शुक्रबार, असोज ४ गते २०८१    
images
images

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दंग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २५ २०८०
images
images
धाराबाट पानी आएपछि खोलेस्बाङवासी दंग

स्थानीयका अनुसार पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न सकिने अवस्था थिएन। अहिले बाहिरबाट पानी किनेर खानुपर्ने अवस्था छैन। घरघरमै पानी पुगेको छ।

images
images

ढोरपाटन- 'गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ।'

images
images
images

तमानखोला गाउँपालिका-२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपर्थ्यो। पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउँदैन थिइन्। गाउँको बीचमा रहेको एउटा धारोबाट सिंगो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन। अहिल प्रत्येकको घर-घरमा धारा जडान भएका छन्।

खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ। वि.सं. २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ-श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो। खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले ७८ लाख रूपैयाँ सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए। घर-घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भनेका छन्। पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन्।

अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन्। स्थानीलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन। आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउँछिन्। पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ। अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उनले बताइन्।

images

गाउँमा सिद्धविर मुहानबाट गाउँमा पानी ल्याएको हो। बरिक तीन किलोमिटर टाढाबाट पाइप लाइनमार्फत पानी झरालिएको छ। एक सय ३९ धाराका लागि ११ वटा ट्यांकी निर्माण भएका छन्।

पानीलाई व्यवस्थित गर्नका लागि मिटर जडान गरिएको खोलेस्बाङ-श्रीबाङ खानेपानी आयोजनाका सचिव लिलबहादुर पुनले जानकारी दिए। उनले गाउँमा स्वच्छ खानेपानी आएपछि आफूहरुको वर्षौंदेखिको समस्या समाधान भएको बताए। एक घर एक धाराले गाउँलेको मुहारमा खुसी छाएको सचिव पुनको भनाइ छ।

'खोलेस्बाङमा खानेपानीको समस्या वर्षौंदेखिको हो, धेरै ठाउँमा खानेपानीको माग पनि भएको थियो, तर अघिल्लो वर्ष बल्ल समाधान भयो, दुर्गमको भएर होला सम्बन्धित निकायले पहिला कुनै ध्यान दिएनन्', उनले भने, 'अहिले गाउँपालिकाले पनि सहकार्य गर्‍यो, वेयलफेयर संस्थाले ठूलो लगानी गर्‍यो, गाउँलेले पनि धेरै श्रम गरे, सबै पक्षको साथ र सहयोगले गाउँमा पानी आयो, हामीहरु धेरै खुसी भएका छौँ, हाम्रा पुस्ताले जति खानेपानीका लागि दुःख पायौँ, नयाँ पुस्ताले त्यो समस्या भोग्नु पर्ने छैन्, अहिले हरेकको घरमा धारा बनेको छ, त्यसलाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ।'

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सिंगो समुदायसहित विद्यार्थी र स्वास्थ्य संस्थामा आउने बिरामीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोमा अब त्यो समस्या समाधान भएको बताए। पालिका भरका अधिकांश घरमा ‘एक घर एक धारा’ निर्माण भइसकेको भन्दै केही बस्तीमा अहिले आयोजना सञ्चालनमा रहेको अध्यक्ष बुढा मगरको भनाइ छ। अबको केही समयमा तमानखोला गाउँपालिकाका कुनै पनि बस्तीमा खानेपानीको समस्या नहुने उनी बताउँछन्।

'हामीहरु निर्वाचित भएर आएको पहिलो कार्यकालदेखि नै खानेपानीको समस्या समाधान गर्न थालेका हौँ, अहिलेसम्म आउँदा ९० प्रतिशत नागरिकले सहजरुपमा खानेपानी पाएका छन्, अहिले पनि धेरै ठाउँमा योजना सञ्चालन भइरहेका छन्', अध्यक्ष बुढा मगरले भने, 'धेरै ठाउँमा पालिकाकै लगानीमा खानेपानी आयोजना सम्पन्न भएका छन्, केही गाउँमा सञ्चालन भएका आयोजनामा विभिन्न संघ संस्थासँग सहकार्य गरेका छौँ।' रासस 


प्रकाशित : सोमबार, वैशाख २५ २०८००५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend