काठमाडौं- जग्गाको कित्ताकाट खोलेको सरकारले ऋणलाई पनि खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढाएको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाटै घरजग्गा तथा सेयर बजारमा जाने कर्जालाई खुकुलो बनाउनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकमाथि दबाब बढाएका हुन्।
अधिक कर्जा प्रवाहलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले घर जग्गा तथा सेयर बजारमा जाने ऋणको जोखिमभार बढाइदिएको थियो। जोखिमभारसँगै कारोबार निरुत्साहित गर्नका लागि अन्य नीतिगत व्यवस्था गरेको थियो।
कोरोना महामारीमा अन्य आर्थिक गतिविधि ठप्प हुँदा बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजार र घरजग्गा कर्जा अत्यधिक कर्जा प्रवाह गरेका थिए। तर राष्ट्र बैंकले एकातिर कर्जामा कडाइ गरिदियो भने अर्कातिर सरकारले जग्गाको कित्ताकाट रोकिदियो। यही कारणले पछिल्लो २ वर्षदेखि मन्दीको अवस्था छ।
सेयर बजार र घरजग्गामा कारोबार ठप्प छ। ३ हजार बिन्दुमा पुगेको सेयर बजार अहिले घटेर १८ सय बिन्दुमा झरेको छ। सेयर बजार उच्च अंकमा पुग्दा केही ठूला लगानीकर्ताले किन्ने र बिक्री गर्ने गरेर विलासिताका समानमा ठूलो रकम खर्च गरे। उता घरजग्गाका कारोबारी पनि विलासिता अपनाउन थाले। जसका कारण डलर सञ्चितिमा दबाब पुग्यो।
राष्ट्र बैंकले आयात नै प्रतिबन्ध लगाउनुपर्ने सम्मको अवस्था आयो, जसको असर अहिले राजस्वमा परेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा भएको लगानीमा कडाइको नीति लियो। घरजग्गामा १५० प्रतिशतसम्म जोखिम भार पुर्याइएको थियो। राष्ट्र बैंकले घर खरिदमा एक करोड ५० लाख रुपैयाँसम्मको ऋणलाई रियलस्टेटमा गणना गर्ने नीतिमा पुनरावलोकन गराउन पनि दबाब दिएको छ।
ऋण सहजताका लागि भार १०० मा झार्न अहिले फेरि दबाब दिइएको छ। राष्ट्र बैंक स्रोतका अनुसार घरजग्गा र सेयर बजार दुवैमा केही खुकुलो नीतिका लागि अर्थमन्त्री डा.रामशहरण महतले दबाब दिइरहेका छन्। तर राष्ट्र बैंक दुवै क्षेत्रलाई तत्काल छाड्ने पक्षमा छैन। विगतमा पनि यही क्षेत्रबाट समस्या सुरु भएको राष्ट्र बैंकको बुझाइ छ।
मौद्रिक नीतिमा केन्द्रित अर्थमन्त्री महत, आउने समीक्षामै खुकुलो बनाउन गभर्नरलाई दबाब बढाउँदै
बैंकहरुसँग पुँजी कम हुँदै गएका कारण सेयर धितो ऋणको जोखिम भारित सम्पत्तिलाई कम गर्ने गरी अर्थ मन्त्रालय र राजनीतिक नेतृत्वले राष्ट्र बैंंकलाई दबाब दिँदै आएका छन्। अहिले १५० प्रतिशत रहेको जोखिम भारित सम्पत्तिलाई १०० प्रतिशतमा झार्नका लागि राष्ट्र बैंकमाथि दबाब बढाइएको हो।
राष्ट्र बैंक सुधार हुन लागेको अर्थतन्त्रमा खुकुलो नीति बनाउने पक्षमा छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा ४/१२ को सीमा सामान्य हेरफेर गरिसकेको छ। सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोडमात्रै कायम गरिएको छ। अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रूपैयाँ सेयर कर्जा पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो। यसलाई हटाउने पक्षमा राष्ट्र बैंक छैन।
कस्तो छ घर जग्गाको कारोबार?
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको छ। फागुनमा देशभरका मालपोत कार्यालयहरूबाट ४० हजार ७ सय ३४ लिखत पास भएको थियो।
गत माघमा ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८ सय ७१ पुगेको थियो। गत मंसिरमा २९ हजार १ सय ८४ रहेको लिखत पास भएको थियो।
मंसिर र पुसमा भन्दा माघमा कारोबार बढेपछि फागुनमा पनि बढ्ने अनुमान गरिएको थियो। तर फागुनमा कारोबार घटेको थियो। कात्तिकमा २७ हजार ९ सय ३९ घरजग्गा किनबेच भएको थियो।
चैतमा ४ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। फागुनमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ।
पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँमात्रै संकलन गरेको थियो। माघ महिनाको घरजग्गाको कारोबारमा पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच भएको थियो।
कस्तो छ सेयर बजारको अवस्था?
लगातार घटिरहेको सेयर बजार अहिले लयमा ल्याउन अर्थमन्त्री महत प्रयासमा छन्। तर नेपाली कांग्रेस नेतृत्वलाई पछिल्लो समय खासै नपत्याएको सेयर बजारले यसपटक पनि पत्याउने छाँट छैन।
सेयर बजारले पछिल्लो समय एमाले अर्थमन्त्री हुँदा मात्रै बुल समातेको छ। सोही कारण पनि कांग्रेससँग त्रस्त बजार के हुन्छ भन्ने चासो लगानीकर्तामा छ। सोमबार पनि सेयर बजार १६.९३ अंकले घटेर १८३३.६९ बिन्दुमा आइपुगेको छ। कुनै समय दैनिक २२ अर्ब सम्म पुगेको कारोबार अहिले घटेर ८२ करोडमा आइपुगेको छ।