बिहीबार , वैशाख १३ गते २०८१    
images
images

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

images
बिजनेस न्युज
images
images
तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ।

images
images

ढोरपाटन- बाक्लो मगर बस्ती। काठ, ढुंगा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु। रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन्। वारिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला। चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो।

images
images
images

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ। करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ।

images

विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो। म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ। गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुंगे घर नै हो। गाउँमा प्रशस्तै ढुंगा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन्। जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीँ देख्न सकिन्छ। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ।

images

गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौँ भुलाउन सक्छन्। तर पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा यस्ता मौलिक घर संकटमा पर्ने खतरा बढेको छ। गाउँमा सडकको सहज पहुँच पुगेपछि कंक्रिटका घर तथा भवन ठडिन थालेका छन्। यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ।

images
images

गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकारप्रकारको बनाउने योजना अघि सारेको छ। तमान गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उनको भनाइ छ।

पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातीत वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताए।

'तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो', अध्यक्ष बुढा मगरले भने। गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ।

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने बताए। घरका छेउछाउमा ढुंगा बिछ्याउने, घरमा लगाइने रङ, ढुंगाको छानो पनि एकै प्रकारको बनाइने उनको भनाइ छ। देशका दश नमुना सहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ। बोंगादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ।

स्थानीय ओमकुमारी बुढाथोकीले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताए। अहिले बन्ने अधिकांश घर नयाँ शैलीका हुने गरेको उनको भनाइ छ। नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमेरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको बुढाथोकी बताउँछन्।

'अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घरहरु पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए,' बुढाथोकी भन्छन्, 'त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्।'

स्थानीय मनबहादुर बुढाथोकीले पहिले तमान गाउँका अबै घर ढुंगा माटोको गारो र छानो पनि ढुंगैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको बताए। तमान गाउँमा अहिले करिब दुईसय ५० घर रहेकामा आधा दर्जन बढी सिमेन्टका कंक्रिट बनेको सुनाए। गाउँपालिकाले कलासंस्कृति संरक्षण गर्न बनाएको योजना स्वागतयोग्य रहेको बुढाथोकीको भनाइ छ। 
 
'पहिला गाउँका पूरै घर ढुंगाले छाएका थिए, उतिबेला गाडी गुड्ने सडकको पहुँच थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुंगाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुना काप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले', बुढाथोकीले भने। पहिले घर स्थानीय सिकर्मी र डकर्मीले बनाउँथे, उनीहरुमा निकै राम्रो कला र सीप भए पनि अहिले त्यो सीप पनि हराएको उनको भनाइ छ। रासस 

images

प्रकाशित : आइतबार, वैशाख २४ २०८००८:०६
प्रतिक्रिया दिनुहोस