शनिबार, असोज १३ गते २०८०    

म्याग्दीका फलफूल र मकैमा औँसा, खपटे र फौजी किराको प्रकोप

images
बिजनेस न्युज
म्याग्दीका फलफूल र मकैमा औँसा, खपटे र  फौजी किराको प्रकोप

फलफूल, मकै लगायतका बालीमा किरा लागेपछि किसान चिन्तित छन्।

images

गलेश्वर- म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्।

images

लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन्। यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्।

images

फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारी भरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायतमा औँसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका कृषि प्राविधिकको भनाइ छ।

images

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको संक्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्। किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको व्यापक संक्रमण भेटिएको छ।

images

मकैबालीमा अमेरिकन फौजी किरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिए। कीराको संक्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन्।

कृषि ज्ञानकेन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ। यसैगरी गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको मालिका गाउँपालिका-६ उपल्लो दरबाङका कृषक सुजन पौडेलले बताए।

म्याग्दीमा किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पुर्‍याएको छ। जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो। घोगा हाल्न लागेका मकैका बोटमा फौजी किराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको बेनी नगरपालिका-२ का कृषक भीमबहादुर रिजालले बताए। उनका अनुसार विषादीले समेत फौजी किराको आक्रमण रोकिन सकेको छैन।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौर लगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी किराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन्। मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र किराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताए।

फौजी किराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आएको उनले बताए। यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकै बालीमा फौजी किराको आक्रमण बढी छ। जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ।

प्रायः सुक्खा मौसममा देखिने फैजी किरा पछिल्लो समय वर्षा भइरहँदा पनिफौजी किराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन्। फौजी किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने कृषि प्राविधिक बताउँछन्।

यसैगरी म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।

जिल्लाको बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्। त्यसैगरी डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन्। कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताए।

बगरफाँटकै कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा संकटमा परेको बताइन्। यहाँको सिंगो गाउँका कृषक केरा खेतीमा संलग्न छन्। सुरुवातमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ।

आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए। हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रूपैयाँ आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए।

'झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ', उनले भने। उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कंदै आएको कृषक थापाले जानकारी दिए।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए। 'लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ', उनले भने।

धान फल्ने खेतमा केराखेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन्। उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन्। रासस

images

प्रकाशित : आइतबार, वैशाख २४ २०८००४:३१
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ