बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एकवर्षमा दोस्रो बजारबाट लगानीकर्ताले गुमाए ६ खर्ब १३ अर्ब

बिहीबार , वैशाख २८ २०८०
एकवर्षमा दोस्रो बजारबाट लगानीकर्ताले गुमाए ६ खर्ब १३ अर्ब

काठमाडौ- पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ। बुधबारको कारोबारमा पनि २.४३ अंकले घटेर १८४१ बिन्दुमा आइपुगेको छ। लगानीकर्ताले एकवर्षमा ६ खर्ब १३ अर्ब रुपैयाँ गुमाएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ चैत मसान्तदेखि २०७९ चैत मसान्तसम्म ४ सय ८१ अंकले गिरावट आएको सेयर बजार अझै घट्ने क्रम जारी छ। गत वर्षको चैतमा २४१५.२५ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ।

यता बजार पुँजीकरण घटेर २८ खर्ब १३ अर्ब ५५ करोडमा आइपुगेको छ। गतवर्षको चैत मसान्तसम्म बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यो पुँजीकरण एकवर्षमा ६ खर्ब १३ खर्बले घटेको हो। 

२०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। भने ६९ जलविद्युतकम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। 

२०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ।

त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ। नेप्सेमा  २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब ९ अर्ब २७ करोड रहेको छ। 

आर्थिक वर्ष २०७९/८० को ९ महिनामा १ खर्ब ६५ अर्ब ५६ करोड बराबरको साधारण सेयर, ३५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३१ अर्ब ८४ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ११ करोड बराबरको हकप्रद सेयरगरी कुल २ खर्ब ७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब २० करोड बराबरको डिबेन्चर, १२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ५ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी ३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend