शुक्रबार, असोज ४ गते २०८१    
images
images

आर्थिक मन्दी भुलेर बजेटको सिद्धान्त र प्राथमिकता आयो, संकट समाधान सरकारको चासोमा परेन : विष्णु पौडेल 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
आर्थिक मन्दी भुलेर बजेटको सिद्धान्त र प्राथमिकता आयो, संकट समाधान सरकारको चासोमा परेन : विष्णु पौडेल 

संकटको पहिचान गरि समाधानका लागि बजेटको प्राथमिकीकरण नगर्ने हो भने संकटलाई अझ गहिरो बनाउँदै जाने पूर्वअर्थमन्त्री विष्णु पौडेलको भनाइ  छ। अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटका प्राथमिकता तय हुनुपर्ने उनले बताए।

images
images

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मन्दी देखिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै आजको पौडेलले सरकारले यसलाई स्वीकार गर्न नखोजेको आरोप लगाएका छन्। 

images
images
images

अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। आगामी वर्षको बजेटका प्राथमिकता के कस्ता हुन्छन् भनेर देखाउने उक्त प्रस्तावले अहिलेको संकटको पहिचान नगरेको उनले बताए। 

‘अर्थतन्त्रका समस्या के हुन्, अहिलेको अवस्था के हो भनेर तथ्य प्रस्तुत गर्नुपर्छ। यसरी सिद्धान्त र प्राथमकिता हुनुपर्छ। तर सरकार अर्थतन्त्रका समस्या र चुनौतिप्रति बेखबर रहेको मैले पाएँ', पौडेलले भने, 'समस्या कहाँ छ र चुनौती के हुन् भनेर पहिचान नगरी बेखबर रहेको पाइन्छ। कतै पनि उल्लेख छैन।’

राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको तथ्यांकले नेपाली अर्थतन्त्र मन्दीमा रहेको देखाइरहेको उनको भनाइ छ। चालु वर्षका दुई त्रैमासको आर्थिक वृद्धिदर ऋणात्मक भएको र यसले मन्दी भएको पुष्टि गर्ने उनले बताए। 

images

‘यो कुरा तथ्यांकले बोलेको छ। अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा ढाक्छौँ कि स्वीकार गर्छौँ? यो दोबाटोमा हामी छौँ। अहिले के अठोट गर्नुपर्छ भने मन्दीमा गएको छ भन्ने मानेर चुनौतीसँग जुध्ने अठोटका साथमा बजेट आउनुपर्छ तर सरकारले यसलाई स्वीकार गरेको पाइँदैन’, उनले भने। 

निजी क्षेत्र निराश भएको तथा सार्वजनिक वित्त भद्रगोल भएको उनको भनाइ छ। चालु आवमा राजस्व लक्ष्यको तुलनामा ५० प्रतिशतमात्र उठेको र गतवर्षकोभन्दा १३ प्रतिशतले घटेको तर खर्च भने १९ प्रतिशतले बढेको उनले बताए। यही कारणले गर्दा २ खर्बभन्दा बढीको सञ्चित कोष घाटामा गएको उनको भनाइ छ। 

‘सार्वजनिक खर्च व्यवस्थापनमा संकटापन्न अवस्थामा छ। यो वर्षको हालसम्मको खर्चको अवस्था भने उच्च छ। गत वर्षकोभन्दा १९ प्रतिशत बढी छ। मूल्यवृद्धि जोड्ने हो भने बजेटरी घाटा कहाँ पुग्छ', उनले भने, 'बैशाख २२ गतेसम्म जम्मा ५४ अर्बमात्र वैदेशिक ऋण पाएका छौँ। पुँजीगत खर्च भने आजसम्म आउँदा ३० प्रतिशतमात्र भएको छ। संघीय सञ्चित कोषको अवस्था पनि बिजोग छ।’

संकटको पहिचान गरि समाधानका लागि बजेटको प्राथमिकीकरण नगर्ने हो भने संकटलाई अझ गहिरो बनाउँदै जाने उनको भनाइ  छ। अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटका प्राथमिकता तय हुनुपर्ने उनले बताए।


प्रकाशित : सोमबार, वैशाख २५ २०८००६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend