शुक्रबार, असोज ४ गते २०८१    
images
images

विकासका सम्भावना खोज्दै टीकापुर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २४ २०८०
images
images
विकासका सम्भावना खोज्दै टीकापुर

टीकापुर नगरपालिकाले पर्यटकीय क्षेत्रलाई पनि व्यवसायीकीकरण गर्नेगरी योजना बनाउन थालेको छ।

images
images

भजनी- कैलालीको  टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ। सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो।

images
images
images

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर क्षेत्रको विकास हुन नसक्नुको कारण सामूहिक एकताको अभाव भएको बताए। उनले सामूहिक एकता हुन नसकेकै कारण टीकापुर क्षेत्र पछाडि परेको र त्यसलाई मूर्तरुप दिन सबैको गन्तव्य एउटै हुनुपर्ने उल्लेख गरे।

'हामी चाहन्छौँ हाम्रो क्षेत्र विकासको गतिमा अघि बढोस् । तर त्यो काम कसले गर्ने भन्ने अन्योलमा हामी सधैँ रहने गरेका  छौँं।' न्यौपाने भन्छन्, 'अब टीकापुरको सम्भावनालाई पछ्याउनका लागि राजनीतिक आस्था र व्यक्तिगत स्वार्थबाटमाथि उठेर सामूहिक एकतामा जोडिन सक्नुपर्छ।' निर्वाचनको समयमा मात्रै राजनीतिक दल र राजनीतिक आस्थाका पछाडि लाग्न आग्रह गर्दै न्यौपानेले  विकासमा सबैको सामूहिक एउटै आवाज हुन जरुरी रहेको बताए।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु काम गर्दै जाँदा असहयोग गर्नुपर्छ भन्ने मानसिकता बोकेर हिँड्नेका कारण चाहेर पनि राम्रो गर्न नसकिएको बताउँछन्। उनी भएका सम्भावनालाई स्थानीय स्रोतसाधनले भ्याएसम्म काम गर्ने हुटहुटीले आफूहरु अग्रसर भए पनि पछाडिबाट खुट्टा तान्ने प्रवृत्तिले त्यसलाई टुंगोमा पुर्‍याउन नसकिएको दाबी गर्छन्।

images

'चाहेर मात्रै काम गर्न नसकिँदो रहेछ। फेरि नागरिकको मानसिकतामा नै सबै काम जिम्मेवार पदमा बसेको व्यक्तिले नै गर्नुपर्छ भन्ने छ', थारु भन्छन्, 'एउटाले काम गर्न खोज्ने अर्कोले खुट्टा तान्ने प्रवृत्ति रहिरहरने हो भने हामीले गन्तव्य भेटाउन मुस्किल हुन्छ।'

स्थानीय नागरिक अगुवा भीमराम चपाईले प्रतिनिधिसभा सदस्य न्यौपानेलाई पहिला टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सांसदको सामूहिक छलफल गर्न वातावरण बनाउन सुझाव दिएका छन्। उनले लक्ष्य ठूलो लिए पनि सुरुवात शून्यबाटै गर्नुपर्ने बताए। चपाईले भने, 'हामी टीकापुर विमानस्थलको कुरा गर्छौँं वा सम्भावना भएको टीकापुर उद्यानको कुरा गर्छौंँ विमानस्थलमा पहिला त्यसमा सानै जहाज भए पनि सञ्चालनमा ल्याएर त हेरौंँ। त्यसपछि ठूलो जहाजको विकल्प खोजौँला।'

टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशरबहादुर कुँवर टीकापुरको प्रमुख सम्भावना कृषि भएको बताउँछन्। कृषिको हबको रुपमा विकास गर्न लाग्नुपर्नेमा उनी जोड दिन्छन्। कुँवरले क्याम्पसको अतिक्रमित व्यवस्थापनका लागि पहल गरेर अध्ययन भइरहेको कृषि विषयलाई प्रभावकारी बनाउन सके त्यसले टीकापुरको सम्भावनालाई मद्दत पुग्ने विश्वास व्यक्त गरे। टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले इच्छाशक्ति भए काम गर्न कतै अप्ठ्यारो नहुने तर सामूहिक एकता र नेतृत्वमा इच्छाशक्तिको अभावले कैयौँ काम ओझेलमा परेका बताए।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दयाराम सञ्ज्यालले टीकापुर क्षेत्रको सम्भावनाका विषयमा ढिलै भए पनि सामूहिक बहसको सुरुवात सकारात्मक भएको टिप्पणी गरे। उनले युवालाई देशमै बस्न सक्ने वातावरण  सिर्जना गर्न सके ठूलो उपलब्धि मान्न सकिने बताए।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले खेलाडीलाई व्यावसायिक खेलकुदमा जोड्ने गरी काम भइरहेको बताए। प्रदेशस्तरमा खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्नुका साथै खेलकुद मैदान निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनी बताउँछन्।

'कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुरमा खेलकुद रंगशाला निर्माणको काम सुरु गरेका छौँं। खेलकुदको प्रदेश कार्यविधि बनाउने काम भइरहेको छ', सिंह भन्छन्, 'यसले खेल क्षेत्र र खेलाडीको संरक्षण तथा व्यावसायिकीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँं।'

सदस्य सचिव सिंहले जनशक्ति र बजेटको अभावका कारण खेलकुदको क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको बताए। 'जनशक्तिको अभाव, सीमित बजेटबीच धेरै काम गर्नुपर्ने बाध्यता छ। त्यसकारण पनि खेलाडीको मर्मअनुसार काम गर्न सकिएको छैन', उनले भने।

नगरपालिकाले पर्यटकीय क्षेत्रलाई पनि व्यवसायीकीकरण गर्नेगरी योजना बनाउन थालेको छ। सबैभन्दा बढी सम्भावना नगरपालिकामा पर्यटन क्षेत्र नै भएकोले त्यसलाई व्यवस्थित गरेर प्रचारप्रसारमा कमि गर्न नहुने नागरिक अगुवा भीमराम चपाई बताउँछन्।

'टीकापुरमा लगानीका सम्भावना धेरै छन् तर, त्यसको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले लिनसके राम्रो परिणाम आउन सक्छ', उनले भने, 'लगानी गर्ने वातावरण बनाउनुपर्यो। केही नगरपालिकाको मातहतमा रहेका संरचनालाई सीमित समयका लागि निजी क्षेत्रलाई जिम्मा दिनसके पनि नगरपालिकाको आन्तरिक आयस्रोत मजबुत बन्न सक्छ।' रासस 


प्रकाशित : आइतबार, वैशाख २४ २०८००८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend