बिहीबार , असोज ३ गते २०८१    
images
images

श्रीखण्डपुरका २ सय ३० परिवारले ४६ वर्षपछि पाए जग्गाधनी पुर्जा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
श्रीखण्डपुरका २ सय ३० परिवारले ४६ वर्षपछि पाए जग्गाधनी पुर्जा

जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतका समस्याबाट स्थानीय मुक्त भएका छन्।

images
images

काभ्रेपलाञ्चोक- धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन्। स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन्। 

images
images
images

तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन्। यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताए।

'त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमांकन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन', उनले भने। उनका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकले भूकम्पपछिको पुनर्निर्माण गर्न सम्भव भएको थियो।

विसं २०६७ मा डिजिटल नापी कार्यालयमार्फत पुनःनापी गरिए पनि सिमांकन विवाद, भूकम्प, कोरोनालगायतका कारण देखाउँदै प्रक्रिया अघि नबढाइएको बताइन्छ। उनले पुर्जा तयार भएका जग्गा धनीलाई सोबारदेखि पुर्जा वितरण गरेका छन्। 'प्रक्रिया पुर्‍याइ पुर्जा तयार भएर आएकालाई क्रमैसँग वितरण गर्दै गइनेछ', उनले भने।

images

डिजिटल नापी कार्यालय बनेपाले भने पुर्जा पाउन छुट भएका नागरिकलाई ६० दिनभित्र कागजातसहित प्रक्रियामा आउन भनेको छ। कार्यालय प्रमुख सरस्वती धितालका अनुसार डिजिटल नापी सुरु भएको १३ वर्षपछि पुर्जा वितरण गर्न सम्भव भएको हो। 'छुट भएका नागरिकलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ', उनले भने।

उनका अनुसार १ सय २० दिनपछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने कानूनी प्रक्रिया रहेकाले नागरिकलाई समयमै उजुरी गर्न अनुरोध गरिएको हो। कार्यालयले पुर्जा भएका नागरिकलाई पनि नयाँ प्रणालीअनसार डिजिटल पुर्जा वितरण गर्दै आएको छ।

श्रीखण्डपुरमा विसं २०३४ सालमा नापी भएको २०७ नं कित्ताको एक प्लटमा २८ रोपनी ५ आना जग्गामा २०६६ सालसम्ममा ८५ घर परिवारको बसोबास रहँदै आएको थियो। उक्त स्थानमा एक आना मात्रै जमिन भएका नागरिकको पनि बसोबास रहेको छ। स्थानीय नागरिक पुर्जा प्राप्त भएपछि खुसी भएका छन्। स्थानीयले पुर्जा नहुँदा ‘अचल जमिन’ बैकमा राखेर गर्जो धान्नसमेत सकेका थिएनन्।

भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित रहेको वडाध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए। 'अझै केही प्लटको जमिन डिजिटल नापी हुन बाँकी रहेकाले छुट भएका नागरिकको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्दै जानेछौँ', उनले भने।

उनका अनुसार जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतका समस्याबाट स्थानीय मुक्त भएका छन्। अबका केही दिनमा साबिक श्रीखण्डपुर गाविस-१ का ३२, वडा नं २ का ९३ र वडा नं ३ का १ सय पाँच जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्ने जनाइएको छ। नापी कार्यालयका अनुसार पूर्जा दिने तयारी भएका नागरिकको जग्गा हालसाबिक भैसकेको छ।

नगर कार्यालयले यसअघि धुलिखेल नगरको वडा नं ८ र ९ मा पर्ने श्रीखण्डपुरमा ८ न वडाका नागरिकलाई पुर्जा वितरण गरिसकिएको छ। यो प्रक्रियालाई निरन्तर अघि बढाइनेसमेत नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २७ २०८००६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend