पर्वत- स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
पर्वतको मोदी गाउँपालिका-२, देउपुरका ३८ वर्षीय युवा वेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन्। तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गाई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गरेका छन्।
२०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गरेका उनको फर्ममा यतिबेला २२ उन्नत गाई छन्। अहिले दैनिक बिहान-बेलुकी गरेर एकसय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उनले बताए।
विज्ञान विषयमा स्नातक गरेका उनले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन सुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ। पोखरामा व्यापार-व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनी पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किएका हुन्। उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो।
गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उनी गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बने। सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत बेच्न थालेका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कूलमा पढाउने र बिहान-बेलुका गाईको स्याहारसुसार गर्न थाले। उनी आफै दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न थाले। शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे।
लथालिंग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन संघर्ष गर्नु परेको उनले बताए। नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँ बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उनले बताए।
तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन्। पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार-व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी वृद्ध आमाको ओठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ। आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन्।
उनको फार्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाई रहेका छन्। दूध बिक्रीबाटै खर्च कटाएर मासिक दुई लाख रूपैयाँ बचत गर्ने गरेको तिमिल्सिनाले बताए।
'अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु', तिमिल्सिनाले भने, 'मासिक रुपमा खर्च कटाएर दुई लाख रूपैयाँभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।' यहाँ दूध डेरीमा प्रतिलिटर ८० मा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर एक सय रूपैयाँमा बिक्री हुने गर्दछ।
तिमिल्सिनाले दूधसँगै घिउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आएका छन्। उनको फर्मबाट अर्गानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ। हिउँदको समयमा उनले वार्षिक झण्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताए।
व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भने, 'गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ। मलकै लागि टाढा टाढा धाउनु परेको छैन।'
तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन्। अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफै गर्ने गरेको बताए।
केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन्। उनले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाएका छन्। घाँसको बिक्रीबाट पनि उनी वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए। उनले आफ्नो फार्ममा प्रविधिको पनि प्रयोग गर्न थालेका छन्।
उनी आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आएका छन्। प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ। 'पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ। एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ। पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ', उनले भने।
पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। 'घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ', उनले भने। रासस