि प्याराग्लाइडिङ सेवा बन्द गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको प्याराग्लाइडिङ्ग व्यवसायमा पर्नसक्ने असर, चुनौति र यसको समस्या समाधान एवं सम्भावना विषयक कार्यक्रममा सहभागी हुन भन्दै संस्थाले सेवा बन्द गर्ने निर्णय गरेको हो।
यो कार्यक्रममा काठमाडौंबाट प्राधिकरणका महानिर्देशक, एयर ट्राफिक कन्ट्रोलर लगायतका अधिकारीहरू जाँदैछन्।
१२ घण्टा सेवा बन्दको जानकारी गराउँदा पर्यटक मर्कमा परेको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन्।